आज:  २०८० जेष्ठ २६, शुक्रबार | Fri, 09, Jun, 2023
FLASH NEWS

बोक्सीको आरोप लगाउने अझै प्रहरीको संरक्षणमा, न्याय माग्न कहाँ जाने खातुनको प्रश्न ?

AuthorAP Khabar२०७५ कार्तिक २५, आईतबार (४ साल अघि) ४३१ पाठक संख्या

AP संवादाता

जनकपुरधाम, कार्तिक २५ : धनुषामा पुनः एक महिलामाथि बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट गरिएको घटना बाहिर आएको छ । सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुर निवासी ३७ बर्षीया जुलेखा खातुनले बोक्सीको आरोपमा आफुमाथि कुटपिट गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि घटना बाहिरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषामा पिडित खातुनले आफुमाथि ६ जना स्थानीयले बोक्सीको आरोप लगाउँदै निर्मम रुपमा कुटपिट गरेको भन्दै जाहेरी दिएकी छिन । स्थानीय रहिमन कवारीको श्रीमति खैतुन खातुन, जुमरात राईनको श्रीमति अजिमा खातुन, ओकराहाबाला भन्ने जुमरत राईन, मो.हविव राईन, मो.समिम राईन र अ‍ैलुन राईन लगायतका व्यक्तिहरुले बोक्सी भन्दै आफूमाथि अनाहकमा कुटपिट गरेको पिडित खातुनको आरोप छ ।
कार्तिक १३ गते मंगलवार दिउँसो आफ्नै घरमा खाना खाएर आराम गरिरहेको समयमा घरमै प्रवेश गरी विभिन्न प्रकारका गाली वेईज्जत दिंदै आफुलाई बोक्सी भन्दै निर्घात कुटपिट गरेको भन्दै पिडितले प्रहरीमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।
पिडित खातुनले विपक्षीहरुको डरले आफुलाई गाउँलेहरुले समेत साथ दिन छोडेको र ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी सहायक निरिक्षकले समेत उल्टै आफुलाई नै धम्काएर पठाएको बताईन । उहाँले बोक्सी भनेर कुट्नेको विरुध निवेदन दर्ता गराउन जाँदा प्रहरीले नमानेपछि आफु न्याय माग्न कहाँ जाने भन्ने प्रश्न समेत गर्नुभएको छ ।
महिलाका पति वैदेशिक रोजगारको क्रममा साउदीमा कार्यरत छन । धनुषामा विगत केहिदिनदेखि महिला हिंसाको घटनामा ह्वातै बृद्धि भएको देखिएको छ । यसअघि एकसाता पहिले मात्रै धनुषाको धनौजी गाउँपालिकामा समेत एक दलित महिलालाई गाउँका कथित पञ्चहरुले जर्वजस्ती बोक्सी रहेको स्वीकार गर्न लगाई सार्वजनिक रुपमा वेईज्जत गरेका थिए । पिडित महिलालाई १ लाखको जरिवानाको बोझ पनि लादिएको थियो ।
पछिलो सयम धनुषामा क्रमीक रुपमा महिला हिंसाका घटनाहरुमा बृद्धि भैरहदाँ यसले समाजमा नकारात्मक असर पर्ने प्रती यहाका स्थानियहरु चिन्तीत देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस