आज:  २०७९ मंसिर १९, सोमबार | Mon, 05, Dec, 2022
FLASH NEWS

नेकपाका नेताहरुको गुटको सिकार बने ईशक कुमार

AuthorAP Khabar२०७५ मंसिर १०, सोमबार (४ साल अघि) ३०४ पाठक संख्या

AP संवादाता
वीरगन्ज, मंसिर ९ : तत्कालिन नेकपा माओवादी केन्द्रको एकतादेखि नै गुटबन्दीमा चलेको पर्साको तत्कालिन नेकपा माओवादी पार्टी एमालेसँगको एकीकरण प्रकृयासम्म आईपुग्दा सम्म झन गुटबन्दी सतहमा देखिएको छ ।
पछिल्लो समयमा गुटको शिकार भएका छन् तत्कालिन नेकपा माओवादीको भातृ संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य इशक कुमार ।
प्रहरीसँग भनाभन गरेको आरोपमा पक्राउ परेका केन्द्रीय सदस्य इशक कुमारलाई छुटाउन कुनै पहल नगरेको भन्दै विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र अनेरास्ववियुका विद्यार्थीहरु आक्रोशित भएका छन् ।
एकताको प्रकृयामा रहेको नेकपा पर्साको कार्यदल पनि आफ्नो भातृ संगठनका कार्यकर्तालाई छुटाउनका लागि चासो नदेखाएको विद्याथीहरुको गुनासो छ । इशक कुमार तत्कालिन नेकपा माओवादी केन्द्रको नारायणकाजी श्रेष्ठ गुटका विद्यार्थी भएकै कारणले अन्य गुटका पार्टीका नेता तथा विद्यार्थीहरुले पनि उनको रिहाका लागि खासै चासो नदेखाएको उनीहरुको भनाई छ ।
नेकपाको कार्यदलका सदस्यहरु लगायतका पार्टीका सबै नेताहरुसँग इशक कुमारको बारेमा जानकारी गराउँदा समेत कोहीपनि जवाफदेही नभएकोमा विद्यार्थीहरु पार्टीप्रति नै असन्तुष्ट बनेका छन् । तत्कालिन नेकपा माओवादी केन्द्रको संगठनमा पनि संस्थापन, राम बहादुर थापा ‘बादल’ नारायणकाजी र मातृका गुटमा विभाजन भएकाले प्रहरी हिरासतमा रहेका इशक कुमारको रिहाइमा खासै दबाव नपरेको विद्यार्थीहरुको बुझाई छ ।
जिल्लाका नेताहरु व्यक्ति केन्द्रीत र गुटबन्दीकै कारण पार्टीका केन्द्रीय स्तरका नेताहरु पनि पर्सामा आउन खासै इच्छा देखाउदैनन् । माओवादी आन्दोलनका क्रममा वीरगन्जमा काशी तिवारीको हत्यापछि प्रभु साहमाथि व्यापक दबाव परेपनि पर्साका नेताहरुले साथ नदिएकै कारण र पछिल्लो समयमा देखिएको पार्टीको गुटबन्दीले साह पनि पर्सामा आउन खासै रुची नदेखाउने गरेको जानकारहरु बताउछन् ।
गुटबन्दीकै कारण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकका यादव पनि जिल्लामा आउन चाहदैनन् । पछिल्लो समयमा निम्बसको उद्योगमा छापा मारेको विषयमा विवादमा परेपछि यादव पर्सामा आफ्नो गुटकै नेताहरुमाथि असन्तुष्ट बनेको स्रोतको भनाई छ । पूर्व सांसदहरुदेखि वर्तमान सांसदहरुको पनि पर्सा पार्टी र कार्यकर्ताहरुमा खासै प्रभाव नरहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस