आज:  २०७९ श्रावण २८, शनिबार | Sat, 13, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

मलेसियन प्रहरीले अवैधानिक बनाइदिँदा ठगिए अश्लम

AuthorAP Khabar२०७५ मंसिर २५, मंगलबार (३ साल अघि) ४३९ पाठक संख्या

काठमाडौं , मंसिर २५ :   ८ अक्टोबर  २०१८ अर्थात गएकाे असोज २२ का दिन रौतहटका इनुस मिया कवारीको फोनमा अत्याउने घण्टी बज्यो । फोन २ वर्षअघि कमाउन मलेसिया गएका दाइका छोरा अश्लम मिया कवारीको थियो ।

अश्लमले फोनमा जम्माजम्मी एक मिनेट बोले । अघिपछि जस्तो सन्चोबिसन्चो पनि सोधपुछ भएन । आफू जेलमा भएको र घर फर्किन २० हजार रुपैयाँ पठाइदिनु मात्र भन्न भ्याए अश्लमले ।

‘राम्रोसँग कमाइ गरिरहेको छोरालाई के भयो र पैसा माग्न फोन गर्‍यो’ – फोन काटिएपछि इनुसको मनमा शंङका र डरको हुरी चल्यो ।

९ अक्टोबरका दिन अश्लमको खबरसहित फेरि मलेसियाबाट फोन आयो । ‘अश्लम बिरामी छ, सकेसम्म छिटो पैसा हालिदिनु’ फोन गर्ने व्यक्तिले भने । इनुसले दायाँबाया सोच्नुभएन । गाउँमा ऋण माग्नुभयो । भोलिपल्टै उदयपुरका सुमन लिम्बुको नाममा २० हजार रुपैयाँ जम्मा गरि दिनुभयो ।

उहाँले नेपालमा पैसा दिएपछि बिरामी भएका अश्लमलाई अस्पताल पुर्‍याइदिने बताएका थिए फोन गर्ने व्यक्तिले ।  तर २० हजार पठाएपछि फेरि अर्को समस्यामा सुनाए ।

‘अश्लमले मलेसियामा मोबाइल चोरेको छ, उसलाई जेल सजाय हुन्छ, यतै मर्न पनि सक्छ,’ फोन गर्ने व्यक्तिले अश्लमको अर्को खबर सुनाए । इनुसले फोन गर्नेको माग बमोजिम थप २ लाख ५२ हजार रुपैयाँ पठाइदिए । अश्लमलाई जेल सजायबाट बचाइदिने अर्को आश्वासन दिए ती व्यक्तिले ।

‘मेरो त केही छैन आम्दानी, त्यतिको पैसा कहाँबाट ल्याउने, यसै त साहुले पनि पैसा पत्याएनन, ८ कठ्ठा जग्गा धितो राखेर पैसा निकालेर पठाएको हुँ, छोराको ज्यान भन्दा त पैसा ठूलो हैन,’ इनुसले २ लाख ५२ हजार रुपैयाँ पैसा उनै सुमन लिम्बुलाई पठाइदिए ।

फोन गर्ने व्यक्ति को हुन, इनुसलाई थाहा थिएन । नेपाली हुँ र मलेसियामा समस्यामा परेका नेपाली दाजुभाइलाई सहयोग गर्छु भनेका थिए । उनले गर्ने काम, नाम र ठेगानामा भन्दा बढी विश्वास इनुसलाई एक नेपालीमाथि थियो । किनकी उनी नेपाली थिए र नेपालीमै बोलेका थिए । रातीको १० बजे फोन आउँथ्यो प्रायः उनको ।

‘अश्लमलाई जेलमा खान दिएको छैन, कुटिरहेको छ, सिकिस्त बिरामी छ, यतै मर्न सक्छ, वर्षौको जेल सजाय पनि हुन्छ,’ यस्तै डरलाग्दा खबर सुनाउँदै पैसा मागिरहे उनले ।

पैसा नपठाउँ छोराको ज्यानको सवाल छ । पैसा पठाउँ घरमा गाँसको अभाव छ । जग्गा धितो राखेर इसुनले तीन पटकमा २ लाख ५२ हजार रुपैयाँ सुमन लिम्बुको नाममा पठाउनुभयो । यति पैसा पठाइसकेपछि १५ नोभेम्बरमा अश्लम फर्किने मिति दिए ।

काठमाडौं आएपछि ठगिएको थाहा पाएँ

नोभेम्बर १५ तारिख, रातको १० बजे अश्लम त्रिभुवन विमानस्थलमा ओर्लनुभयो । विमानस्थलबाट बाहिरिंदा रातीको ११ बजिसकेकाले त्यो दिन घरमा फोन गर्नुभएन ।

भोलिपल्ट अश्लमले आफू फर्किएको खबर सुनाउन काकालाई फोन गर्नुभयो । अश्लमले फोन गरेपछि इनुसले बेलिविस्तार लगाउनुभयो ।

मलेसियामा जेल परेका अश्लमलाई लेङगेङ क्याम्पमा ल्याएपछि दूतावासबाट बोलेको हुँ भन्दै एक जनाले फोन गरेका थिए । उनैले घर फर्किंन २० हजार लाग्छ भनेपछि काका इसुनलाई त्यही पैसा दिन भन्नुभएको थियो । तर त्यसपछि अश्लमको न काकासँग कुरा भयो, न त दूतावासबाट बोलेको हुँ भन्दै फोन गर्ने व्यक्तिसँग ।

‘म जेलमा र घरफिर्ती केन्द्रमा छँदा त्यत्रो पैसा लुटेको त मैले यहाँ आएपछि पो थाहा पाएँ’ अश्लम भन्नुुहुन्छ ।

 प्रहरी र अदालतले मलाई अवैधानिक बनाइदिए

दुई वर्षअघि ११ अगष्ट २०१६ मा मलेसिया पुगेका अश्लमको परदेश बसाई ठीकठाक चलिरहेको थियो । सप्लाई कम्पनीमा पर्नुभएको थियो । मलेसियाका थुप्रै रेष्टुरेन्टमा काम गर्नुभयो । काम फेरिए पनि कम्पनी फेरिंदैन थियो । मलेसियाको जलान कार्ड (परिचयपत्र) एउटै कम्पनीकै नाममा हुन्थ्यो ।

अश्लमको जलान कार्डको म्याद आठ दिन बाँकी थियो । कम्पनीले एक महिना अघिदेखि नै कार्ड बनाउन पठाएको बताइरहेको थियो । म्याद सकिने दिनसम्ममा नयाँ कार्ड हात पर्नेमा ढुक्क हुनुहुन्थ्यो, अश्लम । तर कार्डको म्याद आठ दिन बाँकी छँदै उहाँ प्रहरीको फन्दामा पर्नुभयो ।

गएको अगष्ट ३ तारिखका दिन कम्पनीमै हुनुहुन्थ्यो, अश्लम । छापा मार्न एक हुल प्रहरी कम्पनीमा छिरे । जलान कार्ड मागे । दिनुभयो अश्लमले । त्यसपछि पासपोर्ट मागे । पासपोर्ट त साहुसँग छ भन्नुभयो ।

‘प्रहरीले मेरो म्याद भएको जलान कार्ड पनि भाँचेर फालिदियो, मलाई हतकडी लगाइहाल्यो, बोल्नै दिएन ’ अश्लमले त्यो क्षण सम्झनुभयो ।

पक्राउ गरेको दिन अर्थात अगष्ट ३ मा नजिकैको प्रहरी चौकीमा राखे अश्लमलाई । बेलुका कम्पनीका साहुलाई फोन गरेर बेलिबिस्तार लगाउनुभयो । साहुले भोलि आउँछु भनेर फोन राखिदिए ।

पासपोर्ट लिएर भोलि आउँछु भनेका साहुले भोलिपल्ट फोन उठाएनन् । ‘मेरो जलान कार्डको म्याद थियो, त्यो उसैले भाँचिदियो, अब मसँग पासपोर्ट थिएन, तँ इलिगल भएर हाम्रो देशमा काम गर्ने भन्दै कुट्न पो थाल्यो मलाई !’ अश्लमले पराइ देशमा आइलागेको आपत सुनाउनुभयो ।

कम्पनीका साहु आएनन् । अवैधानिक भएर काम गरेको नस्वीकार्दा प्रहरीले खुबै यातना दिए । ‘बोसलाई कति कुरें, आएन, पछि एकपटक फोन उठाएको थियो, मेरो कम्पनीमा त्यो मान्छे छैन भनिदिएछ,’ अश्लमले गुनासो गर्दै भन्नुभयो ।

उहाँको ०९०८०२५२ पासपोर्ट नम्बर हो । तर प्रहरी चौकीमा ०९०८०८५२ लेखिदिए । ‘एउटा नम्बर उल्टो पारेर मलाई जबरजस्ती अबैधानिक बनाइदिए,’ अश्लमले भन्नुभयो ।

उहाँले १० अक्टोबर २०१६ मा श्रम स्वीकृति लिनुभएको छ । तीन वर्षको करार अवधि छ । श्रम स्वीकृति लिएको आधारमा त अश्लमको करार अवधि नै एक वर्ष बाँकी हुन्छ । उहाँले कम्पनी पनि परिवर्तन गर्नुभएको थिएन । तर अवैधानिक भन्दै उहाँलाई तीन महिना जेल सजाय तोकियो ।

बिना गल्ती जेल सजाय खेप्नुपर्दा मन गलेको थियो, अश्लमको । नियम मानेरै काम गर्दा पनि जबरजस्ती अवैधानिक बनाइदिने प्रहरी र त्यहाँको अदालतसँग निकै रीस उठेको थियो ।

तर जेलको ढोका पार गरेपछि त्यहाँका प्रहरीले उल्टो उहाँमाथि नै रीस पोखे । ‘लुगा च्यातिदिएर नाङ्गो छातीमा डङ्डङ् लात्तीले हान्ने, गुप्ताङ्, टाउको र छातीमा हो उनीहरुले धेरै कुट्ने, हाम्रो दुखाई बुझिदिने कोही हुँदैन, चोरेर काम गर्ने भन्दै कुटे’ जेलमा प्रहरीले लात्तीले हान्दा भएको घाउ सहित पाकेको औंला देखाउँदा अश्लमको अनुहारमा डरका रेखा दौडिए ।

जेलभित्र प्रवेश गरेदेखि शुरु भएको सास्ती र पीडा त्रिभुवन विमानस्थलमा ओर्लंदासम्म खेप्नु पर्‍यो । २८ वर्षका अश्लमले जेल र घरफिर्ती केन्द्रमा अनेकौंं सास्ती सहनु प¥यो । अहिले पनि उहाँको शरीरभरी पाकेका फोकाहरु र घाउ खाटा बसेका दागहरु छन् !

शरीरका यी घाउ त बिस्तारै निको होलान्, तर जीवनमा आइलागेको आपत कसरी निको पार्ने भनेर अश्लम बाटो खोजिरहनुभएको छ । तीन महिनाको जेल सजाय सकिएपछि अश्लमलाई लेङगेङ घर फिर्ती केन्द्रमा ल्याइयो । जेलभन्दा बढी सजाय त्यहाँ भोग्न पर्‍यो उहाँले ।

‘एउटै रुममा ८०/९० जना राख्ने रहेछ, खानेकुरा पनि अति थोरै दिने, त्यो पनि हाम्रो गाउँमा त त्यस्तो खानेकुरा गोरुलाई पनि दिँदैनन्, तेल र नमक बिनाको माछा र ठूलाठूला सिता भात हुन्थ्यो, त्यो खाएपछि बिरामी हुने, दिमाग त लट्ठै हुने,’ अश्लमले सुनाउनुभयो ।

जेल र घर फिर्ती केन्द्रमा झण्डै चार महिना बस्दा उहाँ तीन पटक सिकिस्त बिरामी पर्नुभयो । तर उपचार पाउनुभएन । नुहाउन नपाउँदा शरीरभरी फोका आयो ।
‘त्यहाँको खानेकुरा खायो कि लट्ठिने, म त सधैँको बिरामी भएर बसें त्यहाँ, अहिले पनि झुम्म भइरहन्छ,’ अश्लमले भन्नुभयो ।

घरफिर्ती केन्द्रबाट सुरु भयो ठगी

लेङगेङ घर फिर्ती केन्द्रमा आएको एक हप्तापछि उहाँलाई एउटा फारम भर्ना लगाइयो । फारममा उहाँले घरको ठेगाना र सम्पर्क नम्बर सबै लेख्नुभयो । भोलिपल्ट प्रहरीले तिम्रो दूतावासको फोन आएको छ भन्दै बोलाए । घर जान पाइने आश लिएर अश्लमले फोनको रिसिभर समात्नुभयो ।

अश्लम अब घर जाने हैन त ?

जाने हो नि, म त बिरामी भइराको छु, छिट्टै पठाइदिनुस् हजुर,’ अश्लमले हतारहतार आफ्नो अवस्थाबारे बताउनुभयो ।

‘तिमीलाई घर जान ४० हजार चाहिन्छ,’ उताबाट भने ।

‘मसँग त त्यत्रो पैसा छैन, २० हजार भए चाहिँ म घरबाट मगाउँछु,’ अश्लमले जवाफ दिनुभयो ।

उहाँले एक हप्ताअघि फारममा लेखेको काकाको नम्बरमा ८ अक्टोबरका दिन प्रहरीले फोन लगाइदिए ।

‘काकालाई २० हजार पठाइदिनु भने, त्यसपछि ति व्यक्तिले काकालाई फोन गरेर के के सुनाउँदै पैसा लिएछन्, म त छक्क परेँ काकाको कुरा सुन्दा,’ अश्लम सुनाउनुहुन्छ । अश्लम फर्किएपछि मात्रै दुवैले ठगी भएको थाहा पाए ।

ऋण सम्झिएर निद्रा पर्दैन

काका इसुनले नै अश्लमलाई मलेसिया पठाउनुभएको थियो । अश्लमका बुवाको मृत्यु भएपछि काका इसुनले नै अश्लमलाई सुखदुःखमा साथ दिइरहनुभएको छ । ‘उसको बुवाआमा मै हुँ, मैले नै सबै गरिरहेको थिएँ, त्यसैले उसको ज्यान बचाउन मैले ऋण खोजेर भए पनि पैसा पठाएँ,’ इसुन भन्नुहुन्छ ।

इसुनले एक बाबु भएर आफ्नो जिम्मेवारी पूरा गर्नुभयो । अश्लम पनि मलेसियाबाट फर्किनुभयो । मृत्युको मुखमा पुगेको छ भनिएको छोरालाई आँखा अगाडि देखेपछि एउटा अत्यास त सकियो । तर ऋण तिर्ने कसरी ? इसुनको भोक निद्रा हराएको छ ।

जेल र घरफिर्ती केन्द्रमा पाएको सास्तीले अश्लम अहिले पनि बिरामी नै छन् । अश्लमको अवस्था थाहा पाएपछि साहुले धितो राखेको जग्गा आफूलाई बेच्न दवाव दिइरहेका छन् । ‘गरिबलाई लुट्यो हजुर ऋणको चिन्ताले निद्रा र भोक हराइसक्यो, रातभरी निन्द्रा लाग्दैन,’ इसुन मसिनो स्वरमा भन्नुहुन्छ ।

नेपाली बोल्ने ती व्यक्तिलाई बन्द आँखाले विश्वास गरेकोमा उहाँ पछुतो मान्नुहुन्छ । ‘नेपाली भएर गरिब नेपालीलाई ठग्यो हजुर, मैले त नेपाली जति सच्चा आद्मी अरु हुँ दैनन् भनेर विश्वास गरेको थिएँ, उसले मेरो बहिनी हो भन्दै केटी मान्छेसँग पनि कुरा गरायो, केटी मान्छेले पनि झुटो बाल्छ भनेर मैले के जानु र अल्लाह जानुन्,’ इसुन भगवान पुर्कानुहुन्छ ।

उज्यालाे

प्रतिक्रिया दिनुहोस