आज:  २०७९ मंसिर १२, सोमबार | Mon, 28, Nov, 2022
FLASH NEWS

एचआइभी परीक्षण गराऔँ

AuthorAP Khabar२०७५ पौष २, सोमबार (३ साल अघि) ५५८ पाठक संख्या

काठमाडौं , पुस २  :  विश्वभरका देशहरुमा जस्तै नेपालमा पनि हरेक वर्ष डिसेम्बर महिनाको १ तारिकलाई ‘एचआइभी परीक्षण गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने नाराकासाथ ३० औँ विश्व एड्स दिवस मनाइएको छ । विश्व एड्स दिवसको मूख्य उद्देश्य हरेक व्यक्तिले आफू एचआइभी संक्रमित भए–नभएको अवस्था र एचआइभी परीक्षणको महत्वबारे समुदायस्तरसम्म जनचेतना अभिवृद्धि गर्ने र परीक्षणको पहुँच पु¥याउनु पर्ने हो ।

एचआइभी एड्स के हो ?
मानवको प्रतिरक्षा प्रणाली नष्ट गर्ने जीवाणु शरीरमा प्रवेश गरे रगतमा यसको वृद्धि विकास हुनु नै एचआइभी संंक्रमण हो । एचआइभीले मानव शरीरको रोगसँग लड्नसक्ने क्षमता कमजोर बनाउँदै लैजान्छ । प्रतिरक्षा प्रणाली कमजोर भएपछि जुनसुकै रोगले पनि आक्रमण गरी रोगी तुल्याउने अवस्थालाई एड्स भनिन्छ ।

–गंगाराज अर्याल

एचआइभी एड्सको ऐतिहासिक पृष्ठभूमि कस्तो छ ?
सर्वप्रथम सन् १९८१ तिर अमेरिकाली मुलुक हाइटीमा एचआइभी संक्रमणमा जस्तै चिन्ह र लक्षण भएका समलिंगी व्यक्तिको समूह पाइएको थियो । अनुसन्धान र परीक्षणान सन् १९८३–८४ तिर मात्र एचआइभी पहिचान भएको थियो । नेपालमा १९८८ मा पहिलो एचआइभी संक्रमित व्यक्ति पाइएको थियो । सन् २०१६ सम्म ८० लाख भन्दा बढी व्यक्ति एचआइभी एड्स परीक्षण गर्दा संक्रमित भएर उपचाररत पाइएका छन् । सन् २०१७ सम्ममा १८ लाख जति नयाँ एचआइभी संक्रमित पाइएका छन् भने करिब ९४ लाख जति एचआइभी सक्रमित भएपनि आफ्नो अवस्थाबारे थाहा नपाएका देखिन्छन् ।

एचआइभी एड्सको पछिल्लो अवस्था कस्तो छ ?
सन् २०१५ सम्ममा दक्षिण पूर्वी एसियाली मुलुकमा हालसम्म प्रायः १५ देखि ४९ वर्ष उमेरका ३५ लाख जति व्यक्ति एचआइभी एड्स पीडित छन् । तीमध्ये १४ लाख जतिले औषधि सेवन गरिरहेका छन् । नयाँ एचआइभी संक्रमित व्यक्तिमध्ये सबैभन्दा बढी भारतमा ८६ हजार, नेपालमा १ हजार ३ सय र सवैभन्दा कम श्रीलङ्कामा १ हजार मात्र पाइएका छन् । एचआइभी संक्रमित भएर जीवन बिताइरहेका व्यक्तिमध्ये सबैभन्दा बढी भारतमा २१ लाख, नेपालमा ३९ हजार र भुटानमा १ हजार जति भएको तथ्याङ्क छ भने एचआइभी एड्सका कारणले मृत्यु भएका व्यक्तिमध्ये भारतमा ६८ हजार, नेपालमा २ हजार ३ सय, र श्रीलङ्कामा भने २ सयभन्दा कम रहेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१७ को प्रतिवेदनअनुसार, नेपालमा ३१ हजारभन्दा बढी व्यक्ति एचआइभी संक्रमित भएर जीवनयापन गरेको अनुमान गरिएको छ । तीमध्ये १५ देखि ४९ वर्ष उमेरका २९ हजार भन्दा बढी व्यक्ति एचआइभी संक्रमित भएर जीवन बिताइरहेको अनुमान छ । स्वास्थ्य सेवा विभागको २०७३–७४ को प्रतिवेदनअनुसार, यौनरोगका बिरामीको संख्या (१,४१,७८५) बढ्दो छ भने जम्मा २९ प्रतिशतले मात्र यौनसम्पर्क गर्दा कण्डम प्रयोग गर्ने गरेका छन् । सन् २०१८ जुलाइसम्ममा नेपालमा १ हजार ३ सयभन्दा बढी व्यक्ति एचआइभीबाट नयाँ संक्रमित भएका छन् भने १६ हजार ४ सयभन्दा बढी (५३ प्रतिशत) एचआइभी एड्स पीडित व्यक्तिले एन्टी रेक्ट्रोभाइरल थेरापी (एआरभी) सेवन गरिरहेका छन् ।

एचआइभी कसरी सर्छ ?
असुरक्षित यौन सम्पर्कः एचआइभी संक्रमित व्यक्तिसँग असुरक्षित यौनसम्पर्क गरे एचआइभी सर्दछ ।
असुरक्षित रगतः स्वच्छ व्यक्तिले एचआइभीबाट प्रदूषित रगत लिए एचआइभी सर्दछ ।
एचआइभी संक्रमित आमाः एचआइभी संक्रमित गर्भवती आमाबाट शिशुमा एचआइभी सर्ने सम्भावना ४५ प्रतिशत रहन्छ ।
लागुपदार्थ औषधि सेवनः एचआइभी संक्रमित व्यक्तिले नसाद्वारा लागुपदार्थ, औषधि सेवन गर्दा प्रयोग गरेका प्रदूषित सिरिञ्ज–सुई स्वस्थ व्यक्तिले प्रयोग गरे एचआइभी सर्दछ ।

एचआइभी एड्सका चिन्ह र लक्षण के के हुन् ?
१. विनाकारण हरेक महिना १० प्रतिशतसम्म तौल घट्नु ।
२. एक महिनाभन्दा बढी पखाला लागिरहनु ।
३. जुनसुकै स्वास्थ्य समस्याले आक्रमण गरिरहनु ।
४. एक महिनाभन्दा बढी ज्वरो आउनुका साथै अन्य संक्रमण भइरहनु ।
५. मुखभित्र ढुसी देखिनु ।
६. शरीर जीर्ण हुँदै जानु ।
७. अन्त्यमा मृत्युसमेत हुनु ।

एचआइभी एड्स तथा क्षयरोगको सह–संक्रमण के हो ?

एचआइभी एड्स व्यक्तिमा प्रतिरक्षा प्रणाली कमजोर हुँदा क्षयरोगको समेत संक्रमण बढिरहेको छ र एचआइभी एड्स, क्षयरोग सह–संक्रमणका कारणले मृत्युसमेत बढिरहेको छ । यसबाट नागरिक, परिवार, समुदायका साथै देशकै सामाजिक, आर्थिक अवस्थामा समेत नकारात्मक असर परेको छ ।

एचआइभी संक्रमित नभएका व्यक्ति भन्दा संक्रमित व्यक्तिलाई क्षयरोगको संक्रमण हुने सम्भावना १० गुणासम्म बढी रहन्छ । तसर्थ समयमै परीक्षण गरी पूरा उपचार गर्नु पर्दछ ।

समयमैं परीक्षण, परामर्श, नियमित पूरा उपचार, माया र हेरचाह गरेमा एचआइभी क्षयरोगको सह–संक्रमणबाट हुने मृत्युदर घटाउन सकिन्छ ।

एचआइभी एड्स नियन्त्रणमा चुनौति के के छन् ?

कुनै व्यक्तिलाई एचआइभी संक्रमण भएको थाहा वा शंका लाग्नासाथ सामाजिक बहिष्कार तथा भेदभाव गरिन्छ ।

एचआइभी एड्स नियन्त्रणमा राजनीतिक प्रतिबद्धता र दिगो राजनीतिक शासन व्यवस्था कायम नहुँदा पनि समस्या देखिन्छ ।
१५ देखि ४९ वर्षका उत्पादनशील व्यक्ति नै एचआइभी एड्सबाट संक्रमित र पीडित छन् ।

स्वास्थ्य सेवा प्रणालीमा एचआइभी एड्स नियन्त्रणमा तालिमप्राप्त स्वास्थ्यकर्मीको कमी, औषधि, उपकरण आपूर्तिमा कमी, आवश्यक प्रयोगशाला कमी, भएका प्रयोगशालामा पर्याप्त परीक्षण क्षमतामा कमी, सुपरिवेक्षण अनुगमनमा कमीले चुनौति देखिन्छ ।

विश्वव्यापी, सामाजिक, आर्थिक समस्याले एचआइभी एड्स स्वास्थ्य क्षेत्र प्राथमिकतामा पर्न सकेको छैन ।

मुलुकबाट रोजगारीका सिलसिलामा बाहिर जाने कामदारलाई एचआइभी एड्सबारे चेतनाका साथै स्वास्थ्य प्रवद्र्धन गर्न सकिएको छैन ।

संयुक्त राष्ट्रसंघीय संगठनबाट प्रदान गर्दै आएको एचआइभी एड्स नियन्त्रणमा प्राप्त बजेट धेरै वर्षदेखि एड्स, क्षयरोग तथा औलो रोग नियन्त्रणमा ग्लोबल फण्डमार्फत प्राप्त बजेट एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनलाई उपलब्ध गराइएको छ । तर सरकारी निकाय राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र भने उसैको प्रस्तावमा सहीछाप गरेर बसेको छ । यसैले एचआइभी एड्स नियन्त्रणमा समुदायस्तरसम्म चेतना, परामर्श, परीक्षण र उपचार पुग्न सकेको छैन ।

एचआइभी एड्स संक्रमित भएका तर जानकारी र परीक्षणको पहुँच नहुदा परामर्श परीक्षण तथा उपचारको अभावमा पिल्सदै अकालमा मृत्युको मुखमा पुग्नुपरेको छ ।

एचआइभी एड्सको परामर्श र परीक्षण कसरी गर्ने ? 
१ सय ३६ सरकारी अस्पताल, ३९ निजी अस्पतालमा भोलुन्टरी काउन्सिलिङ तथा परीक्षण केन्द्रमा एचआइभी परामर्श तथा परीक्षण निशुल्क गरिन्छ ।

एचआइभी एड्सको परामर्श र परीक्षणका फाइदा के के छन् ?

एचआइभी एड्सको परामर्श गर्दा संक्रमण नभए र संक्रमण भए गर्नुपर्ने सावधानीबारे थाहा पाउन सकिन्छ ।

एचआइभी परीक्षणमा आफू एचआइभी संक्रमित भए नभएको अवस्था थाहा पाउन सकिन्छ । यसवर्षको विश्व एड्स दिवसको नारा पनि यही थियो ।

+एचआइभी संक्रमण नभए ढुक्क हुन पाइन्छ भने आगामी दिनमा एचआइभी संक्रमण हुनबाट सावधानी अपनाउन सघाउ पुग्छ ।

संक्रमण भए परिवार, सन्तानसमेतको परीक्षण गराई औषधोपचार र स्याहारसुसार गर्न मद्दत पुग्छ भने यौनसाथीको समेत एचआइभीको अवस्था थाहा पाई आवश्यक कदम चाल्न सकिन्छ ।

एचआइभी संक्रमित भए समयमै औषधि सेवन गरी स्वस्थ रहन र अरुलाई एचआइभी सर्न बचाउन सकिन्छ ।

गर्भवतीले औषधि सेवन गरे गर्भको शिशुलाई एचआइभी सर्ने सम्भावना न्युन हुन्छ ।

एचआइभी एड्स रोकथाम कसरी गर्ने ?

१.असुरक्षित यौनसम्पर्क गर्दा एचआइभी सर्ने जोखिम अत्यधिक बढ्ने हुनाले असुरक्षित यौनसम्पर्क गर्नु हुदैन ।
२. एकपटक प्रयोग गरिएका सिरिञ्ज, सुई तथा अन्य छाला छेड्ने औजार निर्मलीकरण नगरी प्रयोग गर्नु हुँदैन ।
३. यौनरोग लागेको शंका लाग्नासाथ स्वास्थ्य संस्थामा निशुल्क परीक्षण तथा उपचार गर्नु पर्दछ ।
४. एचआइभी संक्रमित आमाले आफू र शिशुलाई एचआइभी संक्रमणबाट बचाउन पूरा औषधि खानु पर्दछ ।
५.एचआइभी संक्रमित भएको यकिन भएपछि स्वास्थ्यकर्मीको सल्लाह लिई नियमित र पूरा उपचार गर्नु पर्दछ । बीचमा औषधि कदापि छोड्नु हुँदैन ।
६.परीक्षण नगरिएको र असुरक्षित रगत प्रयोग गर्नु हुँदैन ।
७. शंकास्पद साथीसँग यौनसम्पर्क गर्दा सही तरीकाले कण्डम प्रयोग गर्नु पर्दछ ।
८.समुदायस्तरसम्म निशुल्क एचआइभीपरीक्षण सुविधा विस्तार गर्नु पर्दछ ।
९.लागुपदार्थ औषधि सेवन गर्नु हुँदैन ।
१०.अत्यधिक मद्यपान सेवन गर्नु हुँदैन ।
११.विश्व एड्स दिवस काठमाडौंका तारे होटलमा भन्दा खुला मैदान, हरेक स्थानीय तह र स्वास्थ्य संस्थामा जनचेतनामूलक कार्यक्रमकासाथ व्यापकरुपमा मनाइनु पर्दछ ।

एचआइभी एड्सको उपचार तथा हेरचाह कसरी गर्ने ? 
एचआइभी एड्स पीडित व्यक्तिलाई विभिन्न सरकारी अस्पतालमा ७४ वटा एआरटी सेन्टर तथा ३० वटा डिस्पेन्सिङ क्लिनिकबाट निशुल्क एण्टिरेट्रोभाइरल औषधि दिइन्छ । स्वास्थ्यकर्मीको सल्लाहअनुसार समयमै नियमित औषधि सेवन गरे एचआइभी एड्स संक्रमित भए पनि सजिलोसँग जीवन बिताउन सकिन्छ । एचआइभी क्षयरोग सहसंक्रमण भए पनि दुवै समस्याका औषधि नियमित र पूरा उपचार गरेमा एचआइभी तथा क्षयरोगको समस्या समाधान गर्न सकिन्छ ।

एचआइभी एड्स पीडितलाई घरपरिवार अथवा समुदायस्तरसम्म निम्नानुसार हेरचाह गर्न सकिन्छः

एचआइभी एड्स पीडितलाई व्यक्तिगत सरसफाइ, स्वस्थ खानपान व्यवस्था गरिदिनुपर्छ । कुनै समस्या परे स्याहारसुसारका साथै सामाजिक तथा भावनात्मक सहयोग गर्नु पर्दछ ।

आयआर्जन गर्न आर्थिक व्यवस्था तथा अन्य सरसल्लाह दिई सघाउनु पर्दछ ।

जुनसुकै कारणले एचआइभी संक्रमित भए पनि निरासाको सट्टा सकारात्मक सोच लिई जिउन स्वास्थ्य प्रबद्र्धन गर्नु पर्दछ ।

एचआइभी एड्स संक्रमितलाई हेरचाहका साथै एचआइभी एड्सबारे जानकारीमूलक शिक्षा दिनु पर्छ ।

एचआइभी एड्ससँगै क्षयरोग संक्रमण भए दुवैथरी औषधि सँगै खानु पर्दछ ।

स्तनपान गराउने एचआइभीसंक्रमित आमाले स्तनपान गराइरहनु पर्दछ ।

एचआइभी एड्स संक्रमितको रगतमा एचआइभीको बोझ २०० भन्दा कममा सीमित राखे दुःख दिन पाउँदैन । त्यसैले संक्रमित व्यक्तिले ३३ केन्द्रमा पाइने निशुल्क रगतको सिडिफोर काउन्ट नियमित गराइ भाइरसको बोझ यकिन गर्नु पर्दछ । एचआइभी एड्सको औषधि एआरटीले भाइरस बोझ घटाउँछ ।

एचआइभी संक्रमितलाई समुदायस्तरसम्म स्वास्थ्य सेवाको पहुँच बढाउनु पर्दछ ।

स्वास्थ्यकर्मीलाई सकेसम्म एचआइभी एड्सपीडित व्यक्तिको घरमै पुगेर स्वास्थ्य सेवा दिने व्यवस्था गर्नु पर्दछ ।

एचआइभी एड्स पीडितलाई परिआउने स्वास्थ्य हेरचाह तथा संक्रमण रोकथाम गर्न परिवारका सदस्य, स्वास्थ्य स्वयम्सेवक तथा एचआइभी एड्स संक्रमित समेतलाई तालिम दिइ परिचालन गर्नु पर्दछ ।

एचआइभी एड्स औषधि स्वास्थ्यकर्मीको सल्लाहबमोजिम नियमित रुपमा र पूरा अवधिभरि सेवन गर्नु पर्दछ ।

एड्स हेल्थ केयर फाउन्डेसनको सहयोगमा १५ वटा केन्द्रमा कर्मचारी परिचालन र १० वटाजति अस्पतालमा एआरटीबारे जानकारीमूलक होर्डिङबोर्ड राखिएको छ । यसको संख्या बढाउनु पर्दछ ।

एचआइभी एड्स संक्रमितलाई स्वास्थ्य प्रवद्र्धन कसरी गर्ने ?
१. एचआइभी संक्रमणबाट बच्न यौन व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु पर्दछ ।
२. असुरक्षित यौन सम्पर्कका हानीबारे समुदायस्तरसम्म व्यापक चेतना जगाउनु पर्दछ ।
३. यौनरोग एचआइभीसंक्रमण भए नभएको अवस्था थाहा पाउन समयमै परामर्श र परीक्षण गरी उपचार गर्नु पर्दछ ।
४. एचआइभी एड्स संक्रमण भएमा पनि सकारात्मक भई स्वस्थ्य जीवन बिताउन लाग्नु पर्दछ ।
५. व्यक्तिगत सरसफाइ र जीवनशैलीमा ध्यान दिनुपर्दछ । स्वास्थ्य समस्या देखिनासाथ तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा जँचाउनु पर्दछ ।
६. हरिया तरकारी, फलफूलसहित स्वस्थकर र पोषिलो खानेकुरा खानुपर्दछ ।
७. यौनसम्पर्क गर्दा सही तरीकाले कण्डम प्रयोग गर्नु पर्दछ ।
८.विद्यालयस्तरदेखि शैक्षिक पठनपाठनमा यौन क्रियाकलाप, यौनरोग, एचआइभी एड्सबारे जोड दिनुपर्दछ ।
९.एचआइभी एड्सपीडित गर्भवती आमाले आफू र आफ्नो गर्भको शिशुलाई संक्रमणबाट बचाउन स्वास्थ्यकर्मीको सल्लाहबमोजिम नियमित र पूरा औषधि सेवन गर्नु पर्दछ ।
१०. हरेक जुन महिनाको २७ तारिखका दिन मनाइने एचआइभी परीक्षण दिवस नेपालका हरेक स्वेच्छिक काउन्सिलिङ तथा परीक्षण केन्द्र चलाउनुु पर्दछ भने हरेक प्राथमिक स्वास्थ्य केन्द्रस्तर वा स्थानीय तहसम्म यस्ता केन्द्रको विस्तार गरिनुपर्दछ ।
११.यौनरोग एचआइभी संक्रमण भएको शंका लाग्नासाथ नजिकको स्वास्थ्य संस्थामा निशुल्क परीक्षण तथा उपचार गर्नु पर्दछ ।
१२. विद्यालयस्तरदेखि नै शैक्षिक पाठ्यक्रममा यौन, यौनरोग एचआइभी एड्स विषय समावेश गरिनु पर्दछ ।
१३. किशोरकिशोरीलाई यौन, यौनरोग एचआइभीबारे स्पष्ट जानकारी गराउनु पर्दछ ।
१४. विश्व एड्स दिवस काठमाडौंका तारे होटलभन्दा खुला मैदान, हरेक स्थानीयतह, शिक्षालय, स्वास्थ्य संस्था तथा टोलटोलमा व्यापक जनचेतना मूलक कार्यक्रमकासाथ मनाइनु पर्दछ ।
१५. सुरक्षित यौन व्यवहार परिवर्तनसम्बन्धी सूचना, शिक्षा तथा सञ्चार सामग्री व्यापक वितरण गर्नु पर्दछ ।

काठमाडौं , पुस २  :

प्रतिक्रिया दिनुहोस