आज:  २०७९ आश्विन ९, आईतबार | Sun, 25, Sep, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

युएईमा नेपाली साहित्यलाई डोर्‍याउनेहरु

AuthorAP Khabar२०७५ पौष २, सोमबार (३ साल अघि) ४२९ पाठक संख्या

 पुस २  : युएई / साहित्य सामाजिक यथार्थ जीवनलाई बोध गराउने कुनै भाषाको शास्त्र समूह हो भन्ने गरिन्छ । साहित्यरुपी शब्हरुले जीवनलाई अझ सुन्दर बनाउने तर्क साहित्यकारको हुन्छ ।

मानवीय जीवनमा रंग भर्ने नेपाली शब्दकलाको यात्रा यूएईमा सन् २००० पछि मात्रै संगठित भएको इतिहास छ । जानकारहरुका अनुसार उक्त समययता साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा नेपाली समुदायको उपस्थिति देखिन थालेको हो ।

सुरुआतका दिनहरुमा बिभिन्न पार्क र चौरमा भेला भएर रचना वाचन गर्ने तथा साहित्यिक भलाकुसारी हुने गर्दथ्यो ।

टक गुरुङ, दलवीर सिंह बराइली, समदर्शी काइला, माधव अधिकारी, मोहम्बद जाकिर हुसैन, निश्चल पीएस, खेमनाथ पौडेल -बन्दिपुरे माइला) र विमल तामाङलगायतलाई युएईमा नेपाली साहित्यलाई बाटो देखाउने पुस्ताका रुपमा लिइन्छ । जसका कारण प्रवासमा पनि नेपाली साहित्य लयमा हिंडिरहेको छ ।

‘फूलबारी’ साहित्यिक समूहको नाममा साहित्यकारहरु भेला भइ एकआपसमा रचना बाचन गर्दाको क्षण सम्झन्छन् एक प्रवासी साहित्यिक यात्री टक गुरुङ ।

गुरुङ सन् १९९३ मा रोजगारीका लागि युएई आएका थिए । त्यो समय यहाँ नेपाली समुदायको उपस्थित निकै पातलो थियो ।

भारतीय राहदानी प्रयोग गरेर आएका नेपालीहरु यदाकदा भेटिन्थे । नेपालको राहदानी बोकेर युएई आउने पहिलो व्याज उनीहरुकै हो ।

उनी आख्यान र गजलमा कलम चलाउँछन् । विद्यालय उमेरदेखि साहित्य अध्ययन र लेखनमा रुचि थियो । तर, युएई आएपछि त्यस किसिमका साथीहरुको सगतले उनको लेखनलाई निरन्तरता दिन मद्दत मिल्यो । बुलबुल प्रकाशनमार्फत उनको पहिलो गजल संग्रह ‘अनाहत’ पाठकसामु पुग्यो ।

युएई आएपछि उदय

निश्चल पीएस लिम्बु युएईको नेपाली साहित्यमा परिचित नाम हो । युवा गजलकारले चिनिएका उनी युएईमा रहेर नेपाली साहित्यमा कलम चलाउँछन् ।

सन् २००३ मा उनी वैदेशिक रोजगारीका लागि युएई आए । साहित्यमा उनी झनै सक्रिय भए ।

युएई आएपछि प्रकाश थाम्सुहाङसँग भेट भयो । त्यस समय युएईमा नेपाली साहित्यका संस्था संगठित अवस्थामा थिएनन् ।

दलवीरसिंह बराइलीको अध्यक्षतामा सन् २००५ मा नेपाली साहित्य परिषद युएईको गठन भयो । जुन युएईमा नेपाली साहित्यको पहिलो संस्था हो ।

निश्चल पीएस त्यसको संस्थापक महासचिव बने । त्यसयता युएईमा पनि नेपाली साहित्यले आफ्नो स्थान लियो ।

साहित्यप्रति झुकाव राख्ने नेपालीहरु बढेसँगै विभिन्न साहित्य संस्थापनि गठन भए । सबै संस्था एकीकृत थिएनन् ।

निश्चल पीएस, मोहम्बद जाकिर हुसैन, दलवीर सिंह र खेमनाथ पौडेल (बन्दिपुरे माइला)लगायतको पहलमा सबैलाई अन्तर्राष्ट्रिय साहित्य परिषद् युएईमा समाहित गरे ।

संस्थामा आवद्ध भएका तथा समकालीन कतिपय व्यक्ति अहिले नेपालमा राजनीति तथा साहित्यमा छन् ।

आकृति परिवारको सम्पादनमा युएईबाट नेपाली भाषाको पहिलो साहित्यिक चौमासिक पत्रिका आकृति (सन् २००७ देखि बन्द भएको) प्रकाशन भयो । यसमा निश्चल पीएसका पनि सिर्जना प्रकाशित भए ।

निश्चल पीएसले लेखेको पहिलो गजल संग्रह ‘सिसिफस जीवन’ हो । यो संग्रह उनले साउदी बस्दा नै रचेका थिए । युएई आएपछि प्रकाशन सम्भव भयो ।

दोस्रो नेपाली अडियो गजल एल्बम ‘पद्मनिी’ हो । यसमा ६ वटा गजल गीत समावेश छन् । अञ्जु पन्त, स्वरुपराज आचार्य, दीपक लिम्बु, ताराप्रकाश लिम्बु लगायतको स्वर तथा हरि लम्साल, महेश खड्का, गैरे सुरेशलगायतको संगीत रहेको छ । उक्त एल्बम केही समयअघि राजधानीमा सार्वजनिक गरिएको थियो । ‘म मृत्यु हुँ’ कविता संग्रह र ‘पद्मनिी’उपन्यास प्रकाशोन्मुख कृति हुन् ।

विमल तामाङ, युएई साहित्य परिषदको उनी संस्थापक सह-कोषध्यक्ष हुन् । कविता लेखनमा रुचि राख्ने उनी अहिले साहित्यका गतिविधिमा कमै सहभागी हुन्छन् ।

ओखलढुङ्गा स्थायी घर भएका तामाङ २० वर्षदेखि युएईमा कार्यरत छन् । दलवीर सिंह बराइलीसँग पहिलो परिचय भयो । तत्कालीन कार्यबहाक राजदूत मधुवन पौडेल पनि साहित्यमा झुकाव राख्ने भएकाले उनले हौसाला दिए ।

साहित्यमा केहीँ गर्नपर्छ भन्ने उनको सोच थियो । नेपाली साहित्य परिषद युएई गठन हुनमा पौडेलको भूमिकालाई विमल महत्वपूर्ण ठान्छन् ।

विद्यमान अवस्था

बसोबास र अनुभवका आधारमा युएईमा नेपाली साहित्यलाई दुई पुस्तामा हेरिन्छ । सन् २०१० अघिको एक पुस्ता र त्यसयताको अर्को पुस्ता । सन् २०१० अघि नेपालमा समेत सक्रिय रहेका साहित्यकारहरु युएईमा थिए । साहित्यका कार्यक्रम भइरहन्थ्यो ।

सन् २०१० देखि १४ को बीचमा यहाँको नेपाली साहित्यले करिब बिश्राम नै लियो । तर, जे सागर पराजुली, मोहराज शर्मालगायतका युवा पुस्ताको उपस्थितिले सुस्ताएको साहित्य पुनः पाइला सार्न थालेको टक गुरुङ बताउँछन् ।

युएईमा नेपाली साहित्यलाई अघि बढाउन दुबै पुस्ताले खेलेको भूमिका महत्वपूर्ण रहेको निश्चल पीएसको बुझाई छ । ‘अहिले युवाहरुको सहभागिताले सकि्रयता बढेको छ ।’ उनले भने ।

विमल तामाङको बुझाइमा भने युएईमा नेपाली साहित्य अहिले सशक्त छैन । तामाङ भन्छन्, ‘पहिलेको जस्तो जोस जाँगर साहित्य क्षेत्रमा छैन । नेपाली समुदायको उपस्थिति बढेसँगै अरु किसिमका कार्यक्रम थुप्रै हुन्छ । साहित्यका कार्यक्रम पनि बाक्लो रुपमा हुनुपर्छ ।’

यसअघि गठन भएका साहित्यिक संस्था तथा तीनका कतिपय पदाधिकारी स्वदेश फर्किसके । कतिपय संस्था तथा पदाधिकारी निष्कृय रहेका छन् ।

सिर्जना बाचन डबली, नवज्योति साहित्य समाज, सर्बदा वाङ्गमय साहित्य प्रतिष्ठान, सगरमाथा साहित्य प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, विश्व साहित्य नेपाली समाज लगायत यहाँका साहित्यिक संस्था हुन् । यी मध्ये थोरै संस्थामात्र साहित्यका कार्यक्रममा अग्रसर छन् ।

युएईमा नेपाली साहित्यमा सकि्रय रहेको संस्था सिर्जना वाचन डबली हो । यसले नेपाल तथा युएईका चर्चित साहित्यिक व्यक्तिहरुलाई उपस्थित गराएर हरेक दुई-दुई महिनामा कार्यक्रम गर्दै आएको छ ।

यस्तै अहिले युएईमा रहेर नियमित साहित्यमा कलम चलाउनेहरुमा जे सागर पराजुली, कृष्ण विश्वास, इन्धन डिभी भण्डारी, रिषी राम पोखरेल, अमन एकल, जनक काकी,ओमकुमारी खाँण, रितु रोक्कालगायत हुन् ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस