आज:  २०७९ भाद्र ३, शुक्रबार | Fri, 19, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

१०० बर्ष बाँच्ने मन छ ? खेत-बगैंचामा खट्नुस

AuthorAP Khabar२०७५ पौष ३, मंगलबार (३ साल अघि) २३८ पाठक संख्या

काठमाडौं , पौष ०३ :  खुशीको कुरा, नेपालीको औसत आयु बढेर ७१ बर्ष पुगेको छ । यसको मतलब यदि कुनै नेपाली ७१ बर्ष पार गर्छ भने त्यसलाई ‘बोनस’ मान्नुपर्ने हुन्छ ।

यत्तिका उमेरसम्म बाँच्नु खुशीको कुरा त हो, तर बाँच्नु मात्रै आफैंमा कुनै उपलब्धी भने होइन । कसरी बाँच्ने भन्ने प्रश्न महत्वपूर्ण छ । रोगी थलिएर, ओछ्यानमा पसारिएर जीवन व्यातित गर्नुको खास अर्थ छैन । यो त यातना वा पीडा भोग्नुजस्तै हो ।

हामी नेपालीहरुको नियती के छ भने २२ बर्ष नपुग्दै घर-गृहस्थीमा फस्छौैं । ४० बर्ष नपुग्दै अनेकन रोगले च्याप्न थाल्छ । मधुमेह, उच्च रक्तचाप, थाइराइड, दम आदिले ग्रस्त हुन्छौं । त्यसपछिको जीवन औषधी सेवन गर्दै र अस्पताल धाउदैमा बित्छ । जीवन आफैमा कष्टकर बन्छ । आफ्नो उर्बर उमेर त्यसै नाशिएर जान्छ । हामी थाक्दै र गल्दै जान्छौं र घर-परिवारका लागि बोझ बन्छौं । आखिर किन यस्तो ?

जवाफ हामीले आफ्नो जीवनशैलीभित्र खोज्नुपर्छ । खानपान, जीवनशैली र सोच-चिन्तनको कारण हामी जीवनको उन्नत सुख-भोगबाट बञ्चित हुँदैछौं । कसरी जीवन लामो बनाउने ? कसरी निरोगी हुने ? यावत् जिज्ञासा मेट्नका लागि बीबीसी हिन्दी अनलाइनले प्रकाशित गरेको एक आलेख उपयोगी हुनसक्छ ।

लामो आयु कसरी पाउने ?

‘ब्लु जोन्स’ का लेखक डान ब्यूटरनरले विश्वका ती पाँच स्थानको अध्ययन गरे, जहाँका मानिसहरु लामो आयुका लागि प्रख्यात छन् । यी स्थान हुन्, जापानको ओकिनावा, कोस्टारिकाको नियोका, ग्रीसका इकारिया, क्यालिफोर्नियाका लोमालिंडा र इटलीका सर्डिनिया ।

यी सबैका बासिन्दा लामो आयु बाँच्छन् । उनीहरुको केही कुरामा समानता देखियो । ति समानता थिए, सामाजिक सुरक्षा तन्त्र, नियमित व्यायाम र शाकाहारी खानपान ।

त्यसमध्ये अर्को कुरा पनि एकनास देखियो । ती सबै व्यक्ति बृद्धावस्थासम्म खेतीपाती गरिरहेका छन् । ८० वा ९० बर्ष उमेर पार गरेकाहरु पनि खेतमै व्यस्त रहने । के खेतीपाती गरेर हामी पनि सय बर्षको आयु पाउन सक्छौं ?

शारीरिक श्रम र घुमफिरको सम्बन्ध लामो आयुसँग छ । खेतीपाती दुबै कुरा पुरा गर्ने सजिलो उपाय हो ।

ब्यूटरनर भन्छन्, ‘यदि तपाईं खेती वा बगैंचाको काम गर्नुहुन्छ भने, दिनभर केही हल्का शारीरिक श्रम गर्नुहुन्छ र त्यो नियमित रुपले गर्नुहुन्छ ।’

उनीहरुको ध्यान काममा हुन्छ । यसले उनीहरुलाई तनावमुक्त राख्छ । अर्कोतिर उत्साहित पनि बनाउँछ । त्यसैले खेतीपातीको काम गर्ने व्यक्तिहरु लामो आयु बाँच्छन् । केही अध्ययनबाट देखिएको छ कि, खेतीपातीको कामले उनीहरुको शारीरिक र मानसिक स्वास्थ्य दुबै दुरुस्त रहन्छ ।

एउटा अनुसन्धानको निचोड

नेदरल्यान्डमा हालै भएको एक अध्ययनमा सहभागीहरुलाई कुनै कठिन काम गर्न लगाइयो । त्यसलाई फेरी दुई समूहमा विभाजन गरियो ।

एक समूहलाई तीस मिनेटसम्म घरभित्र पढ्नका लागि भनियो । अर्को समूहलाई सोही समयावधीमा बगैंचाको काम गर्न लगाइयो ।

जुन समूहका व्यक्तिहरु घरभित्र बसेर पढिरहेका थिए, उनीहरु प्रफुल्ल थिएनन् । जबकी बगैंचामा काम गर्नेहरुको तनाव पैदा गर्ने कार्टिसोल हर्मोनको स्तर मात्र घटेको थिएन, उनीहरुको मुड पनि प्रफुल्ल थियो ।

६० बर्ष उमेरका पुरुष र महिलामाथि अध्ययन गरिरहेका अष्ट्रेलियाली शोधकर्ताले पाए कि, नियमित रुपले बगैंचा वा खेतीपातीको काम गर्नेहरुको स्मरणशक्ति पनि अन्यको तुलनामा राम्रो थियो । उनीहरुलाई डिमेन्सिया (स्मरणशक्ति ह्रास हुने विमारी) को खतरा ३६ प्रतिशतसम्म कम देखियो ।

बगैंचामा काम गर्दा वा टहल्दा हार्टिकल्चर थेरापीको कारण डिमेन्सिया र अल्जाइमर जस्ता संज्ञानात्मक विरामीले ग्रसित बुढापाकालाई पनि फाइदा गर्छ । सूर्यको किरण र ताजा हावाले बुढापाकालाई शान्त रहन मद्दत गर्छ । रुख र सब्जीको रंग देखेर वा त्यसलाई स्पर्श गरेर स्मरण क्षमतामा सुधार ल्याउन सकिन्छ ।

बुढ्यौली रोक्नका लागि कुनै रामवाण उपचार छैन । यद्यपी विज्ञानले भन्छ, ‘बगैंचासँग एकाकार हुँदा जीवनको गुणवत्ता राम्रो हुन्छ ।’

बगैंचा वा खेतीपातीको असर हाम्रो शरीरमा मात्र पर्दैन । यसको सामाजिक फाइदाले पनि आयु लम्ब्याउन सक्छ ।

हवाई युनिभर्सिटीका डाक्टर ब्रेडले विल्काक्सले ओकिनावामा एक सय वर्ष पुरा गरेका व्यक्तिहरुमाथि एक अध्ययन गरेका थिए । ओकिनावामा सय बर्षभन्दा बढी उमेर बाँच्नेहरुको संख्या अन्य देशको तुलनामा बढी छ । त्यहाँ हरेक एक लाख जनसंख्यामा करिब ५० व्यक्ति १०० बर्षभन्दा बढी उमेरका छन् ।

अध्ययनकर्ताका अनुसार यसरी लामो आयु बाँच्नेहरु बिहान चाडै उठ्ने, आफ्नो अन्न उपज बजारमा पुर्‍याउने, कुनै पनि कुरा साझेदारी गर्ने खालका थिए । उनीहरुमा सामाजिक भावना राम्रो थियो । हरेकसँग आपसमा जोडिएर काम गर्ने प्रवृत्ति पाइयो ।

प्रकृति एक ओखती

जसरी अरुसँग एकाकार भएर बस्नु फाइदाजनक छ, उत्तिकै महत्वपूर्ण प्रकृतिसँग जोडिएर रहनु पनि ।

हार्वर्ड युनिभर्सिटीको एक अध्ययन अनुसार जो व्यक्ति हरियालाीको बीचमा रहन्छन्, उनीहरुको आयु लामो हुन्छ । उनीहरुमा क्यान्सर र श्वासप्रश्वासको रोग हुने खतरा पनि कम हुन्छ ।

स्कटल्यान्डका डाक्टर उच्च रक्तचाप र चिडचिडापन लगायत रोग हटाउनका लागि एवं खुसी बढाउनका लागि सुन्दर हरियाली स्थानमा टहल्नुपर्ने बताउँछन् ।

‘प्राकृतिक सौन्दर्य एक यस्तो ओखती हो, जसले यावत् रोगबाट मुक्ति दिलाउँछ,’ उनी भन्छन् ।

बगैंचा वा खेतीबालीमा रमाउनका लागि गाउँ नै पुग्नुपर्छ भन्ने पनि छैन । शहरका स-सना भाग वा आफ्नै घर बगैंचामा पनि रमाउन सकिन्छ । त्यहाँको प्राकृतिक रमणियतासँग एकाकार हुन सकिन्छ ।

लामो आयुको लागि आहार अर्को अति महत्वपूर्ण कुरा हो । सब्जी, फल, अन्न, दाल, ड्राइ प|mुट्स, माछा र जैतुनको तेल जस्ता ‘भूमध्यसागरीय आहार’ ले बुढ्यौलीको रफ्तार कम गरिदिन्छ । विल्काक्स भन्छन्, ‘स्थानीय बगैंचा वा बजारमा उपलब्ध ताजा सब्जी भरपुर मात्रामा खानु पनि लामो आयु पाउने काइदा हुन् । भलै त्यो भूमध्यसागरिय खाना नभए पनि ।’

ओकिनावामा धेरैजसो मानिसले आफ्नो बगैंचाको करेला र सखरखण्डजस्ता सब्जी उत्पादन गर्ने एवं सेवन गर्ने पाइयो । जब हामी आफैले उत्पादन गरेको खानेकुुरा सेवन गर्छौं, त्यसले पनि हामीलाई निरोगी बनाउँछ ।

बगैंचामा उत्पादन गरिएको सब्जीमा रोग पैदा गर्ने फाइटोएक्टिभ कम्पाउन्ड कम हुन्छ । ‘ब्लू जोन्स’का विशेषज्ञ ब्यूटनर खानामा ९० प्रतिशतसम्म शाकाहारी, खासगरी पात र बिज खान सल्लाह दिन्छन् । उनी भन्छन्, ‘खेतीबाली गर्नेहरु आफैले सागसब्जी उत्पादन गर्छन् र खान्छन् । त्यसले पनि उनीहरुको स्वास्थ्यमा प्रभाव पार्छ ।’

लामो जीवनका लागि खेती 

यदि बगैंचामा काम गर्नु राम्रो हो भने खेतीपाती त्योभन्दा पनि राम्रो हो । लामो आयुसँग जीवनशैलीको केही कारण जोडिएको हुन्छ । जस्तो गाउँमा रहनु र धेरै श्रम गर्नु ।

किसानको लागि यो सामान्य कुरा हो । केही प्रमाणले भन्छ, खेतीपाती सबैभन्दा स्वस्थ्यकर पेशामध्ये एक हो ।

अष्ट्रेलियामा भएका सोधबाट के थाहा लाग्यो भने, किसानलाई गम्भिर रोग लाग्ने आशंका एक तिहाई कम हुन्छ । गैर कृषि श्रमिकको तुलनामा ४० प्रतिशत कम किसान चित्सिककहाँ पुग्छन् ।

अमेरिकामा शोधकर्ताले किसान र आम सर्वसाधरणको मृत्युदरको तुलना गरेका थिए । त्यस अनुसार किसानहरुको क्यान्सर, हृदयरोग र मधुमेहको कारण मृत्यु हुने संभावना अत्यन्तै कम देखिएको थियो ।

स्वीडेन र फ्रान्समा भएको अध्ययनमा पनि गैरकिसानभन्दा किसानहरु बढी तगडा देखिए । टोकियोका डा. मसाहिको जेम्माले साइतामाको मध्य प्रान्तमा खेतीपाती गर्ने किसानमाथि अध्ययन गरेका थिए । ती किसानहरु तुलनात्मक रुपमा स्वस्थ र बढी आयुका पाए । जेम्माको शोधमा सम्मिलित केही उत्तरदाता आंशिक किसान वा अवकासप्राप्त व्यक्ति थिए । उनीहरुको जिम्मेवारी कुनै बगैंचाको रेखदेख गर्नु थियो । उनी भन्छन्, ‘जापानमा प्रायको सानो पारिवारिक खेत हुन्छ ।’

जेम्माको सर्वेक्षणमा ठूलो मात्रामा कर्पोरेट खेती गर्ने किसानहरुलाई सामेल गरिएको थिएन । उनको अध्ययनमा पाइयो कि साना बगैंचा वा खेतीमा काम गर्नेहरु मानसिक र शारीरिक रुपले सकारात्मक हुन्छन् । साथै निरोगी, तन्दुरुस्त र जोशिला पनि ।

वास्तविकता के त ?

जेम्माको अध्ययनबाट जुन निचोड प्राप्त भएको छ, त्यो खुसी तुल्याउने खालको छ । तर सबै किसिमको खेती पारम्पारिक र कम प्रविधियुक्त जापानी मोडलको हुँदैन ।

धेरैजसो पश्चिमी देशमा खेती एक उद्योग हो र किसानहरु कठिनसाथ वा खतरनाक स्थितीमा काम गरिरहेका छन् । साथै उनीहरु ऋणमा डुबिरहेका छन् ।  उनीहरु खेतीमा यन्त्रको बढी प्रयोग गरिरहेका छन् ।

युएन  संगठनका खाद्य नीति सल्लाहकार थोमस फोरेस्टर भन्छन्, ‘अमेरिकामा यस्तो खेती किसानी छ कि उनीहरु वाताअनुकलित कोठामा बसेर कम्प्युटर चलाउन वा भिडियो हेर्न सक्छन् ।’ यस्तो अवस्थामा खेतीलाई बुढ्यौली रोक्ने जादूको रुपमा बुझ्न सकिदैन ।

खेती वा बगैंचाले लामो आयुको ग्यारेन्टी दिने होइन । बरु दुबै एकआपसमा कसरी एकाकार हुन्छन् भन्ने कुरा महत्वपूर्ण हो । जस्तो कि बाहिर टहल्नु, खुला हावामा जानु, हल्का शारीरिक श्रम गर्नु, शाकाहारी भोजन गर्नुले आयु लामो बनाउन सक्छ । खेती किसानी वा बगैंचा एक माध्यम चाहि हुनसक्छ ।

आहार, शारीरिक गतिविधी, मानसिक सक्रियता र सामाजिक सम्बन्ध नै त्यो चार खम्बा हो, जसले मान्छेलाई निरोगी, तन्दुरुस्त र दीर्घजीवि बनाउँछ । यदि यी चार खम्बामध्ये एउटाको सन्तुलन मिलेको छैन भने तपाईंको आयू छोट्टनि थाल्छ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस