आज:  २०७९ मंसिर २१, बुधबार | Wed, 07, Dec, 2022
FLASH NEWS

शहरले नचिनेका सफा मान्छे !

AuthorAP Khabar२०७५ पौष ६, शुक्रबार (३ साल अघि) ३४१ पाठक संख्या

काठमाडौं , पुस ६ :  बानेश्वर क्याम्पस नजिकै लहरै छाप्राहरु छन्, जसलाई मानिसहरु सुकुम्बासी बस्ती भनेर चिन्छन् । तर, त्यहाँ बस्नेहरु सबै सुकुम्बासी होइनन्, त्यो बेग्लै कुरा हो ।

बस्तीबीचमा एउटा ‘होटेल’ को साइबोर्ड देखियो । टिनको छानामाथि अड्याइएको त्यही साइनबोर्डमुनिबाट निहुरिँदै निस्के, रामबहादुर श्रेष्ठ (५०) । उनी पनि सुकुम्बासी होइनन् ।

बिहानकोे साढे पाँच बजे । उज्यालो राम्रोसँग भूँइसम्म खसिसकेको थिएन । बिद्रूप सडकमा मान्छेको ओहोरदोहोर पनि खासै थिएन । बिजुलीका पोलहरु थिए, तर वत्ति थिएन । तीन मिटर परबाट रामबहादुरका घनिष्ठ मित्रले पनि उनलाई सजिलै ठम्याउन सक्ने स्थिति थिएन ।

छेवैको बागमतीबाट हुत्तिँदै आएको गन्धले हामीलाई बिहानै असहज बनायो । यो बस्तीमा आउनेहरुलाई सुरुमा पक्कै पनि यस्तै भएको हुनुपर्छ । तर, अहिले उनीहरु बानी परिसकेका छन् । ढलको गन्ध बोकेर आएको पुसको चिसोले भने सबैलाई सताइरहेकै छ ।

चिसोबाट जोगिन रामबहादुरले टाउकामा निलो हुट पहिरिएका छन् । जिन्स प्यान्ट र कन्भर्स जुत्ता लगाएका उनी एकफेर अस्तव्यस्त दाह्री सुम्सुम्याएर रिक्साको हृयान्डल समाउँछन् । हृयान्डलको दुवै छेउमा बाँधिएका सल एक तमासले हल्लिरहेका छन् ।

अधिकांश काठमाडौं महानगरबासीहरु न्यानो सिरक छाड्न गाह्रो मानिरहेको योबेला रामबहादुर ब्रेकविनाको रिक्सा ठेल्दै बाटो लाग्छन् ।

***

बिहानको यो समयमा सडकमा मान्छेभन्दा बढी मोटरसाइकल र गाडीहरु देखिन्छन् । रामबहादुरलाई कसैको पर्वाह छैन । सडकको वाँयातर्फ करिब आधा घण्टा रित्तो रिक्सा गुडाएपछि उनलाई दोस्रोपटक चुरोटको तलतल् लाग्छ । खल्तीबाट चुरोट निकाल्छन्, सल्काउँछन् र आफ्नै बेगमा शंखमूलतिर लाग्छन् ।

न उनको मुखमा माक्स छ न त हातमा पञ्जा । बिहानको चिसोले ठिहिर्‍याउँदैन ? मुखबाट सूर्य चुरोटको धुँवासँगै जवाफ आउँछ- ‘बानी परिसक्यो ।’

हिउँद होस् वा बर्खा, बिहान पाँच बजे उठेर रामबहादुर यसैगरी बत्तिन थालेको १० वर्ष भएछ ।

काठमाडौंमा कसरी आउनुभयो ?

‘मलेसिया जाने भनेर ११ वर्षअघि ओखलढुंगाबाट पहिलोपटक काठमाडौं टेकेको ।’

खाने-बस्ने सुविधासहित ८५० रिंगेट तलब भनेपछि उनले मेनपावर कम्पनीमा पासपोर्ट बुझाएछन् । पछि ५४० रिंगेट भनेपछि उनी त्यो कम्पनीमा फर्केर गएनछन् । ‘अहिलेसम्म पनि गएको छैन, मेरो पासपोर्ट तिनीहरुसँगै होला’, सपाट जवाफ दिए उनले ।

रामबहादुर एकपटक पनि नमुस्कुराई, नहाँसी अनलाइनखबरको जिज्ञासा मेटाइरहेका छन् ।

विदेश जानका लागि देशको राजधानी छिरेका उनले गोजीमा बचेको ५०० रुपैयाँले काठमाडौं सहरमा १५ दिन कटाएछन् । ‘अनि ईंटाभट्टामा काम गरें’, रामबहादुरले फटाफट भने, ‘त्यहाँ चित्त नबुझेपछि फोहोरमा हात हालेँ ।’

त्यसयता रामबहादुरका लागि सहरको फोहोर नै लत्ताकपडा, मासुभात, घरखर्च, छोराछोरीको शिक्षा, स्वास्थ, सबथोक बन्न पुगेको छ ।

***

रामबहादुरले रिक्सालाई सडकबाट गल्लीतिर सोझ्याए । उनको गोजीको सिठी मुखमा आइसकेको थियो । सिठीको चर्को तिर्र, तिर्र आवाजले चिसो बिहानीको शान्ति भंग गरेपछि काठमाडौं बल्ल ब्युँझियो ।

बन्द गेट र ढोकाहरु भटाभट खुल्न थाले । कसैले बाल्टी, कसैले पोलिथिन ब्याग, कसैले डस्टविनमा फोहोर ल्याउँदै रिक्सामा हुर्‍याउन थाले । कोही भर्खर उठेको आँखा मिच्दै थिए त कोही स्कुले ड्रेसमा नाक थुन्दै रामबहादुरको छेउमा आए ।

रामबहादुर खाली हातले हतार-हतार फोहोर मिलाउन थाले । केही क्षणमै रिक्सा आधा भरियो । बाँकी अर्को गल्लीमा पुगेपछि भरियो । हामी रामबहादुरको पछिपछि छौं ।

यतिबेलासम्म क्षितिजमा रातो घाम आधा निस्किएको थियो । रामबहादुरलाई सिनामंगल पनि भ्याउनु छ । त्यसैले हतार-हतार रिक्सालाई उकालो चढाउन ठेल्न थाले । तर, रिक्सा अगाडि होइन, पछाडि गुड्न थाल्यो । रिक्सामा ब्रेक छैन ।

हामी उनलाई सघाउन तम्सियौं । उनले हल्का मुस्कुराएर भने, ‘सुरुको एक वर्ष त निकै गाह्रो भयो । कुममा डोरी लगाएर रिक्सा तान्दा बेलुकी हलचल गर्नै गाह्रो पर्थ्यो  । र पनि, जिउमा बल थियो, राति पनि काम पाए गर्छु भन्ने लाग्थ्यो ।’

आज रामबहादुरको ज्यान उतिसाह्रो ठीक छैन । ज्वरो आउनुअघिको जस्तो दुखाइ छ । उनी भन्छन्, ‘जीउलाई आराम दिएर होइन, अलि पेलेरै बिमार धपाउने गरेको छु ।

बागमति प्रयाग घाट सेवा समितिमा भजन धन्किरहेको छ । रामबहादुरलाई भजन होइन, भोजनसँग सरोकार छ । उनी सरासर भित्र पस्छन् र फोहोर बोकेर निस्कन्छन् ।

अर्को एउटा घरबाट फोहोर उठाउँदै गर्दा एक अधबैंशे चिच्याइन्, ‘अस्ति एउटा पोका यहीँ छाडेछौ, पैसाजस्तै नछोडिकन उठाउँ ।’

रामबहादुर केही नबोली आफ्नो काममा व्यस्त छन् । अब उनीभन्दा अग्लो भैसक्यो रिक्सामा फोहोर । त्यसलाई अब तानेर, ठेलेर अघिकै ठाउँ सिनामंगलको पुलमा पुर्‍याउनुछ ।

सिनामंगल पुलमा फोहोर संकलन गरेर सिसडोल पुर्‍याउने गाडीको पर्खाइमा २०/२५ वटा रिक्सा छन्, लहरै ।

केहीछिनमा महानगरपालिकाको टिपर आइपुग्छ । पालैपालो फोहोर गाडीमाथि राख्न थाल्छन्, सफाइ मजदुरहरु । १५ मिनेटमा रामबहादुरको पालो आउँछ । उनी रिक्सा नजिकै लैजान्छन् र केही सामाग्री एउटा बोरामा छुट्याउँछन्, अरु गाडीमा हुर्‍याउँछन् ।

हामीले रामबहादुरको कमाइ सोध्यौं ।

‘तलव १३ हजार ४०० आउँछ । त्यतिले व्यवहार चल्दैन’, श्वासप्रश्वास ठाउँमा आएपछि उनले भने, ‘फोहोरमा आएका केही कवाडी छुट्याएर बेच्छु । त्यसबाट महिनामा त्यस्तै १०-१२ हजार आउँछ ।’

***

यतित्रेलासम्म सडकमा मानिस, मोटरसाईकल र गाडीहरु सराबरी भैसके । कसैलाई अड्डा, अस्पताल पुग्ने त कसैलाई छोराछोरी स्कुल पुर्‍याउने हतारो छ । नौ बजिसक्यो, रामबहादुरले अहिलेसम्म चिया पनि खाएका छैनन् ।

चिया, खाजा, भात जे भने पनि साढे बाह्र बजे हो उनको खाने बेला । उनी भन्छन्, ‘सिसडोल जाने गाडी समयमा आइपुगेन भने दुई दिउँसो तीन पनि बज्छ । कहिलेकाँही त ७/८ पनि बजिदिन्छ ।’

रामबहादुरको शरीरभरि माटैमाटो छ । त्यसलाई पाउडरका रुपमा स्वीकारेका छन्, उनले । तर, यति धेरै दुःख गरेर सहर सफा राख्ने यिनै रामबहादुरहरुलाई हाम्रो समाजले सजिलै भनिदिन्छ- ‘छि… ।’

तर, रामबहादुरलाई कुनै गुनासो छैन । उनले यही कामबाट घरबार जोडेर जीवनको रथ अगाडि बढाएका छन् ।

दुई छोराहरुमध्ये एउटा विदेश गएर आएको छ । अर्को बाबुकै लाइनमा छ । छोरी ११ कक्षा पढ्दैछिन् ।

फोहोरको काम सकिएपछि रामबहादुर दिउँसोको खान खान बिहान निस्किएकै होटेलमै पस्छन् । कुखुराको मासु र भात अर्डर गर्छन् । मूल्य- १५० रुपैयाँ ।

फेरि रामबहादुरलाई कोटेश्वरको फोहोरसँग लडिबुडी खेल्न जानु छ । त्यहाँ जानुअघि एकचोटि कोठामा प्रवेश गर्नु छ, जुन खाना खाने होटेलकै भित्रपटि्ट छ ।

कोठामा छिर्ने बाटो शुरुङमार्गजस्तै लाग्छ । सरासर जान्छन् र चाबी खोल्छन् । अप्ठ्यारो मान्दै छिर्छन् अनि ग्यालिनमाथि टुसुक्क बस्छन् ।

कोठाको दृश्य- एउटा बेड बेरेर एकातिर राखिएको छ । दुईवटा खटिया । दुई सिरक खोलबिनै असरल्ल छन् । एउटा खटियाको छेउमा कपडा कोच्याएर सिरानीको रुप धारण गरिएको छ । अर्को बेडमा कपडाकै सिरानी छ । भूइँमा ‘जुट कार्पेट’ छ । खाटमुनि बोरा र सामानले भरिएका छन् । सिमेन्टेड कोठा निकै साँघुरो लाग्छ ।

परिवारजन र तीनजना गाउँलेसहित रामबहादुरको यो कोठाले ६ जनाको ओत धानेको छ । कोठा भाडा तिर्छन् – मासिक चार हजार रुपैयाँ ।

१० वर्षदेखि रामबहादुरको हरेक बिहान फोहोर बोकेरै आयो र फोहोर नै टक्टक्याएरै बित्यो । श्रीमती र छोरी साथमा छैनन्, ओखलढुंगामै छिन् । अहिले दुई छोरा उनीसँगै बस्छन् ।

अब रामबहादुरलाई लाग्न थालेको छ, दुई/तीन वर्षपछि काम गर्न सक्दिनँ । तर, यो पनि उनलाई राम्रोसँग थाहा छ कि एक दिन काम गरेन भने भोकै बस्नुपर्छ । सरकारले हालै घोषणा गरेको सामाजिक सुरक्षाले उनलाई छुन्छ या छुँदैन, रामबहादुरलाई थाहा छैन ।

रामबहादुरलाई जिन्दगीदेखि गुनासो छैन । उनी आफ्नो विगतलाई कुनै दोष दिँदैनन् । तर, भविश्यप्रति भने अन्योलमा छन्, ‘अहिले नै फोहोर तान्न गाह्रो हुन थालिसकेको छ । काम छाडेपछि त घर जाने त होला नि ?’

हुन त त्यसअघि पनि उनी भरिया भएर सोलुसम्म पुग्थे । गाउँगाउँ पुगेको मोटरबाटोले उनको रोजगारी खोस्यो र काठमाडौंको फोहोरमा ल्याएर फ्याँकिदियो ।

थाहा छैन, रामबहादुरले सोचेजसरी यो फोहोरले जिन्दगीलाई चम्किलो बनाउँछ वा बनाउँदैन ?

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस