आज:  २०७९ श्रावण २३, सोमबार | Mon, 08, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकाले नेपालको छिमेक नीतिबारे जिज्ञासा राख्योः प्रदीप ज्ञवाली

AuthorAP Khabar२०७५ पौष ७, शनिबार (३ साल अघि) ३९१ पाठक संख्या

पुष ७ : निकै लामो अन्तरालका नेपाल र अमेरिकावीच औपचारिक उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । नेपालका निम्ति अमेरिका एउटा असाध्यै महत्वपूर्ण मित्रराष्ट्र हो । अहिले सबैभन्दा ठूलो विकास साझेदार हो । नेपालले बेलायतपछि दोस्रो कूटनीतिक सम्बन्ध स्थापित गरेको देश अमेरिका हो ।

हाम्रा सम्बन्धहरु औपचारिक, राजनीतिकदेखि लिएर आर्थिक, सामाजिक, सांस्कृतिक र जनस्तरमा समेत फैलिँदै गएका छन् । अमेरिकामा निकै ठूलो नेपाली डायस्पोरा छ । नेपालको शिक्षाको क्षेत्रमा पिसकोर अमेरिकी भोलेन्टियरहरुले निकै ठूलो सक्रियता पनि देखाइरहेका छन् । यी सबै परिप्रेक्ष्यमा हेर्दा मित्रतालाई थप सुदृढ गर्ने हिसाबले मैले अमेरिका भ्रमण निकै फलदायी रहेको महसुस गरेको छु ।

नेपालका निम्ति कुन खास प्रोजेक्टमा कति सहयोग प्राप्त भयो भन्ने हिसाबले हामीले सम्बन्धलाई मापन गर्ने होइन । हामीले मापन गर्ने भनेको नेपालको अन्तरराष्ट्रिय सम्बन्ध कति फराकिलो भयो, नेपालप्रति हाम्रा मित्रहरुको रुची, आकर्षण कति बढ्यो, र नेपालको विकासमा कति साथ सहयोग र समर्थन प्राप्त भयो, त्यसहिसाबले हामीले हाम्रा सम्बन्धहरुलाई मापन गर्नुपर्छ भन्ने मलाई लाग्छ । त्यसदृष्टिमा हेर्दाखेरि सम्बन्धलाई अझ प्रगाढ बनाउन, अझ सुदृढ बनाउन र अझ फराकिलो बनाउनको निम्ति मैले लामो समयको अन्तरालपछि नेपालको परराष्ट्रमन्त्रीको हैसियतले गरेको यो औपचारिक भ्रमण फलदायी रहेको मैले महसुस गरेको छु ।

निश्चय नै उच्चस्तरीय भ्रमणहरुको आदान प्रदानको दृष्टिले लामो एउटा ग्याप देखिन्छ । सक्रिय राजतन्त्र रहेका बेला राजाहरुको औपचारिक भ्रमण भएको देखिन्छ । पछि नेपालका प्रधानमन्त्रीज्यूहरुले संयुक्त राष्ट्र संघको महासभामा आउँदा या अरु सन्दर्भमा भेटघाट गर्नुभएको देखिए पनि औपचारिकरुपमा संरचनागत हिसाबले चाहिँ भेटवार्ताहरु तुलनात्मकरुपमा पातलो नै भएका छन् ।

यसका निम्ति हामीले आफ्नै तर्फबाट हेर्दा र नीतिहरुको पुनरावलोकन र समीक्षा गर्दाखेरि ०४६ सालमा बहुदलीय व्यवस्था स्थापनालगत्तै त्यसको केही समयपछि नै नेपाल राजनीतिक अस्थिरतामा फस्न पुग्यो । संसद विघटन हुने, सरकारहरु फेरिइरहने र पछिल्लो समय त सशस्त्र द्वन्द्व र लामो संक्रमणकालमा हामी फस्यौं । यसका प्रभावहरु हाम्रा वाह्य सम्बन्धहरुमा पनि परेको देखिन्छ । किनभने परराष्ट्र नीति भनेको राष्ट्रिय नीतिकै एउटा विस्तारित रुप हो । त्यसका प्राथमिकताहरुको प्रभाव हाम्रो बाह्य सम्बन्धमा पर्छ पर्छ । त्यसले गर्दा नेपालको प्रोफाइल, नेपालको छवि वीचमा अलिकति कमजोर भएको, नेपालको आफ्नो स्वतन्त्र निर्णय क्षमता अलिकति कमजोर भएको र नेपालको महत्वमा पनि अलिकति कमी आएको हो कि जस्तो देखिन्छ । तर, लामो अस्थिरतालाई अन्त्य गर्दै मुलुकमा अहिले राजनीतिक स्थायित्व भइसकेपछि र बलियो सरकार बनिसकेपछि चाहिँ भने यो स्थिति विस्तारै बदलिँदै गएको छ र यो बदलिएको संकेत हो भन्ने मलाई लाग्छ ।

मलाई लाग्दैन कि अमेरिकाले नेपाललाई कुनै देशको आँखाले हेर्छ । किनभने, नेपालमा अमेरिकाको निकै बलियो कूटनीतिक उपस्थिति छ । निकै ठूलो दूताबासमध्ये नेपालमा रहेको अमेरिकी दूताबास पनि पर्छ । र, बहुआयामिक सम्बन्धहरु छन् । त्यसले गर्दा नेपाललाई अमेरिकाले स्वतन्त्र ढंगले नै हेर्दै आएको थियो । हिजोकै दिनहरुमा पनि अमेरिकाले नेपाललाई अरु कुनै देशको नजरले हेथ्र्यो भन्ने लाग्दैन ।
तर के चाहिँ सत्य हो भने तपाईको आफ्नो कूटनीतिक सामथ्र्य कति बढ्यो । तपाईको आफ्नो आन्तरिक एकता कति बलियो छ । तपाईले आफ्ना सरोकारका विषयहरुलाई कति सशक्त ढंगले आफ्ना मित्रहरुसँग राख्न सक्नुहुन्छ, त्यसले मित्रहरुले हेर्ने दृष्टिकोणमा पनि र महत्वमा पनि फरकचाहिँ पर्छ ।

त्यो हुँदा म के भन्न चाहन्छु भने सरकार फरिने कुराहरुमा मात्रै होइन कि नीतिगत अस्थिरताहरुको पनि एउटा स्थिति थियो, त्यसका प्रभावहरु हरेहोलान् । अहिलेचाहिँ एउटा स्थिरततातिर गइसकेपछि, एउटा बलियो सरकार बनिसकेको छ । यसपालि हामीलाई सजिलो के छ भने नेपालको संविधानले आधारभूत नीतिहरुलाई दिशा निर्देश गरिदिएको छ । राष्ट्रिय हित के हो भन्ने कुरालाई परिभाषित गरेको छ र हाम्रा अन्तरािष्ट्रय सम्बन्धहरु कसरी अगाडि बढाउनुपर्छ भनेको छ । ती कुराहरुमा एकखालको नीतिगत संगति कायम भएकाले पनि हाम्रा मित्रहरुमा केही सकारात्मक परिवर्तन आएको म देख्छु ।

मलाई लाग्दैन अमेरिकाले कुनै देशसँग सम्बन्ध बनाउँदाखेरि त्यो देशको सरकार वा पार्टीले कुन विचारधारा बोकेको छ भन्ने कुरालाई आधार बनाउँछ । अहिले विचारधारामा आधारित अन्तरराष्ट्रिय सम्बन्धको आयाम नै अर्को चरणमा बदलिएको छ । राष्ट्रिय हितहरु यसमा हावी हुन्छन् । दोस्रो, नेपालको कम्युनिस्ट आन्दोलन नेपालको प्रजातान्त्रिक आन्दोलनको एउटा अग्रणी शक्ति पनि हो । यो प्रजातन्त्र अरु कसैले ल्याइदिएर अहिले नेपाल कम्युनिष्ट पार्टीले उपयोग गरिरहेको होइन कि यो लोकतन्त्र ल्याउनका निम्ति सबैभन्दा बढी बलिदान गरेको पार्टी हो । त्यसकारणले हाम्रो लोकतान्त्रिक निष्ठामाथि कसैले प्रश्न उठाउने ठाउँ पनि छैन र उठाउँछ भने त्यो पूर्वाग्रहमात्रै हो । मलाई लाग्छ, यसमा हाम्रा अमेरिकी मित्रहरु यसमा प्रष्ट नै हुनुहुन्छ ।

जहाँसम्म हाम्रा पूर्वमाओवादी साथीहरुको, अथवा हिजोको द्वन्द्वकालको पृष्ठभूमिको कुरा हो, नेपालमा सशस्त्र द्वन्द्व एउटा राजनीतिक यथार्थ हो । तर, उत्तिकै यथार्थ के हो हामीले त्यसलाई शान्तिपूर्णरुपमा अवतरण गराएका छौं । त्यसको शान्तिपूर्ण समाधान गरेका छौं र यो शान्तिपूर्ण समाधानमा अमेरिकाले नेपाललाई बधाइ दिएको छ । प्रशंसा गरेको छ र हाम्रा हिजो सशस्त्र द्वन्द्वमा रहेका साथीहरु जनतामा अनुमोदित भएर राज्य सञ्चालनको तहमा आइपुग्नुभएको छ । त्यसकारण यसमा केही समस्या छ भन्ने लाग्दैन ।

तर, कहिलेकाहीँ कानूनीरुपमा व्यक्तिगत ढंगले प्रश्नहरु उठ्ने कुरा त नेल्सन मण्डेलालाई पनि लामो समयसम्म एकखालको लिस्टमा राखिएको थियो । पछि उहाँले नोबेल शान्ति पुरस्कार पाएर, राष्ट्रपति भएर त्यसपछाडिमात्रै स्थिति बदलिएको थियो । भन्दाखेरि, यी केही प्रक्रियागत कुराहरु हुन् । होइन भने नेपालका कम्युनिष्टहरु नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवाहरु हुन् । विश्वले यही ढंगले नै बुझेको छ र व्यवहार गर्छ ।

मैले नेपालको आर्थिक विकासका पक्षहरुमा केन्दि्रत रहेर मैले कुराकानी गरें । अमेरिकाले ५ सय मिलियन डलरको आर्थिक सहायता नेपाललाई प्रदान गरेको छ । नेपालको ग्रीड कनेक्टिभिटी र सडकहरुको स्तरोन्नतिका लागि यो सहयोगपश्चात नेपालको सबैभन्दा ठूलो दाता राष्ट्रका रुपमा अमेरिका एक नम्बरमा आइपुगेको छ ।

मैले अमेरिकाको सहायताका निम्ति उहाँहरुलाई धन्यवाद दिँदै त्यो सहायता प्रवर्द्धन गर्न कमसेकम पनि २०२२ अगावै हामी अति अल्पविकसित मुलुकबाट स्तरोन्नत हुन चाहन्छौं र २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्न चाहन्छौं । त्यसका लागि सहयोग गर्न भनेको छु ।

दोस्रो, अहिले हाम्रो अझ बढ्ता चासो नेपालमा बाह्य लगानी भित्र्याउने कुरामा छ । र, नेपाल लगानीका निम्ति उपयुक्त छ । नेपालमा लगानी एकदम मुनाफामुल विषय हो । लगानीकर्ताहरु कसैले पनि केही गुमाउनुपर्दैन । हामी लगानीमैत्री वातावरण निर्माण गर्दै गएका छौं । हामीले उहाँहरुलाई भनेका छौं । अमेरिकाबाट लगानी बढ्ने मैले विश्वास लिएको छु ।

तेस्रो, अमेरिकी सरकारप्रति हामी आभारी छौं कि उसले हामीलाई व्यापारमा ७७ वटा वस्तुहरुमा विशेष सहुलियतपूर्ण छुट दिएको छ । मैले विभिन्न गार्मेन्टमा अरु केही सूचीहरु पनि त्यसमा थपिदिनका निम्ति आग्रह गरेको छु । उहाँहरुले विचार गर्ने कुराहरु गर्नुभएको छ । यसरी व्यापार, लगानी र आधिकारिक सहायता यी सबै क्षेत्रमा अमेरिकाले सहायताहरु बढाउँदै जाने र हाम्रो विकास यात्रामा सहयोग प्राप्त हुने मैले विश्वास लिएको छु ।

उहाँहरुले स्वाभाविकरुपले नेपालको विदेश नीति र त्यसमा पनि छिमेक नीतिहरुका बारेमा जिज्ञासाहरु राख्नुभो । हामीले नेपाल एउटा सन्तुलित विदेश नीतिका आधारमा अगाडि बढिरहेको हाम्रो विकासका निम्ति हाम्रा दुईवटै छिमेकीहरुको सहायता प्राप्त भइरहेको र त्यो सहायतालाई अझ राम्रो दिशामा अगाडि बढाउन र अझल उन्नत बनजाउनका निम्ति हामीले चाहिरहेको कुराहरु हामाीले बतायौं ।

नेपाल एउटा भूपरिवेष्ठित स्थितिबाट बाहिर आउनको निम्ति र यसलाई भूजडित बनाउनका निम्ति हामीलाई धेरै भन्दा धेरै कनेक्टिभिटी जरुरी छ । त्यसका निम्ति हामी अहिले दुबै छिमेकीहरुसँग मिलेर काम गरिरहेका छौं । नेपालको चासो भनेको नेपालको आर्थिक विकासमात्रै हो । हाम्रा कुनै ठूला विश्वव्यापी वा क्षेत्रीय महत्वाकांक्षाहरु छैनन् । र, अरुको महत्वाकांक्षाहरुमा नेपाल त्यसको अंग बन्न सक्दैन र बन्न पनि चाहँदैन । यो कुरा मैले प्रष्ट पारें ।

वहाँहरुले उत्तर कोरियासँगको आफ्नो सम्बन्धहरुका बारेमा बताउनुभयो । हामी कोरियाली प्रायदीपमा पूर्ण निशस्त्रीकरणको पक्षमा छौं । त्यहाँको समस्या शान्तिपूर्ण ढंगले समाधान होस् भन्ने चाहन्छौं र यसमा अमेरिकाले एउटा अग्रसरता लिइरहेको छ, त्यो सफल होस् भनेर मैले शुभकामना पनि दिएँ । मूलतः यिनै विषयहरुमा हामीले कुराकानीहरु गर्‍यौं ।

भेटघाट आफैंमा महत्वपूर्ण हो । तर, भेटघाटमा के कुराकानी भयो भन्ने त्यसले के परिणाम ल्यायो भन्ने कुरा अझ महत्वपूर्ण हुन्छ होला । कति चिजहरु भोलिको व्यवहारमा कार्यान्वयन हुँदै जाँदा देखिने विषयहरु हुन् । तर, नेपालको पछिल्लो परिवर्तन र त्यसप्रतिको बढ्दो अन्तरराष्ट्रिय चासो, उत्सुकता र त्यसप्रतिको सदभावका रुपमा यसलाई हामीले लिनुपर्छ । र, नेपालले आफ्नो सन्तुलित बाह्य सम्बन्धहरुलाई अझ बढी अगाडि बढाउँदै र अझ त्यसमा पारंगत बन्दै सबै मित्रहरुको साथ सहयोग लिएर अगाडि बढ्नुपर्छ । यस दिशामा चाहिँ मैले यो भ्रमणलाई फलदायी भयो भन्ने ठानेको छु ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस