आज:  २०८० जेष्ठ २२, सोमबार | Mon, 05, Jun, 2023
FLASH NEWS

निगालीमा लटरम्म सुन्तला, छैन बिक्रीको चिन्ता

AuthorAP Khabar२०७५ पौष ८, आईतबार (४ साल अघि) ४३५ पाठक संख्या

कैलाली (निगाली) , पुष ८ : लटरम्म फलेका सुन्तला देख्दा निगाली गाउँ पुग्ने जो कोहीको पनि मन लोभिन्छ, अझै तराइमा बसोबास गर्नेहरु सुन्तलाबारीमै पुगेर आफ्नै हातले सुन्तला टिपेर खान पाउँदा एकदमै दंग थिए ।

सयौं रोपनीमा सुन्तला खेती गरेका चुरे गाउँपालिका १ निगालीका किसानहरुलाई बजारको समेत कुनै समस्या छैन । व्यावसायीहरु घरमै पुगेर सुन्तला खरिद गर्छन् । उनीहरुले आफ्नै पहलमा गत वर्ष मात्रै प्रधानमन्त्री कृषि आधुनिकिकरण मार्फत निगालीलाई सुन्तला जोनको रुपमा घोषणा गर्न सफल भएका छन् ।

निगालीका किसानहरुले तीस जनाको समूह बनाएर लक्ष्मी सुन्तला उत्पादन कृषक समूह समेत गठन गरेका छन् । समूहका अध्यक्ष टेकबहादुर बमले विगत ७० वर्षदेखि सुन्तला उत्पादन हुदै आएको निगाली क्षेत्रमा व्यवसायिक रुपमै सुन्तला खेती गर्ने अभियान संचालन गरिएको बताए ।

उनले राज्यबाट कृषकहरुलाई सहयोग हुने हो भने कृषिसम्बन्धी ज्ञानका साथै परम्परागत रुपमा हुदै आएको सुन्तला खेतीलाई व्यवसायीकरण गर्न सकिने बताए ।

आफूले थाहा पाउने बेलादेखि नै सुन्तलाको उत्पादन हुदै आएको निगालीकै तिलक बमले बताए । उनले सिञ्चाइ र प्राविधिक ज्ञानको अभावमा सुन्तलाका बोटहरु सुक्दै जान लागेको बताउँदै राज्यबाट अहिलेसम्म कुनै सहयोग नपाएको बताए ।

लाइन्स क्लब अप धनगढी ग्रिन सिटीका अध्यक्ष टेकराज पनेरुले निगालीका किसानहरुले सुन्तलाको खेतीका लागि धेरै नै मिहिनेत गरेको आफूले पाएको बताए । उनले नेपालमै ख्याती पाएको सुन्तलाई पर्यटनसंग जोडेर नजिकै रहेको भारत लगायत नेपालका आन्तरिक पर्यटकहरुलाई भित्र्याउन सकिने बताए ।

अत्तरिया–डडेल्धुरा भिमदत्त राजमार्ग अन्तर्गत सहजपुरबाट करिब १७ किलोमिटरको दूरीमा रहेको निगालीसम्म पुग्ने मोटरबाटोको उचित मर्मत सम्भार गर्न सके त्यहाँ उत्पादन हुने सुन्तलाले राम्रै बजार पाई किसानहरुको आय स्तरमा समेत वृद्धि हुने थियो ।

प्रतिक्रिया दिनुहोस