आज:  २०७९ श्रावण २९, आईतबार | Sun, 14, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

रवि लामिछाने र विजयकुमारबीच रोचक वादविवाद !

AuthorAP Khabar२०७५ पौष १०, मंगलबार (३ साल अघि) ३३८ पाठक संख्या

काठमाडौं , पुष १० : पोखरामा जारी साहित्यिक महोत्सवका क्रममा सोमबार रोचक अन्तरक्रिया भयो । मूर्धन्य पत्रकार विजयकुमारसँग आमने–सामने थिए अहिलेका ‘हट केक’ रवि लामिछाने ।

दुवैले एक–अर्काप्रति प्रशंसाको पुल बाँधेर संवाद सुरु भयो । रविले विजयकुमारजस्तो ‘लिजेन्ड’ सँग मञ्च सेयर गर्नु आफ्नो अहोभाग्य भएको बताए । जवाफमा विजयले भने, ‘भाग्य त मेरो हो, तपाईं एउटा उदाउँदो सूर्य हो, हामी अस्ताउन लागेको ।’

तर, संवाद अघि बढ्दै जाँदा रविले विजयकुमारमाथि केही खरा प्रश्नहरु राखे । विजयकुमारले पनि रविलाई कटाक्ष गर्न छाडेनन् ।

‘तपाईंको उमेरमा म पत्रकारिता नै सबैभन्दा ठूलो हो भन्ने सोच्थेँ,’ विजयकुमारले भने, ‘तर अहिले यथार्थको धरातलमा ओर्लिएको छु । पत्रकारिता, साहित्य र संगीतमध्ये पत्रकारिता तेस्रो नम्बरमा आउँदोरहेछ ।’

यसको व्याख्या गर्दै विजयकुमारले भने, ‘पत्रकारिता मूलतः मस्तिष्कसँग सम्बन्धित छ । साहित्यमा मतिष्क आधा र मुटु आधा प्रयोग हुन्छ । संगीत भने मुटुबाट सिर्जना हुन्छ । र, संसारमा मुटुभन्दा ठूलो कुरा अरु केही पनि छैन ।’

फेरि रविले पेल्न खोजे, ‘विजयकुमार त आफ्नो पत्रकारिताबाट हिरो भयो, तर समग्र मुलुकले उहाँबाट के पायो ? देश त बनेको छैन ?’

रविका कतिपय प्रश्नमा विजयकुमारले हलुका जवाफ दिए । खासगरी रविले नेताहरुसँग उनको हिमचिमको प्रभाव उनको पत्रकारितामा परेको विषयमा ओकल्न खोजेका थिए । तर, विजयकुमार यसमा धेरै खुल्न चाहेनन् ।

अनि आयो रक्सीको प्रसंग ।

एकताका विजयकुमारले आफूले बालुवाटार (प्रधानमन्त्री कार्यालय) का कोठा–कोठामा रक्सी खाएर छादेको दाबी गरेका थिए । आफ्नो किताबमा पनि उनले ठूलाठालुहरुको बेडरुममा रक्सी छादेको प्रसंगलाई नलुकाई प्रस्तुत गरेका छन् । रवि लामिछानेले यही विषयलाई कोट्याउँदै सोधे, ‘तपाईं नेताहरुसँग बसेर रक्सी खाने गरेको सगर्व बताउनुहुन्छ, भोलिपल्ट तपाईंले काम गर्ने पत्रिकामा हिजो खाएको रक्सी त गन्हाउँदैन ?’

यो प्रश्नले दर्शकबाट ताली पायो । बल्ल विजयकुमार अलि गम्भीर बने । उनले जवाफ दिए, ‘मनुष्यको सार, उसको भित्रको ‘कोर’ उभित्रै हुन्छ । बुझिरहनुभएको छ ? तपाईं हल्लिनुभएन भने तपाईंलाई त्यति सजिलोसँग कसैले हल्लाउन सक्दैन । आर यू विथ मी ?’

आफ्नो प्रश्नबाट विजयकुमार अलि बिच्केको महसुस गरेर रविले भने, ‘म विजयकुमार होइन, विजयकुमारहरुको कुरा गरिरहेको छु । मेरो चिन्ता बुझ्नुहोला ।’

विजयः ‘तपाईंको चिन्ता र सदिच्छा बुझिरहेको छु । नयाँ पुस्ताले आफ्नो सीमारेखा निर्धारित गर्न सिक्नुपर्छ । नेता आएन भने तपाईंको प्रोग्राम चल्दैन ।’

रविः ‘त्यस्तो पनि अलि होइन ।’

विजयः ठीक छ, तपाईंको पत्रकारितामा एकछिनपछि प्रवेश गरौंला । मेरो पार्टबाट भन्नुपर्दा हाम्रो सीमारेखा छ । मैले आफ्नो जीवनमा सीमारेखा निर्धारण गरेको छु । सबै कुरा माइकमा भनिरहनुपर्दैन ।’

फेरि रविले पेल्न खोजे, ‘विजयकुमार त आफ्नो पत्रकारिताबाट हिरो भयो, तर समग्र मुलुकले उहाँबाट के पायो ? देश त बनेको छैन ?’

विजयकुमारले रविलाई अर्को दनक दिए, ‘पब्लिक फोरममा आएर ठूलो स्वरले नेतालाई गाली गर्दैमा आफ्नो उचाइ बढ्छ भन्ने पत्रकारितामा म विश्वास गर्दिनँ ।’

प्रायः एकछिन रोकिएर बोल्ने विजयकुमारले तत्काल भने, ‘हिरो शब्दमा मेरो आपत्ति छ । मैले आफूलाई हिरो ठानेको छैन, न हिजो, न आज, न भोलि । देश बनाउने त्यति हल्का विषय होइन । हामी सबैले आ–आफ्नो भूमिका गर्‍यौं भने त्यसको समजोडले देश बन्ने हो । म त्यो पत्रकार होइन, जसलाई देश बनाउँछु भन्ने भ्रम छ । त्यो मेरो क्षेत्र होइन । मेरो क्षेत्रभित्र सानो केही चिज गर्न सकेँ भने म सन्तुष्ट हुन्छु । देश बनाउने र हिरो बन्ने फरक चिज हो । इन्डियालाई सलमान खानहरुले बनाएका होइनन् ।’

रविले पाकिस्तानका इमरान खानको उदाहरण दिन खोजे ।

‘एउटा क्रिकेटरले मुलुकमा परिवर्तन ल्याउन खोजिरहेको छ, पत्रकारले किन सक्दैन ?’

विजयले भने, ‘तपाईंले इमरान खानलाई रिफर गर्नुभयो । तर, उहाँले क्रिकेट खेल्न छाडेको २० औं वर्ष भइसकेको थियो । उनकी पूर्वपत्नीले भनेकी छन् कि मेरा पूर्वपति मेरा बच्चाका पिता १८ वर्षको कठोर संघर्ष र परिश्रमपश्चात आज यो पोजिसनमा जाँदै हुनुहुन्छ ।’

त्यसपछि विजयकुमारले रविलाई अर्को दनक दिए, ‘पब्लिक फोरममा आएर ठूलो स्वरले नेतालाई गाली गर्दैमा आफ्नो उचाइ बढ्छ भन्ने पत्रकारितामा म विश्वास गर्दिनँ । म सोच्छु कि हामी जस्ता छौं, त्यस्तै नेता छन् । तर, उनीहरु एक स्टेप अगाडि बढ्नुपर्छ भन्ने होे । राइट सर ?’

अलि तात्तिँदै आएका विजयमाथि रविले अर्को प्रश्न ठेले । तर, विषयान्तर गर्दै ।

‘तपाईं अन्तरवार्ता दिन बोलाएका पाहुनाहरुलाई अप्रासंगिकरुपमा आफूले जानेको आध्यात्मको पाठ पढाउन खोज्नुहुन्छ नि किन ?’

रवि लामिछानेको यो प्रश्न पनि विजयले रुचाएनन् । रुष्ट शैलीमा एक वाक्यमा उत्तर दिए, ‘हो, पढाउनुपर्नेलाई पढाउँछु म ।’

रविको अर्को प्रश्न आयो, ‘तपाईं आफ्नो अतिथिको दायरा ८–१० वटा मात्रै भएको बताउने गर्नुहुन्छ । तिनै खगेन्द्र दाइ …’

विजयकुमारको जवाफ– ‘तपाईं आफ्ना शब्दहरु जबरजस्ती मेरो मुखमा नकोच्नुस् । मैले भनिनँ कि मेरा अतिथि १०–१२ जना छन् । मैले भनेँ कि विषय १०–१२ छन् ।’

रविले आफ्नो जिरह पेश गरे– ‘तर यो कुरा अतिथिमा पनि लागु हुन्छ नि । हरेक नयाँ कार्यक्रममा तपाईंका अतिथि उही सिके लाल, खगेन्द्र संग्रौला, प्रदीप गिरी नै दोहोरिन्छन् । समाजमा अतिथिको अभाव हो कि उनीहरुप्रति तपाईंको अतिरिक्त मोह हो ?’

यो प्रश्न पनि विजयकुमारलाई बिझायो । उनले भने, ‘नयाँ मान्छे चिन्न गाह्रो लाग्छ मलाई । यिनीहरु नै चलिरहेका छन् । यिनीहरुले मेरो काम सजिलो पार्दिन्छन् । भोलि पनि यिनीहरु नै आउने हुन् ।’

रविको अर्को प्रश्न ः ‘धेरैले भन्छन् कि तपाईं एकदमै फरक स्वभावको हुनुहुन्छ । नमस्ते गर्दा पनि फर्काउँदैन भन्छन् मानिसहरु । तपाईंको हाउभाउ, बोलीचाली हेर्दा फरकपन देखिन्छ पनि । के तपाईं भित्रैदेखि भिन्न हुनुहुन्छ या अरुभन्दा फरक देखिन त्यस्तो ढोंग गर्नुहुन्छ ?’

विजय आफ्नै शैलीमा निकैबेर मौन बसे । अनि भने, ‘क्वेसन इज डिफिकल्ट । म टेलिभिजनमा नआएर अर्कै पेशामा भएको भए पनि यस्तै हुन्थेँ । मेरो दुर्भाग्य, आदरणीय नीर शाहले टेलिभिजनमा ल्याइदिनुभो । भोलिको दिनमा पनि म यस्तै हो । कहिलेकाहीँ आफ्नो सुरमा हिँडिरहेको हुन्छु । मेरो आँखाको पावर माइनस फाइभ छ । मान्छे झट्टै ठम्याउन सक्दिनँ । तर, मैले आजसम्म कुनै गरिब, जसले मेरो मनलाई छोएको छ, त्यसका लागि म घन्टौं रोकिएको छु ।’

अब दर्शकदीर्घाबाट प्रश्न आयो रवि लामिछानेलाई ।

एक सहभागीले सोधे, ‘अस्ती सञ्चारमन्त्रीले पत्रकारको काम समाचार लेख्ने हो, छापा मार्ने होइन भनेर तपाईंलाई व्यंग्य गर्नुभयो । त्यसमा तपाईंको जवाफ के छ ?

रविले स्पष्टीकरण दिए– ‘छापा मार्न गएकै छैनौं कहिले पनि । समस्या परेर मानिसहरु हाम्रो कार्यालयमा आउँछन् । हाम्रो कार्यालयमा मानिसहरुको भीड देख्नुभयो भने छक्क पर्नुहुनेछ । जहाँ पनि जाँदा प्रहरी– प्रशासन र अख्तियारलाई खबर गरेर जान्छौं । तर, कसैले बदमासी गरिरहेको देखियो भने प्रहरी कुर्दैनौं । यसको मतलव, कानून हातमा लिएको भन्ने होइन ।’

यति भनिसकेर लामिछानेले आफ्नो पूर्ववत् शैलीमा सञ्चारमन्त्रीलाई चेतावनी दिए, ‘सञ्चारमन्त्रीजयूलाई मेरो प्रश्न छ– राजा महाराजाले आफ्नो घेराभित्र राखेको रेडियो र टेलिभिजनलाई पहिले सिंहदरबार बाहिर ल्याइदिनुस । जनताको पहूँचमा ल्याइदिनुस ।’

अन्त्यमा रविलाई पेल्ने पालो आयो विजयकुमारको ।

उनले रविलाई भने, ‘अंग्रेजीमा एउटा भनाइ छ, एभ्री शो मस्ट कम टु एन इन्ड, नो म्याटर हाउ ग्रेट द शो इज, हाउ ग्रेट द शो म्यान इज ? (प्रत्येक शोको अन्त्य अवश्य हुन्छ, चाहे त्यो शो जति भव्य र शो म्यान जति महान किन नहोस्) । आफ्नो बढ्दो प्रभावसँगै बढेको जिम्मेवारी पनि विचार गर्नुहोला ।’

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस