आज:  २०७९ आश्विन २०, बिहिबार | Thu, 06, Oct, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

ठेलमठेल–उकुसमुकुस सार्वजनिक यातायात

AuthorAP Khabar२०७५ पौष १२, बिहिबार (३ साल अघि) ४५६ पाठक संख्या

 

 पुष १२ :  

साँझको समयमा बसको सिट पाउन सजिलो कहाँ हुन्छ र ? अब भने उभिएर यात्रा नगरी सुखै थिएन, ठेलमठेल, धकेलाधकलबीच अरु यात्रुसँगै चेपिन बाध्य थिएँ । धन्न जाडोको मौसम भएर चेपिएर पनि उभिन सकिन्छ भनौँ न, यदि गर्मी हुँदो हो त काखी र पसिना गनाएर वाक्वाकी हुन्थ्यो । तर उभिँदा पाकेटमारको जगजगी जहिल्यै हुने । भिडमा कोही यसो च्यापिन आयो भने सशंकित हुनै पर्ने ।

बिहान उठ्न अलार्म लगाउनै नपर्ने । सबेरै ६ बजे ‘रत्नपार्क रत्नपार्क’ भनेर खलासी कराएको आवाजले निन्द्रा खुलेदेखि नै दैनिकी शुरु हुन्छ । नित्य कर्म सकेपछि जब कामको सिलसिलामा बाहिर निस्कन्छु चोकमा गाडी पर्खनेको भिड बाक्लै हुन्छ ।

आजकल पहिलेजस्तो छैन, काठमाडौंको कुनाकुनामा पुग्न ५–५ मिनेटमा सार्वजनिक बस, माइक्रो, साझा, महानगर यातायातका साधन हिँडिरहन्छन् तर पनि हरेकमा ठेलिँदै गन्तव्यमा जानु पर्ने बाध्यता छ । कतिपटक यौन दुव्र्यबहार, पाकेट मारिएका घटना त नौलौ त होइन । आजभोलि समाचारमा पाकेटमारको गिरोह नै समातिए भन्ने सुनिन्छ तर अझै यात्री पूर्ण सुरक्षित महसुस गर्न सकिरहेका कहाँ छन् र ?

अघिल्लो हप्ता बैंकको कामले ११ बजे दरबारमार्ग पुगेँ । काउन्टरको लाइन दोहोरो भइसकेछ । पट्यार लाग्ने गरी झण्डै १ घण्टापछि पालो पाएँ । अस्पतालमा आफन्त बिरामी भएर भर्ना गरेको १ हप्ता भइसकेको थियो । यसो हेर्नसमेत जानु नभ्याएर मन अमिलो भइरहेको थियो ।

तसर्थ बैंकको काम सकेर टिचिङ अस्पताल जान जमलसम्म हिँडेरै पुगेँ, नाचघरपट्टिबाट सफा टेम्पो चढुँला भनेर जमलको आकाशे पुलको भर्याङ उक्लँदै गर्दा ओहो त्यहाँ पनि ठेलमठेल, भर्याङको दुई छेउ, कोही खुट्टा पसारेर माग्न बसेका, कोही बदाम, कोही लुगाफाटा बेच्न लस्करै बसेका । पुल तर्ने मजस्तालाई सास्ती, लाइन लागेर बिस्तारै उक्लन पर्ने । त्यति उक्लेर पारी पुग्न पनी ठूलै धैर्य चाहिने रहेछ झैँ लाग्यो ।

आकाशे पुलको भर्याङ उक्लँदै गर्दा ओहो त्यहाँ पनि ठेलमठेल, भर्याङको दुई छेउ, कोही खुट्टा पसारेर माग्न बसेका, कोही बदाम, कोही लुगाफाटा बेच्न लस्करै बसेका । पुल तर्ने मजस्तालाई सास्ती, लाइन लागेर बिस्तारै उक्लन पर्ने । त्यति उक्लेर पारी पुग्न पनी ठूलै धैर्य चाहिने रहेछ झैँ लाग्यो ।

सडकभरि तछाडमछाड गर्दै मोटरसाइकल, टेम्पो, बस, कार छपक्कै छन् । कछुवाको चालजस्तै अगाडि बढिरहेका, हुइँकन त चाहेर पनि सकेका छैनन् जामले । जमलको रमिता हेरेर बसेको १ घन्टा भइसक्यो टिचिङतिर लाग्ने सबै यातायातका साधन जम्मै भरिएर आउने ।

सिट पाइनँ, उभिएर, झुन्डिएर जान सकभर मन नलाग्ने । ट्याक्सीलाई यसो सोध्यो, मिटरमा जानै नमान्ने । १५ रुपैयाँको बाटोमा ४ रुपैयाँ तिर्न आफूलाई मन नलाग्ने । ओहो, कस्तो आपत ! बल्लतल्ल एउटा माइक्रोमा एक सिट पाइयो ।

त्यही पनि उल्टो सिट, लामो बाटो भए त कहाँ सक्नु । छोटो गन्तव्य भएकाले एडजस्ट गरेरै भए पनि टिचिङ पुगेर झरेँ । लगभग ३ बजेको समयमा अस्पताल छिरेको थिएँ । नाक नै फुट्ला जस्तो । माक्स लगाउँदा पनि गन्धले वाक्क आउला जस्तो । आफन्त भेट्दा, बात मार्दा आधा घण्टा बडो मुस्किलले बिताएँ ।

५ बजे कोटेश्वर पुग्नु थियो । संस्थाको मिटिङ एटेन्ड गर्न । नारायण गोपाल चोकसम्म पुगेँ । त्यहाँबाट रिङरोडका बसहरु सजिलै पाइन्छ भन्ने आशाले ८–१० मिनेट हिँडेरै चोकसम्म पुगेँ । बाटोमा हिँडिरहदा यी बस चढ्नु भन्दा त सक्ने भए हिँडेरै जान आनन्द हुने थियो भन्ने कुरा मनमा खेलिरह्यो ।

नारायण गोपाल चोकबाट महानगर यातायात चढेर कोटेश्वरतिर लागेँ, महिला सिटमै बस्न पाएँ, केही राहत महसुस भयो । शंखपर्क पुगेपछि बसको गति कछुवाको झैँ हुन थाल्यो । आधी घण्टा बित्दा पनि सुकेधारा पुग्न सकिएको थिएन । सबै कल्याङमल्याङ गर्न थाले । यसो बुझेको बिहेको जन्तीको लस्कर अगाडि भएको कारणले पछाडिका गाडी सबै ठप्प जस्तै थिए ।

सायद बेहुली लिएर फर्कदै गरेका जन्तीलाई रिङरोडमा भएको जामको कुनै परवाह थिएन, उनीहरु त्यसै मस्तमग्न थिए । यसो घडी हेरेको त पौने पाँच भइसकेको थियो । ५ बजे कोटेश्वर मिटिङमा पुगुलाँ कि नपुगुलाँ भन्ने मनमा तर्कना चल्न थाल्यो ।

‘होइन ठूलै राजा महाराजाका बिहे रहेछ कि क्या हो ? पूरै सडक कब्जा गरेर हिँड्या’छ त ! मान्छेलाई कहाँ पुग्नु छ, कति आपत पर्या छ, उनीहरु भने बाटो नै आफ्नो झैँ गरी हिँड्या छन् त ?’

‘एउटाले जोइ, अर्कोले पोइ पा’का छन्…होइन अरु सारालाई किन सास्ती दिनु पर्या होला…?’

यस्तै मिश्रित प्रतिक्रिया बसभित्र सुनिन थाले । मनमा हुटहुटि चल्न थाल्यो ५ बजे मिटिङमा कहिले पुग्ने ? कहिले फर्केर घरधन्दा सक्ने भन्ने पिरलो मनमा थियो । बस गोपीकृष्ण हल क्षेत्र पुग्दा बल्ल जन्तीको लस्कर दायापट्टि लागेको देखियो । त्यति बेला ५.३० सकेको थियो ।

बल्ल बाटो सहज हुने भयो भनेर मन अलि ढुक्क भयो, चाबहिल चोकको नजिक पुगेपछि फेरि बस रोकियो, समस्या जामको थियो उसै पनि चाबहिल चोक सधैँ अत्यधिक चाप हुने क्षेत्र । अब त साह्रै ढिलो भयो भनेर साथीलाई फोन गरेको अध्यक्ष्यज्यूको कार्य व्यस्तताका कारण बैठक सरेको जानकारी पाएँ । लौ यत्रो दुःख त्यसै खेर गयो । हिउँदका दिनहरु साह्रै छोटो । बसको झ्यालबाट बाहिर यसो हेरेको क्रमशः अँध्यारो हुँदै थियो ।

चाबहिलबाट स्वयम्भू फर्कन फेरि उही सकस बाँकी थियो । साँझको समयमा बसको सिट पाउन सजिलो कहाँ हुन्छ र ? अब भने उभिएर यात्रा नगरी सुखै थिएन, ठेलमठेल, धकेलाधकलबीच अरु यात्रुसँगै चेपिन बाध्य थिएँ । धन्न जाडोको मौसम भएर चेपिएर पनि उभिन सकिन्छ भनौँ न, यदि गर्मी हुँदो हो त काखी र पसिना गनाएर वाक्वाकी हुन्थ्यो । तर पनि उभिँदा पाकेटमारको जगजगी जहिल्यै हुने । भिडमा कोही यसो च्यापिन आयो भने सशंकित हुनै पर्ने ।

यस्तै उकुसमुकुसमा दिनहुँको यात्रा मजस्ता हजारौँको दैनिकी बन्ने गरेको छ । जहाँ जता जानु किन नपरोस् शारीरिक र मानसिकरुपमा बलियो रहनेले मात्र सबै कष्ट झेल्न सक्लान् । नत्र हरेक दिन हरेक पल उकुसमुकुस र ठेलमठेलको सास फेर्न बाध्य हुनेछन् । हाम्रो दैनिकीजस्तै देशको कार्यव्यवस्था पनि उस्तै त छ, जहाँ हरेक दिन केही नयाँ आशा बाँडिए पनि हात लाग्यो शून्य भएको छ भन्दा फरक नपर्ला कि !

‘स्वयम्भू…स्वयम्भू’ सहचालकको आवाजसँगै बस रोकियो । घडी हेरेको साँझ ७.३० बज्दै थियो । भिड पन्छाउदै ओर्लिएँ । बडो आनन्दको लामो सास फेरेँ ।

ओहो, कस्तो आपत ! बल्लतल्ल एउटा माइक्रोमा एक सिट पाइयो । त्यही पनि उल्टो सिट, लामो बाटो भए त कहाँ सक्नु । छोटो गन्तव्य भएकाले एडजस्ट गरेरै भए पनि टिचिङ पुगेर झरेँ । लगभग ३ बजेको समयमा अस्पताल छिरेको थिएँ । नाक नै फुट्ला जस्तो । माक्स लगाउँदा पनि गन्धले वाक्क आउला जस्तो । आफन्त भेट्दा, बात मार्दा आधा घण्टा बडो मुस्किलले बिताएँ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस