आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

जगदम्बा तोडफोडः छानविन समितिले बुझायो प्रतिवेदन, स्थानियलाई कार्वाहि गर्न सुझाव

सुप्रिया ढकाल २०७८ आश्विन २, शनिबार (२ साल अघि) ७९८ पाठक संख्या

काठमाण्डौ । बारामा रहेको जगदम्बा स्टिल्स प्रालिमा भदौ ११ गते स्थानियद्धारा भएको तोडफोडको बिषयमा छानविन गर्न बनेको समितिले गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको छ । गृहमन्त्री बालकृष्ण खाँणको मन्त्रिस्तरीय निर्णयबाट गठन गरिएको छानबिन समितिले उक्त प्रतिवेदन शुक्रबार गृहमन्त्री खाँणलाई बुझाएको हो ।

 

छानबिन समितिले सरकारको तर्फबाट तोडफोडमा संलग्नको पहिचान गरी कानून बमोजिम कारवाही गर्न र औद्योगिक सुरक्षाको व्यवस्था प्रभावकारी बनाउन सुझाव दिएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा आज जारी विज्ञप्तिमा ग्यास चुहावटको सूचना प्राप्त भई इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले तोडफोड नियन्त्रणको प्रयास गर्दा गर्दै पनि उद्योगमा स्थानीयवासीको भीडले तोडफोड गरेको प्रतिवेदनमा उल्लेख रहेको जनाइएको छ ।

 

भदौ २१ मा मन्त्रालयका सहसचिव टेकराज निरौलाको संयोजकत्वको नौ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिले उद्योग सञ्चालन गर्दा औद्योगिक सुरक्षा मापदण्डको पालना गर्न, उद्योगबाट सृजना हुने प्रदूषण नियन्त्रण गर्न र उद्योगमा कामदार तथा कर्मचारी भर्ना गर्दा योग्यता पुगेका स्थानीयवासीलाई प्राथमिकता दिन पनि सुझाव दिएको छ । प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले प्राप्त सुझावका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी कार्यान्वयन गर्न मन्त्रालयको तर्फबाट पहल गरिने जानकारी दिनुभएको छ ।

 

यता स्थानिय जनताले छानविन समितिको प्रतिवेदन उद्योगको सुरक्षा र ब्यवस्थापनमा मात्रै केन्द्रित रहेको भन्दै टिप्पणी गरेका छन् । उद्योगको मनोमानीका कारण धुलो, धुवा तथा चर्को ध्वनीबाट पिडित बन्दै आएका स्थानियले उद्योगमा स्थापना गरिएको ग्यास प्लाण्टका कारण स्वास्थ्यमा झन् जटिल प्रभाव पर्दैै आएको गुनासो गरेका छन् ।

 

यद्धपी जनताको समस्यालाई नदेखे झै गरी उद्योगमैत्री प्रतिवेशन पेश भएको प्रती उनिहरु निराश भएका हुन् । भाद्र ११ गते एमोनिया ग्यास लिक हुदा वरपरका झण्डै २ सय घरधुरीका जनतालाई श्वासप्रश्वासमा समस्या भएको थियो । उल्टै उद्योगमा तोेडफोड गरेको निहुमा जनतालाई नै कार्वाहि गर्न सिफारिस भएको थाहा पाउदा दुःख लागेको स्थानिय पुजा थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस