आज:  २०७९ चैत्र १९, आईतबार | Sun, 02, Apr, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

चैत्र १० गते भोलीबाट शुरु हुने जीतपुरसिमरा गोल्डकपको १२औं संस्करणको तयारी पूरा

एपी खबर २०७८ चैत्र ९, बुधबार (१ साल अघि) ३९१ पाठक संख्या

चैत्र १० गते भोलीबाट शुरु हुने मोफसलकै प्रतिष्ठित फूटवल प्रतियोगिता जगदम्बा जीतपुरसिमरा गोल्डकपको १२औं संस्करणको तयारी पूरा भएको छ । आयोजक नव जनजागृति युवा क्लबले सिमरामा पत्रकार सम्मेलन गर्दै चैत्र १० गतेदेखी सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।

 

ए डिभिजनका पाँचसहित प्रतियोगितामा १० टिमको सहभागीता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए । लामाका अनुसार प्रतियोगितामा साविक बिजेता संकटा क्लब, एनआरटी क्लब, हिमालयन शेर्पा, फ्रेण्ड्स क्लब, एपिएफ एफसी, सुदुरपश्चिम ११, बिएफसी चितवन, बिजय युथ हेटौडा, वाग्मती युवा क्लब र आयोजक नव जनजागृति युवा सहभागी हुनेछन् ।

 

प्रतियोगिताको उद्घाटन खेल फ्रेण्ड्स क्लब र सुदुरपश्चिम ११ बीच हुनेछ । फल्ड लाईटमा हुने डे—नाईट प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ । आयोजकले यस वर्ष प्रथम पुरस्कार राशीमा तीन लाख र द्धितीय पुरस्कारमा एक लाख पचास हजार बृद्धि गरेको छ । ११औं संस्करणमा प्रथम पुरस्कार सात लाख र द्धितीय पुरस्कार तीन लाख पँचास हजार थियो ।

 

चैत्र १९ गतेसम्म संचालन हुने प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीले मोटरसाईकल वा स्कुटर प्राप्त गर्ने अध्यक्ष लामाले जानकारी दिए । प्रतियोगिता अवधीभरी उत्कृष्ट प्रदर्शन गर्ने विधागत पुरस्कारतर्फ गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षकले जनही २० हजार नगद प्राप्त गर्नेछन् । आयोजकले यस वर्षपनि उदयीमान स्थानिय खेलाडीलाई १५ हजार नगदले पुरस्कृत गर्ने भएको छ ।

 

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा र जगदम्बा स्टील्स्को मुख्य प्रायोजनमा हुने प्रतियोगिताको लागत करिब ८३ लाख रहेको छ । ११औं संस्करणमा प्रतियोगिताको अनुमानित लागत ७० लाख ५५ हजार थियो । १०औं संस्करणसम्म सिमरा गोल्डकपको नामबाट संचालन हुदै आएको प्रतियोगिता पछिल्लो संस्करणबाट जीतपुरसिमराको नाममा रुपान्तरित भएको हो । स्थानिय सरकारका रुपमा रहेको जीतपुरसिमरा उपमहानगरपालिकाले प्रतियोगिता सम्पन्न गर्नका लागि मुख्य सहयोगीको भूमिकामा सहयोग गर्दै आएको छ । अघिल्लो संस्करणमा २० लाख आर्थिक सहयोग उपलब्ध गराएको उपमहानगरपालिकाले यस संस्करणमा २५ लाख उपलब्ध गराउने भएको छ ।

 

मोफसलकै प्रतिष्ठित प्रतियोगिताको रुपमा पहिचान स्थापित गरिसकेको प्रतियोगितालाई यस वर्षदेखी सिमरामा रहेको जगदम्बा स्टील्स्ले मुख्य प्रायोजन गर्ने भएको छ । प्रतियोगिताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष लामा र जगदम्बा स्टील्स्का कर्पोरेट भाईस प्रेसिडेण्ड कृष्णदत्त भट्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

 

प्रतियोगितालाई सौर्य सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, सुर्य नेपाल, हुलास स्टील्स्, क्याल ग्रुप, अमृत घ्युले सहप्रायोजकको रुपमा सहकार्य गर्ने भएका छन् । अखिल नेपाल फूटवल संघ (एन्फा) टुर्नामेन्ट सर्पोटरको रुपमा रहेको प्रतियोगिताको प्रोमोटरमा नेपाल पर्यटन बोर्ड रहेको छ । प्रतियोगिता अवधीभरका लागी वीरगन्जस्थित लुम्बिनी जनरल ईन्स्युरेन्सले खेलाडी, अफिसियल, स्वयंसेवक, पत्रकारलाई १० लाख र एक सय ३० जना दर्शकलाई पाँच लाखको विमा गर्ने भएको छ ।

 

प्रतियोगिता सफल पार्न सिमरास्थित युआर अटोमेटिक लन्ड्री, मुनसाईन टेक्नोलोजी, सुसप्त मेडिकल हल प्राविधिक सहयोगीको भूमिकामा रहने भएका छन् ।

 

पत्रकार सम्मेलनमा जगदम्बा स्टील्स्का प्रशासन शाखा प्रमुख गोविन्द गुराँगाई, क्लबका पूर्वअध्यक्ष राजकुमारलगायत क्लबका पदाधिकारीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस