काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई गृह मन्त्रालय दिने कि नदिने भन्ने विषयमा छलफल भएको छ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहाललाई भेट्न एमाले अध्यक्ष ओली शुक्रबार बिहान बालुवाटार पुगेका हुन्।
आजको भेटवार्तामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिने कि नदिने भन्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सर्वोच्च अदालतले स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरेपछि गृहमन्त्रीबाट राजीनामा दिएका थिए। लामिछानेले आफूलाई फेरि गृहमन्त्री नियुक्त गर्नुपर्ने माग गरिरहेका छन्।
स्वतन्त्र पार्टीले पनि गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने धम्की दिएको छ। माघ १९ गते बसेको स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री दाहाललाई दुई दिनको ‘अल्टिमेटम’ दिएको थियो। स्वतन्त्र पार्टीले दिएको समय आज सकिँदै छ।
यस विषयमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल भएको हो। एमाले अध्यक्ष ओली स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिनुपर्ने बताउँदै आएका छन्। तर, प्रधानमन्त्री दाहाल भने सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआउँदासम्म कसैलाई पनि गृह मन्त्री नबनाउने पक्षमा देखिएका छन्।
त्यस्तै, दाहाल र ओलीबीच राष्ट्रपतिको निर्वाचनका विषयमा पनि छलफल भएको छ। निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २६ गते र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते तोकेको छ।
राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न चर्चा परिचर्चा भइरहेका छन्। माओवादी स्थायी समितिले बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिएको छ।
त्यस्तै, एमाले नेताहरू भने सत्तारुढ गठबन्धनमा एमालेलाई राष्ट्रपति दिने सहमति भएकाले आफ्नो उम्मेदवारमै सहमति गर्नुपर्नेमा जोड दिँदै आएका छन्। यहि विवादबीच एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग राष्ट्रपति निर्वाचनका विषयमा छलफल गरेका हुन्।
प्रतिक्रिया दिनुहोस