काठमाडौं– नेपालले यूएईमाथि १७७ रनको ऐतिहासिक जीत हासिल गर्दै वनडे इन्टरनेशनलको मान्यतासमेत जोगाएको छ । आईसीसी विश्वकप क्रिकेट लिग टूको आइतबारको खेल नेपाल र यूएई दुबैका लागि उत्तिकै महत्वपूर्ण थियो ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालको ओपनिङ खराब रहे पनि मध्यक्रममा ब्याटरहरुले सम्हालिएर खेलेपछि नेपालले २४८ रनको सम्मानजनक योगफल खडा गरेको थियो ।नेपालका लागि कप्तान रोहित पौडेलले १ सय १२ बलमा ७७ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान पौडेलले ९ चौका प्रहार गरेका थिए ।
दीपेन्द्र सिंह ऐरीले १९ बलमा विष्फोटक ३४ रन बनाए । आरिफ शेखले ५२ बलमा ४३ रन बनाउँदा गुलसन झाले ३२ बलमा ३७ रन बनाए । झाले ३ छक्का र १ चौका प्रहार गरेका थिए । भिम सार्कीले ३७ बलमा २९ रन बनाए ।दोस्रो ओभरमा नै पहिलो विकेट गुमाएको नेपालले ७ ओभर १ बलमा ३ विकेट गुमाएको थियो । चौथो विकेटका लागि कप्तान रोहित पौडेलले भिम सार्कीले अर्धशतकिय साझेदारी गरेका थिए । ७६ रन हुँदा चौथो विकेट गुमाएको थियो ।
चौथो विकेटपछि क्रिजमा आएका आरिफ शेख र रोहित कुमार पौडेलबीचमा अर्धशतकीय साझेदारी भएसँगै नेपाल बलियो स्थितिमा पुगेको थियो ।त्यसपछि ब्याटिङ गर्न आएका यूएईका ब्याट्सम्यानहरु नेपाली बलरसामु निरिह सावित भए ।ललित राजवंशीको पाँच विकेट प्रेरित आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको दोस्रो खेलमा यूएईलाई २२.५ ओभरमा अलआउट गर्दै वनडे इन्टरनेशनलको मान्यता सुरक्षित गरेको छ ।
नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएई २२.४ ओभरमा ७१ रन बनाउँदै अलआउट भयो ।जीतसँगै नेपाल ३६ अंक जोडेर अमेरिकालाई पछि पार्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा ३९ अंकसहित रहेको नामिबियालाई पछि पार्दै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन बाँकी दुई खेल जित्नुपर्ने दवाव नेपाललाई छ ।
प्रतिक्रिया दिनुहोस