आज:  २०८० जेष्ठ १९, शुक्रबार | Fri, 02, Jun, 2023
FLASH NEWS

जनताको अवस्था बदल्न सरकार दृढ संकल्पित छः प्रधानमन्त्री दाहाल

एपी खबर २०७९ चैत्र ११, शनिबार (२ महिना अघि) ५८ पाठक संख्या

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले बदलिएको राजनीतिक व्यवस्थाअनुरुप जनताको अवस्था बदल्न सरकार दृढ संकल्पित रहेको बताएका छन्।आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न केन्द्रित रहेको दोहोर्‍याउँदै प्रधानमन्त्री दाहालले त्यसका लागि आफूले राष्ट्रिय सहमति र सहकार्यमा जोड दिएको पनि स्पष्ट पारे।

 

शनिबार लायन्स क्लब अफ इन्टरनेशनद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकमा विद्यमान समस्याहरुको समाधानका लागि सरकारलाई साथ दिन निजी क्षेत्र, सामाजिक संंघ, संस्था र नागरिक अगुवाहरुलाई समेत आग्रह गरे।

 

उनले भने, ‘वर्तमान सरकार राज्य, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक आन्दोलनको सहकार्यको आधारमा देशमा विद्यमान आर्थिक, राजनीतिक चुनौतीहरु छिचोल्दै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न संकल्प गर्दछ। बदलिएको राजनीतिक व्यवस्थाअनुरुप जनताको अवस्था बदल्नु, निराशालाई चिर्दै देशमा आशाको रक्त सञ्चार सृजना गर्नु, राष्ट्रिय सहमति र सहकार्यका आधारमा चुनौतीहरुलाई अवसरमा बदल्नु मेरो दृढ संकल्प रहेको छ।’

 

प्रधानमन्त्री दाहालले दूरदराजमा रहेका विपन्न सबै समुदायसम्म पुगेर त्यहाँका युवाहरुको नेतृत्व विकास गर्ने गरी नीति, कार्यक्रम र कार्ययोजना बनाउन पनि लायन्स क्लबको ध्यानाकर्षण गराए।उनले मुलुकको पछिल्लो विकसित परिस्थिति र समावेशी लोकतन्त्रको मान्यताअनुसार सामाजिक संघ, संस्थाहरुले पनि आफ्नो कार्यक्षेत्रको दायरा फराकिलो बनाउन जरुरी रहेकोसमेत बताए।

प्रतिक्रिया दिनुहोस