काठमाडौँ– नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ ।शुक्रबार अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो । यस्तै एमालेले विभागहरूमा सदस्यहरूको मनोनयन समेत गरेको छ । गत सोमबार बसेको सचिवालयको बैठकको निर्णयअनुसार नेताहरूको जिम्मेवारी हेरफेर भएको हो ।
एमालेले केन्द्रीय कार्यालयको व्यवस्थापनमा रहेको बागमती प्रदेशको इन्चार्ज गुरु बराललाई तोकेको छ।त्यस्तै, काठमाडौँ महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई काठमाडौँको तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इन्चार्ज तोकिएको छ ।एमालेले चुनावको बेला बागी/विद्रोही भई कारबाहीमा परेका तर आत्माआलोचना गरी सदस्यता नवीकरण गर्न चाहनेहरूकाे पार्टी सदस्यता नवीकरण गर्न अनुमति दिने निर्णय पनि गरेको छ ।
अन्तर्घात गर्ने र पार्टीविरोधी गतिविधिमा संलग्नहरूलाई सम्बन्धित कमिटीले कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिइएको छ ।पार्टी र जनसङ्गठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा तीन अग्रज नेताहरू संस्थापक महासचिव पुष्पलाल, मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त पार्टी अध्यक्षबाहेक अरूको फोटो प्रयोग नगर्ने निर्णय भएको एमालेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस