आज:  २०८० मंसिर १७, आईतबार | Sun, 03, Dec, 2023
FLASH NEWS

जाजरकोट भूकम्पमा परि घाइते भएका ४८ जना निको भएर घर फर्किए

एपी खबर २०८० कार्तिक २८, मंगलबार (२ हप्ता अघि) १७ पाठक संख्या

बाँके – जाजरकोट भूकम्पमा घाइते भइ नेपालगञ्जमा रहेकाे भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ जना बिरामी निको भएर घर फर्किएका छन् । अब भूकम्पमा परि घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेका जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो।

 

‘सबैजसो बिरामी निको भएर घर फर्किसक्नुभएको छ, अब भेरीमा शल्यक्रिया गरिएका छ जना बिरामीमात्रै हुनुहुन्छ’, उहाँले भन्नुभयो, ‘उहाँहरुको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको ‘पेइङ वार्ड’मा राखेर उपचार भइरहेको छ ।’भूकम्पमा परि घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको थियो । बिरामी निको भएर घर फर्किएपछि वार्ड खाली गराइएको स्रोत व्यक्ति श्रेष्ठले बताउनुभयो ।

 

भूकम्पमा परि घाइते भइ भेरीमा उपचार गर्न ल्याइनुभएका ५८ जनामध्ये यसअघि ४८ जना बिरामी उपचारपश्चात् निको भएर घर फर्किसक्नुभएको छ । तीन जनालाई काठमाण्डाै रेफर गरिएको थियो भने एकजनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएकाे थियाे ।निको भएर घर फर्किनुभएका बिरामीलाई घरसम्म पुग्न विभिन्न सङ्घ संस्थाको समन्वयमा निःशुल्क यातायातको व्यवस्था गरिएकाे बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

 

यही कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टरस्केलकाे भूकम्प गएको थियो ।याे भूकम्पमा परि एक सय ५४ जनाको ज्यान गएकाे छ भने तीन सय ४६ घाइते भएका छन्। भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको थियो।

प्रतिक्रिया दिनुहोस