काठमाडौं , मङ्सिर २८ : सांसद टेकबहादुर घर्ती अस्ताए । उहाँलाई आधुनिक विज्ञानले बचाउन सकेन । मनका सबै सपना अघुरै रहे । जनतालाई गरेका प्रण क्षणभरमै उजाडिए । एक मलजल गरेर हुर्किएको बिरुवा फल दिन नपाइ ओलिएर गयो । लागेका केही फलहरु झरेर गए । फल टिप्नलाई समेत बाँकी रहेनन् कोही । ठूलो सपना बुनेका घर्ती प्रदेशसभा सदस्य जितेकै केही समयमा थला पर्नुभयो । ८ महिनाअघि जन्डिसले पीडित बन्नुभएका उहाँलाई न त विज्ञानले काम ग¥यो न झारफुकले । कलेजोमा अएको खराबीले नेपालमा उपचार सम्भव नठानेपछि उहाँलाई थप उपचारका लागि भारतको एपोलो अस्पताल भर्ना गरियो । सञ्चो हुने आश्वासन पाएका उहाँको स्वास्थ्य प्रतिकुल बन्दै गयो । अन्ततः संसारबाट अस्ताउनुको विकल्प रहेन । बिहिबारमात्रै उपचारको क्रममा उहाँको भारतको नयाँदिल्लीस्थित एपालो अस्पतालमा निधन भएको हो ।
बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित घर्ती राष्ट्रिय जनमोर्चाका क्रियाशील जिल्ला सदस्य हुनुहुन्थ्यो । विकासको सपना बाँडेर र त्यहाँका जनताले पत्याएर निर्वाचनमा जितेका थिए घर्तीले । शालीन, भद्र र साधारण स्वभावले पनि देशको सानो दल जनमोर्चाबाट जनताको मन जित्न सफल हुनुहुन्थ्यो उहाँ । बाग्लुङको विकासका लागि उहाँको त्यतिकै देन छ । राजनीतिक यात्रामा प्रवेश गरिसकेपछि उहाँ जनताको दुःखलाई शीरोधार्य गर्दै अगाडि बढ्नुभयो । उहाँलाई गुमाउनुको पीडा परिवारलाई मात्रै होईन, सिंगो बाग्लुङबासीलाई परेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्रीले सांसद घर्तीलाई यसरी सम्झिनुभयो– ‘उहाँ एक निडर र सच्चा व्यक्ति हुनुहुन्थ्यो, उहाँको निधनले गण्डकी प्रदेश स्तब्ध छ मृतआत्माको चिरशान्तीको कामना गर्दै शोकाकुल परिवारजनप्रति धैर्यधारण गर्नै शक्ति मिलोस् ।’
जीवन सहज थिएन
घर्तीको जन्म २०२८ साल कात्तिकमा भएको थियो । उहाँ सानै छँदा चञ्चले स्वभावको हुनुहुन्थ्यो । खेलप्रति रुची राख्ने घर्तीलाई जीवनले एउटा असल राजनीतिक यात्रामा डो¥याएको थियो । जीवनका विभिन्न अड्चन झेल्नुभएका उहाँ राजनीतिक जीवनमा सफल हुँदै जानुभएको थियो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदै प्रदेशसभा सांसद बन्न सफल हुनुभयो । तर, घर्तीको जीवन भने त्यही सफल रहेन । विस्थापित हुनु पहिल्यै उहाँको पारिवारिक सम्बन्ध बिग्रियो । पहिलेको श्रीमतीलाई छोड्नुप¥यो । दोस्रो विवाह गरेपछि दुई छोरा र चार छोरी जन्मिए । पहिलेकोबाट एक छोरी छन् । सामान्य किसान परिवारमा जन्मिनुभएका उहाँको बाल्यकाल सहज थिएन । राजनीतिक यात्रामा आउनु त विरलै । तर, समयले उहाँलाई परिपक्व बनाउँदै लग्यो । अन्नतः उहाँ जनप्रीय नेता स्थापित हुनुभयो ।
बुवा–छोराको भिन्न स्वभाव
घर्तीका वुवा पञ्चायती व्यवस्थाका समर्थक हुनुहुन्थ्यो । गाउँका मुखिया, बहुदल आएपछि पनि बुवाले मुख्यौली चलाउनुभयो । जहिलेपनि उहाँले पञ्चायतको गुणगान गाउनुभयो । ठूलाबडालाई जहिले सम्मान गर्नुपर्ने र सानाप्रतिको व्यवहारमा कहिल्यै परिवर्तन आएन । तर, सांसद घर्तीलाई यो बिषयले पिरोल्थ्यो र उहाँको राजनीतिक जीवनमा बुवाकै कारण केही सहज भएपनि उत्तिकै अप्ठ्यारा थिए । मुखियाहरुले गाउँका मानिसलाई देखाउने प्रवृत्ति र व्यवहार छोरालाई मन परिरहेको थिएन । तर, बुवा मुखिया भएपनि उहाँसँस प्रशस्त सम्पत्ति भने थिएन । घर्तीले मानिसहरुबीचको व्यवहार समान हुनुपर्छ भन्ने सिद्धान्तलाई कहिल्यै बिर्सनुभएन । उहाँको लडाइँ गाउँमा मात्रै होइन घरबाटै शुरु गर्नुपर्ने बाध्यता थियो । उहाँको बुवालाई यो प्रवृत्ति पटक्कै मन परेको थिएन । तर, घर्ती जुधिरहनुभयो पञ्चायती व्यवस्थासँग । बागलुङ ढोरपाटन सैखोलामा जन्मनुभएका घर्ती देशमा बहुदल आउँदा जम्मा ११ वर्षका हुनुहुन्थ्यो । उहाँ आफ्नै उमेरमा कम्युनिससँग नजिक हुनुहुन्थ्यो । चित्रबहादुर केसी नेतृत्वको पार्टीको विद्यार्थी संगठन अखिल (छैठौं) बाट उहाँको राजनीतिक यात्रा प्रारम्भ भएको थियो ।
वर्गीय समानताको कुरा गर्ने घर्ती पञ्चायतको बेला अप्ठ्यारोमा हुनुहुन्थ्यो । माओवादीले सशस्त्र द्वन्द्वको सुत्रपात गरेका बेला उहाँ अखिल छैठौंमा आबद्ध हुनुहुन्थ्यो । उहाँमा कम्युनिस्ट स्वभाव भएतापनि हतियारको लडाईं होइन, शान्तिपूर्ण संघर्ष गर्नुपर्ने भिजन थियो । ‘उहाँ अन्याय र अत्याचारकाविरुद्ध बोल्नुहुन्थ्यो, समानताको कुरा गर्नुहुन्थो, उहाँका दाई चन्द्रबहादुर घर्तीले भन्नुभयो– भाइले कहिल्यै हतियार उठाउने कुरा गरेन, माओवादी सशस्त्र संघर्षको विरोध गर्दा कुटाइ खानु परेको थियो ।’ ‘सशत्र संघर्षका बेला ढोरपाटन सैखोलामा पसल थियो, माओवादी सशत्र संघर्ष चर्किएका बेला पसल लुटियो, भाई अपहरणमा प¥यो ३ महिना अपहरणमा परेर गाउँबाटै विस्थापित भएका थियौँ, चन्द्रबहादुरले भन्नुभयो ।











प्रतिक्रिया दिनुहोस