अमेरिका : जो बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचित हुन आवश्यक इलेक्टोरल मत सङ्ख्या २७० नाघेको प्रक्षेपण भइसकेका छन् । तर अब के हुन्छ ?
उनले तत्कालै आफ्ना सरसामान बोकेर अमेरिकी राष्ट्रपति निवासको ठेगाना–१६०० पेन्सिल्भानिया एभेन्यू–मा पुग्न पाउने छैनन् । त्योभन्दा अगाडि केही प्रक्रिया बाँकी छन् ।
सामान्यतया यी प्रक्रिया सहजतापूर्वक पूरा गरिन्छन् । तर, यसपालि भने पराजित राष्ट्रपति ट्रम्पले मुद्दा हाल्ने भनेका कारण केही जटिलता देखा पर्न सक्छन् ।
जो बाइडन कहिले बन्छन् राष्ट्रपति ?
अमेरिकी संविधानमा लेखिए अनुसार हरेक नयाँ राष्ट्रपतिको कार्यकाल ज्यानुअरी २० तारिखको मध्यान्हबाट शुरु हुन्छ ।
राजधानी वाशिङ्टन डिसीमा आयोजना गरिने शपथ ग्रहण समारोहमार्फत् यो कार्यकाल प्रारम्भ गरिन्छ । नयाँ राष्ट्रपति तथा उपराष्ट्रपतिले सर्वोच्च अदालतका प्रधानन्यायाधीशबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्छन् ।
त्यसैले जो बाइडेन र कमला ह्यारिसले ज्यानुअरी २० मा शपथ लिनेछन् ।
संविधानमा उल्लेखित यो समयतालिका अपवादका समयमा भने फेरबदल हुनसक्छ । उदाहरणका लागि कार्यकालकै दौरान यदि कुनै राष्ट्रपतिको निधन भएमा वा राजीनामा गरेमा उपराष्ट्रपतिलाई छिटोभन्दा छिटो शपथ दिलाइन्छ ।
राष्ट्रपतीय संक्रमणकाल भनेको के हो ?
यो अवधि भनेको निर्वाचन नतिजा आइसकेको र ज्यानुअरी २० अगाडिको समय हो । निर्वाचित राष्ट्रपतिले आफ्नो समूह गठन गर्छन् जसलाई ट्रान्जिसन वा संक्रमण टोली भनिन्छ ।
उक्त टोलीले आगामी प्रशासनका वरिष्ठ अधिकारीहरूको चयन गर्छ र नीतिको प्राथमिकता तोक्छ। अर्थात् शासनको तयारी गर्छ ।
सो टोलीका सदस्यहरूले संघीय निकायका अधिकारीहरूसँग समन्वय गरेर कुनै महत्त्वपूर्ण समयतालिका वा बजेट वा कर्मचारी जिम्मेवारीबारे जानकारी लिन्छन् ।
तिनले यो जानकारी अब नियुक्त हुने प्रशासनका अधिकारीका निम्ति उपलब्ध गराउँछन् । शपथ ग्रहणपश्चात् पनि टोली क्रियाशील रहन्छ र त्यसका केही सदस्य कुनै पदमा नियुक्त पनि हुनसक्छन् ।
बीबीसी नेपाली सेवाका अनुसार सन् २०१६ मा राष्ट्रपति बराक ओबामाले आफ्ना उत्तराधिकारीमा निर्वाचित डोनल्ड ट्रम्पलाई ओभल अफिसमै भेटेका थिए । त्यतिखेर दुईबीच विद्यमान चिसो सम्बन्ध फोटोमा पनि झल्किएको थियो जुन यद्यपि छँदैछ ।
जो बाइडनले महिनौ लगाएर आफ्नो संक्रमण टोली गठन गरेका छन् र त्यसलाई परिचालन गर्न चन्दा संकलन गरेका छन् । गत साता त्यससम्बन्धी वेबसाइट पनि शुरु गरियो ।
आउने केही दिन धेरै सुनिने शब्दहरू
राष्ट्रपति–निर्वाचित : जब कुनै उम्मेदवारले चुनाव जित्छ तर ज्यानुअरी २० मा हुने शपथ ग्रहण समारोह भइसकेको हुँदैन उनलाई यो अवधिमा राष्ट्रपति–निर्वाचित भनिन्छ ।
क्याबिनेट : जो बाइडनले अब छिटै नै उनको क्याबिनेटमा को को हुनेछन् भनेर घोषणा गर्न थाल्नेछन् । प्रशासनका उच्च पदस्थ टोली नै क्याबिनेट हो ।
यसमा सबै डिपार्टमेन्ट ९मन्त्रालय जस्तै०का प्रमुख अनि मुख्य निकायहरूका प्रमुख पर्छन् ।
अनुमोदन सुनुवाइ : सरकारका कैयन् प्रमुख पदहरूमा राष्ट्रपतिले मनोनित गरेका व्यक्तिहरूलाई सिनेटको अनुमोदन आवश्यक पर्छ । बाइडनले मनोनित गरेकाहरूलाई सिनेटले सुनुवाइ गरेर सोधपूछ गर्छ अनि मतदानमार्फत् या त स्वीकार या त अस्वीकार गर्छ ।
सेल्टिक : राष्ट्रपति–निर्वाचितको रूपमा बाइडनले सिक्रेट सर्भिसबाट थप सुरक्षा पाउनेछन् र ती निकायका प्रयोजनको निम्ति उनको छद्म नाम सेल्टिक रहनेछ । यी नाम उम्मेदवार आफैँले चयन गर्छन् । ट्रम्पले मोगुल रोजेका थिए भने कमला ह्यारिले पायोनियर रोजेको बताइन्छ ।
के कानुनी चुनौती होलान् ?
लगभग निश्चित् छ । ट्रम्पले हालै बाइडनले जित दाबी गरेकाु सबैजसो राज्यहरूमा मतगणनाको नतिजाविरुद्ध कानुनी चुनौती दिने बताएका छन् । ट्रम्पको टोलीले यो कामका निम्ति आवश्यक वकिलहरू खोजिरहेको बताइन्छ ।
हुलाकमार्फत् प्राप्त मतपत्रलाई रद्द गर्न उनीहरूले शुरुमा राज्यका अदालतहरूमा ढोका ढक्ढक्याउनेछन् । तीमध्ये केही मुद्दा सर्वोच्च अदालतसम्म पुग्ने ठानिन्छ । तर, कानुनविद्हरूका अनुसार त्यस्ता मुद्दा मतपरिणाम उल्ट्याउन सफल हुने कमै सम्भावना छ ।
साथै केही राज्यमा ट्रम्पको टोलीले आग्रह गरेजस्तै पुनः मतगणना हुनसक्छ तर तिनले पनि परिणाम फेरबदल गर्ने ठानिँदैन ।
ट्रम्पले नतिजा स्वीकार नगरे के हुन्छ ?
उत्तर अमेरिका सम्वाददाता एन्थोनी जर्कर :
बीबीसीले जनाए अनुसार डोनल्ड ट्रम्पले पहिले नै नतिजाबारे चुनौती दिने बताएका थिए । यदि उनका ती प्रयास सफल भएनन् भने हार स्वीकार्न उनीमाथि चर्को सार्वजनिक दबाव पर्नेछ । तर के उनले ती दबाव मान्नैपर्छ ?
अमेरिकी राजनीतिमा पराजित उम्मेदवारले विजयी उम्मेदवारलाई फोन गरेर हार स्वीकार्ने एउटा सम्मानित परम्परा रहँदै आएको छ । तर, त्यो अनिवार्य व्यवस्था भने होइन ।
सन् २०१८ मा जोर्जिया राज्यमा डेमोक्र्याटिक पार्टीकी गभर्नर उम्मेदवारले धाँधली भएको भन्दै रिपब्लिकन प्रतिद्वन्द्वी ब्रायन केम्पसँग हार स्वीकार नै गरिनन् ।
तर, राष्ट्रपतीय निर्वाचनका हकमा आधुनिक कालमा यस्तो स्थिति आइपरेको छैन । जे होस् जोर्जियाको उदाहरण हेर्ने हो भने पनि पराजित उम्मेदवारले जेसुकै गरेपनि यदि निर्वाचनको नतिजा वैध रूपमा स्थापित भयो भने सरकारी संयन्त्र स्वाभाविक रूपमा अगाडि बढ्छ ।
ट्रम्पले पराजय स्वीकार गर्न जरुरी छैन र हँसिलो मुहार पारेर बाइडनको शपथ ग्रहण समारोहमा उपस्थित हुन पनि जरुरी छैन । तर उनका केही कानुनी दायित्व भने छन् ।
उनले आफ्नो प्रशासनलाई आउने नयाँ प्रशासनका निम्ति बन्दोबस्तीका तयारी गर्न अनुमति दिनुपर्छ । त्यस्तो काम राष्ट्रपतिले गरिसकेको ट्रम्पका अधिकारीहरूले बताएका छन् ।
राष्ट्रपतिमा निर्वाचित हुँदा ट्रम्प परम्परागतभन्दा भिन्न व्यक्तित्वसहित ह्वाइट हाउस भित्रिएका थिए। जाँदा पनि उनले चाहे त्यही शैलीमा उनी बाहिरिन सक्छन् ।
संकमणका बेला कमला ह्यारिसको कर्तव्य के हुन्छ ?
अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित पहिलो महिला कमला ह्यारिसले आफ्ना कर्मचारी नियुक्त गर्नुका साथै आफ्नो कामबारे विगतका प्रशासनबाट जानकारी लिनेछिन् ।
उपराष्ट्रपतिले ह्वाइट हाउसको वेस्ट विङ्मा बसेर काम गर्नुपर्छ । तर, उपराष्ट्रपतिको निवास भने वेग्लै हुने गर्छ ।
परम्परागत रूपमा उपराष्ट्रपतिहरू अमेरिकी नेभल अब्जरभेटरीको परिसरमा बस्ने गर्छन् जुन ह्वाइट हाउसभन्दा १० मिनेट परतिर शहरको उत्तर–पश्चिमी क्षेत्रमा पर्छ । उनका पति डग एमहफ वकिल हुन् र मनोरञ्जन उद्योगमा काम गर्छन् ।
उनको पहिलो विवाहबाट दुई सन्तान–कोल र एला–छन् जसले कमला ह्यारिसलाई स्नेहपूर्वक ुमोमालाु भन्ने गर्छन् ।
ह्वाइट हाउसमा सर्नु कस्तो हुन्छ ?
सन् १८०० मा जब राष्ट्रपति दम्पती जोन र एविगेल एडम्स त्यहाँ सरे त्यतिखेरभन्दा अहिले ह्वाइट हाउसमा सर्नु निकै सहज छ । त्यतिखेर त ह्वाइट हाउस निर्माणाधीन थियो ।
अचेल केवल समयक्रममा त्यहाँका फर्निचर र अन्य सरसामान फेरबदल गर्नु जरुरी हुन्छ जसको निम्ति अमेरिकी कँग्रेसले पैसा छुट्ट्याइदिएको हुन्छ ।
ह्वाइट हाउसमा १३२ वटा कोठाहरू र ३५ बाथरुम छन् ।
फेसनको दुनियाँमा काम गरेको हुनाले वर्तमान प्रथम महिला मेलानिया ट्रम्पले ह्वाइट हाउसमा थुप्रै सुधार गरेकी थिइन् र क्रिसमसको समारोहका निम्ति साजसज्जा पनि गर्दै आएकी थिइन् ।











प्रतिक्रिया दिनुहोस