यही वैशाख १२ गते शुक्रबारदेखि शुरू हुने संसद्को बर्खे अधिवेशन शनिबार र सार्वजनिक बिदाबाहेकका सबै दिनमा सञ्चालन हुने भएको छ ।
बुधबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा शनिबार र सार्वजनिक बिदाबाहेकका सबै दिनमा संसद् चलाउने सहमति भएको छ ।
सभामुख घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गरेका थिए । बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको सभामुखको सचिवालयले जनाएको छ ।
सोहीबमोजिमको क्यालेन्डर वैशाख १२ गते बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ ।
‘संसद्लाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व ऐनको व्यवस्था बमोजिम पूर्वबजेट छलफल तथा बजेटको चाप परेको छ’, बैठकमा सभामुख घिमिरेले भने, ‘विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसद्को छ । शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ । उहाँले मलाई समेत भेटेर पहल गरिदिन भन्नुभएको छ ।’
उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसद्ले तयारी गरेको सभामुख घिमिरेले बताए ।
‘जुनसुकै दिन विधेयक संसद्मा प्रस्तुत गर्ने गरी क्यालेन्डरमा सुरक्षित गर्नेछौं । समितिको प्रतिवेदन आएलगत्तै संसद्ले पारित गर्ने प्रक्रिया शुरू गर्छ । निजामती विधेयक पनि समितिबाट आउने अवस्थामा छ’, सभामुख घिमिरेले भने,‘नीति तथा कार्यक्रम र बजेटका प्राविधिक सीमालाई ध्यान दिँदै शिक्षा, निजामती लगायतका विधेयक यही अधिवेशनमा पारित गर्न तयारी अवस्थामा रहनुपर्दछ ।’











प्रतिक्रिया दिनुहोस