रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ। प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचारपछि अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न सेन्टर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणि गिरीले जानकारी दिए।
प्रहरीका अनुसार माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैँचामा पासवानले आफैँले शरीरमा डिजेल खन्याई आगो लगाएका थिए। स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी माधोपुर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनलाई उद्धार गरी तत्काल अस्पताल पु¥याएको थियो।
प्रहरी स्रोतका अनुसार उनको टाउकोसहित शरीरको धेरै भाग जलेको छ र बोल्नसमेत गाह्रो भएको छ।
गत शनिबार राति गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक २६ वर्षीया रुबी देवी साहको शव सुटकेसभित्र फेला परेको थियो। शव डोरीले बाँधिएको अवस्थामा भेटिएकोले यसलाई योजनाबद्ध हत्या मानिएको हो।
अनुसन्धानका प्रारम्भिक तथ्यअनुसार, पासवानले गौरस्थित डेरामा रुबीको हत्या गरी शव सुटकेसमा हालेर इ–रिक्सामा लैजान खोजेका थिए। तर, रिक्सामा समस्या आएपछि सुटकेस त्यही छाडेर भागेको प्रहरीको दाबी छ।











प्रतिक्रिया दिनुहोस