नेपालमा दक्षिण कोरियाली कम्पनीले हरित हाइड्रोजन र फ्युल सेल प्लान्ट स्थापना गर्ने भएको छ । यसनिम्ति लगानी बोर्ड र दक्षिण कोरियाको जी–फाइलोस को–अपरेटिभ लिमिटेडका पदाधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
बिहीबार (भदौ १२) काठमाडौंमा आयोजित कार्यक्रममा दुई पक्षबीच विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न सहमति गरिएको हो । यो परियोजना सफल भएमा नेपालमा पहिलोपटक हरित हाइड्रोजन उत्पादन र फ्युल सेल प्रविधि भित्रनेछ ।
सम्झौताअनुसार कोरियाली कम्पनीले प्रविधि, अनुभव र लगानीका सम्भावना प्रश्तुत गर्नेछ । लगानी बोर्ड नेपालले आवश्यक नीतिगत तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।
हरित हाइड्रोजनलाई भविष्यको शुद्ध ऊर्जा स्रोत मानिँदै आएको छ । यसले नेपालमा नवीकरणीय ऊर्जाको दायरा थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।
यो परियोजनाले नेपालमा वातावरणमैत्री उद्योग विस्तार, रोजगारी सिर्जना र दिगो ऊर्जा सुरक्षामा योगदान पु¥याउने विश्वास गरिएको छ ।
लगानी बोर्डका अनुसार, फिलोसले सात अर्ब रुपैयाँभन्दा बढी लगानीको प्रस्ताव गरेको छ । कम्पनीले ग्रीन हाइड्रोजन अध्ययनलगायत काम गर्नेछ । कम्पनीले २० मेगावाट क्षमताबाट हाइड्रोजन उत्पादन थाल्नेछ ।
कम्पनीले कहाँ प्लान्ट बनाउने यकिन भइसकेको छैन । नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट स्थापनाका निम्ति यो पहिलो विदेशी लगानीसम्बन्धी प्रस्ताव हो ।
उक्त प्लान्टले नेपालको खेर जाने जलविद्युत्बाट प्रयोग गरी इलेक्ट्रोलाइसिस विधि (पानी र विद्युत्को रासायनिक प्रक्रिया)मार्फत हरित हाइड्रोजन उत्पादन गर्ने लक्ष्य राखेको छ । ग्रीन हाइड्रोजनलाई स्टिल तथा मल उद्योग, अमोनियम नाइट्रेट उत्पादन एवं भण्डारणमा प्रयोग गर्न सकिनेछ ।
गएको जेठ १३ गते बसेको लगानी बोर्डको ६३औँ बैठकबाट उक्त कम्पनीलाई नेपालमा ग्रीन हाइड्रोजन उत्पादनको पाइलट प्लान्ट र फ्युल सेल स्थापनाका निम्ति विस्तृत सम्भाव्यता अध्ययनको अनुमति दिइएको थियो ।
एमओयू कार्यक्रममा लगानी बोर्डका सीईओ सुशील ज्ञवाली, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायत अधिकारीको उपस्थिति थियो ।











प्रतिक्रिया दिनुहोस