आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

दशैँ शुरु, खाँडादेवीमा राखियो जमरा

एपी खबर २०८२ आश्विन ५, आईतबार ( ५ महिना अघि) १७१ पाठक संख्या

पितृपक्षको समापनसँगै नेपालीहरूको महान् चाड दशैँ औपचारिक सुरुवात भएको छ। देशभर भोलि घटस्थापना गरी जमरा राखिँदै छ तर रामेछापको ऐतिहासिक शक्तिपीठ खाँडादेवी मन्दिरमा भने घटस्थापनाको एक दिनअगावै आजै जमरा राखिएको छ।

 

 

जनविश्वासअनुसार, सर्वसाधारणले लगाउने जमरा घटस्थापनाका दिन राखिने भए पनि देवीलाई चढाउने जमरा अघिल्लो दिन नै राख्ने परम्परा छ। यही परम्पराअनुसार खाँडादेवी विकास कोषले मन्दिरमा जमरा राख्ने कार्यक्रम आयोजना गरेको थियो। यो कार्यसँगै मन्दिरमा दसैँ विशेष बलि र पञ्चबली पनि खुलेको छ, जसपछि यहाँ भक्तजनको भीड लाग्न सुरु हुनेछ।

 

 

खाँडादेवीलाई एक प्राचीन शक्तिपीठ मानिन्छ, जसको चर्चा देवीभागवत महापुराण र शिवपुराणको हिमवत खण्डमा पनि गरिएको छ। किरातकालदेखि नै यहाँ पूजाआजा हुने गरेको विश्वास गरिन्छ।

 

 

जनश्रुतिअनुसार, नेपाल एकीकरणका क्रममा राजा पृथ्वीनारायण शाहले सिन्धुलीगढीपछि खाँडादेवीलाई सहायक गढी बनाएका थिए। उनले युद्ध जित्नका लागि खाँडादेवीसँग आशीर्वाद लिएको र युद्धपछि खाँडादेवीको शिला दरबार लैजान खोज्दा तीन पटकसम्म बाटोमै हराएर पुनः मन्दिरमै फर्केको विश्वास गरिन्छ। त्यसपछि पृथ्वीनारायण शाहले नै यहाँ बलि दिने परम्परा सुरु गराएको मानिन्छ।

 

 

उनकै आदेशअनुसार यहाँ रहेका देवीदेवताहरूलाई परेवा, भाले, राँगा, हाँस र बोकाको पञ्चबली दिने परम्परा आजसम्म पनि कायमै छ। पहिले दरबारबाटै पूजाको खर्च आउने गरे पनि अहिले खाँडादेवी विकास कोषले यसको निरन्तरता दिँदै आएको छ। कोषले हरेक वर्ष बडादसैँ र चैते दसैँको नवमीमा सरकारी पूजा गर्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस