आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

आईसिपी भन्सारबाट १२ अर्ब भन्दा बढीको नेपाली उत्पादन निर्यात

एपी खबर २०८१ मंसिर ३०, आईतबार ( १ साल अघि) १७३ पाठक संख्या

वीरगञ्ज स्थिति आईसिपी भन्सारबाट चालु आर्थिक वर्षको ४ महिनामा १२ अर्ब ८३ करोड ३३ लाख ६ हजार मूल्य बराबरको नेपाली उत्पादन भारत तथा तेस्रो मुलुक तर्फ निर्यात भएको छ ।

 

वीरगञ्ज नाका हुँदै भारत, डेनमार्क, अष्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाईल्याण्ड लगायतका मुलुकहरूमा तेल, जुस, कपडा जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटी निर्यात भएको वीरगञ्जस्थित आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले जानकारी दिए ।

 

आईसिपी भन्सार नाका हुँदै आर्थिक बर्ष २०८१/०८२ को चार महिना अर्थात् साउन, भदौ, असोज र कार्तिकमा २ अर्ब ८५ करोड ४३ लाख ९७ हजार मूल्य बराबरको फलफुलको जुस तथा जाम भारत निर्यात भएको छ भने चार महिनाको अवधिमा १ अर्ब ३९ करोड ४९ लाख ९८ हजार मूल्य बराबरको फलामे पाता निर्यात भएको छ ।

 

त्यसैगरी चार महिनाको अवधिमा २ अर्ब २७ करोड ६५ लाख २२ हजार मूल्य बराबरको भटमासको तेल भारत निर्यात भएको छ भने १ अर्ब ३२ करोड ६३ लाख १९ हजार मूल्य बराबरको सूर्यमुखी तेल समेत भारत निर्यात भएको वीरगञ्जभन्सार आईसिपीद्धारा जारी तथ्याङ्कमा उल्लेख छ ।

 

सो अवधिमा ८६ करोड २४ लाख ५ हजार मूल्य बराबरको पिना, ४२ करोड ४० लाख ४८ हजार मूल्य बराबरको जमोठ कपडा भारत तथा तेस्रो मुलुक निर्यात भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक लामिछानेले बताए ।

 

त्यसैगरी आर्थिक बर्ष २०८१र०८२ को चार महिनामा ६३ करोड ५४ लाख ८९ हजार मूल्य बराबरको बत्तीसा, त्रिफला, कवाजहरू, च्यवनप्रास लगायतका डाबर नेपालका उत्पादनहरू भारत निर्यात भएको छ ।

 

वीरगञ्ज नाकाबाट सो अवधिमा १२ करोड ९३ लाख २८ हजार मूल्य बराबरको स्टिलका पाइप निर्यात भएको छ भने १० करोड ५७ लाख ७९ हजार मूल्य बराबरको तयारी कपडा भारत तथा तेस्रो मुलुक निर्यात भएको छ ।

 

सो अवधिमा २५ करोड ४९ २० हजार मूल्य बराबरको मोलासिस, ४१ करोड ३२ लाख, ५१ हजार बराबरको कुकुर वा बिरालाको खाना, ३१ करोड ६६ लाख ५९ हजार मूल्य बराबरको दन्तमञ्जन भारत निर्यात भएको छ ।

 

वीरगञ्ज नाकाबाट ४ महिनाको अवधिमा ९० करोड ३७ लाख ५१ हजार मूल्य बराबरको सेन्थेटिक यार्न भारत निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस