थारु समुदायको आस्थाका रुपमा रहेको ग्रामथान संरक्षणमा प्रदेश तथा स्थानीय तहले सहयोग नगरेको पूर्वका थारु अगुवाहरुले गुनासो गरेका छन् ।
इटहरीमा भएको ग्रामथान संरक्षण समिति कोशी प्रदेशको कार्यक्रममा थारु अगुवाहरुले पछिल्लो समय विभिन्न व्यक्तिको अतिक्रमणमा ग्रामथान परेको भन्दै थारु अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । थारु समुदायको धार्मिक पहिचान तथा संस्कृति बोकेका ग्रामथान, पानीघट्टा, गौचरण तथा पोखरी स्थानीय व्यक्ति तथा जग्गाका कारोबारीले गर्दा संकटमा परेको भन्दै उनीहरुले संरक्षणको पहलमा स्थानीय तथा प्रदेश सरकार उदासीन बनेको बताए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण गर्ने भनेर प्रस्ट व्यवस्था भए पनि जनप्रतिनिधिले ग्रामथान संरक्षणका लागि कुनै पहल नगरेको उनीहरुको भनाइ छ । आदिवासी समुदायको हराउँदै गएका थान र थान जोडिएको संस्कार संस्कृतिको संरक्षणमा राज्यले ध्यान नदिँदा लोप हुने खतरा बढेकाले राज्यले ऐन तथा कानुन बनाएर संरक्षण गर्नुपर्ने ग्रामथान संरक्षण समिति कोशीका अध्यक्ष तेजनारायण चौधरीले बताए ।
कार्यक्रममा अन्तरधार्मिक सञ्जालका रामभक्त कुरुवाङ, अधिकारकर्मी रमेश भट्टराई, विराट राजवंशी समाजका प्रदीप विश्वास लगायतले थारु समुदायले जन्मदेखि मृत्यु संस्कारसम्मका लागि मान्दै आएको धार्मिकस्थल ग्रामथान पछिल्लो समयमा विकास निर्माणको नाममा अतिक्रमण बढेको भन्दै संरक्षणका लागि समितीले तीनै तहको सरकारको ध्यानाकर्षण गराएका छन् ।











प्रतिक्रिया दिनुहोस