फाल्गुन १८ काठमाडौं । कोरोनाभाइरसको सङक्रमणबाट अमेरिकाको वासिङ्टन शहरमा एक जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमणबाट अमेरिकामा कसैको मृत्यु भएको यो पहिलो घटना हो ।
अधिकारीहरुका अनुसार करिब ५० वर्षको आसपासको उमेरमा रहेका एक व्यक्तिको यस भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
स्थानीय स्वास्थ्य अधिकारीहरुका अनुसार वासिङ्टनको किङ्ग काउन्टीका ती व्यक्तिले यसअघि कोरोना प्रभावित क्षेत्रको यात्रा नगरेको बताएका थिए ।
यसअघि, क्यालिफोर्निया, ओरेगनमा पनि कोरानाप्रभावित क्षेत्रमा यात्रा नगरेका र त्यस्ता क्षेत्रको यात्रा गरेर आएकाहरुसँग सम्पर्क नरहेकामा पनि यस भाइरसको संक्रमण देखिएको भन्दै स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका थिए ।
भाइरसको संक्रमण फैलन नदिन वासिङ्टनका गर्भनर जे इन्सलेले राज्यमा आपतकालको घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कोरोनाभाइरस संक्रमणका थप बिरामीहरु देखापर्ने सम्भावना रहेको भए पनि यसका लागि अमेरिका तयार रहेको दाबी गरे ।
अधिकारीहरुले इरान यात्रामा थप कडाइ गर्ने जनाउँदै अमेरिकीहरुलाई इटाली र दक्षिण कोरियाका कोरोनाभइरसबाट प्रभावित क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ ।











प्रतिक्रिया दिनुहोस