आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

गैरसरकारी संस्थाले स्थानीय समुदायको चाहना अनुरुप परियोजना छनौट गर्नुपर्छ स् सभापति देउवा

एपी खबर २०८१ फागुन ५, सोमबार ( १ साल अघि) १५९ पाठक संख्या

ललितपुर– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गैरसरकारी संस्थाहरुले परियोजना छनौट गर्दा स्थानीय समुदायको चाहना अनुरुप गर्नुपर्ने बताएका छन्।

 

नेपाली कांग्रेसको गैरसरकारी संस्था समन्वय विभागद्वारा सोमबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘गैरसरकारी संघसंस्थाहरुको वर्तमान अवस्था र नेपाली कांग्रेसको नागरिक समाज तथा गैरसरकारी संस्थासम्बन्धी नीति’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै सभापति देउवाले गैरसरकारी संस्थाहरुले नेपालको सामाजिक विकासमा खेलेको भूमिका प्रशंसनीय रहेको बताए।

 

‘नेपालमा सामाजिक सेवा गर्ने संस्था तथा नागरिक समाजको स्थापना, विकास र कामको अवस्था र स्वरुप फरकफरक देखिन्छ,’ सभापति देउवाले भने।

 

गैरसकारी संस्था समय र सन्दर्भसँगै सामाजिक न्याय, लोकतन्त्र र मानवअधिकार, सुशासन, आर्थिक समृद्धि तथा समावेशी सिद्धान्तमा आधारित अन्तरराष्ट्रिय मूल्य मान्यतालाई अंगिकार गरी सरकारको सहयोगीको रुपमा काम गर्ने संस्था भएको उनको भनाइ थियो।

 

‘यी संघसंस्थाहरु भित्र पनि सुशासन, पारदर्शिता र आन्तरिक लोकतन्त्र मजबुत हुनुपर्छ भन्ने आवाज छ,’ सभापति देउवाले भने।

 

उनले जलवायु परिवर्तनका कारण नेपालका हिमाल नाङ्गिएकोप्रति चिन्ता व्यक्त गरे।

 

‘हाम्रा हिमाल नाङ्गिरहेका छन्, जलवायु परिवर्तनले नाङ्गा भएका हिमाल कसरी जोगाउने भन्नेबारेमा गैरसकारी संस्थाले नीतिगत पैरवीदेखि हिमाल जोगाउने अभियान सञ्चालन गर्नुपर्छ, यससम्बन्धी धेरै ध्यान दिने विश्वास लिएको छु,’ उनले भने।

 

सभापति देउवाले मानवअधिकार, सुशासन, समावेशितालगायत विषयमा गैरसकारी संस्थाहरुले प्रभावकारी काम गर्दै आएको बताए।

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गैरसरकारी संस्था समन्वय विभागका प्रमुख डा। रणबहादुर रावलले रोजगारी प्रवर्द्धनमा गैरसरकारी संघसंस्थाले खेलेको भूमिका, आर्थिक सामाजिक क्षेत्रमा पारेको सकारात्मक प्रभाव तथा वर्तमान अवस्थामा देखिएका चुनौतीबारे आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस