आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

देशको विभिन्न भागमा भारी वर्षाको सम्भावना, प्रधानमन्त्री ओलीद्वारा नागरिकलाई सतर्क रहन अनुरोध

एपी खबर २०८२ श्रावण ४, आईतबार ( ७ महिना अघि) १८५ पाठक संख्या

काठमाडौँ, ४ साउन ।देशका विभिन्न भागमा भारी वर्षा हुने पूर्वानुमानसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गर्नुभएको छ।

 

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। उक्त जानकारीका आधारमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै जनसाधारणलाई सुरक्षित रहन अपिल गर्नुभएको हो। ‘मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ, मौसमजन्य विपद्‌बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ, अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु’,ओलीले लेख्नु भएकाे छ ।

 

प्रधानमन्त्रीले सुरक्षाकर्मीहरूलाई पनि आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई समेत सक्रिय रहन आग्रह गरिएको छ।

 

यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले साउन ३ गते रातिदेखि ५ गते सोमबारसम्म देशका विभिन्न स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो। विपद् जोखिम न्यूनीकरण विज्ञहरुले लगातारको वर्षाले जोखिम बढ्ने भन्दै पहिरो, डुबान सम्भावित क्षेत्रमा बसोबास गर्नेहरूलाई सचेत रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न सुझाव दिएका छन्।

 

देशका केही क्षेत्रहरूमा पछिल्ला दिनहरूमा आएको भारी वर्षाले जनजीवन प्रभावित बनेको छ। केही ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध भएका छन् । सरकारले विपद्‌को जोखिम कम गर्न आवश्यक सबै तयारी भइरहेको जनाएको छ। सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय स्वयंसेवकहरू तयारी अवस्थामा राखिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस