राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, गण्डकी प्रदेश समितिले जिल्ला प्रहरी कार्यालय कास्कीलाई एक थान कम्प्युटर र एक थान प्रिन्टर प्रदान गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियालाई हस्तान्तरण गरेको हो ।
महासंघ केन्द्रीय सचिव सुवास मल्ल, निवर्तमान केन्द्रीय उपमहासचिव मनकुमार श्रेष्ठ, गण्डकी प्रदेश इन्चार्ज राजेन्द्र सापकोटा, केन्द्रीय सदस्य जीवन दाहाल, गण्डकी प्रदेशका अध्यक्ष शंकर विरही गुरुङ, गण्डकी प्रदेश सचिव भुपेन बानियाँ, समाजसेवी वेदबहादुर जिसी, महासंघ पर्वतका अध्यक्ष दिपक गदाल लगायतको टिमले जिल्ला प्रहरी कार्यालय, कास्की परिसर पुगेर कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको हो ।
जेनजी प्रदर्शनका कारण कार्यालय पूर्णरूपमा जलेर नष्ट भई दैनिक कामकाज ठप्प भएको अवस्थामा काम कारबाही सुचारु गर्न सजिलो होस् भन्ने हेतुले तत्काल आवश्यक उपकरण उपलब्ध गराइएको उनीहरूले बताए ।
समाजको सुरक्षाका लागि अग्रपंक्तिमा खटिने संस्थाहरूमा उपस्थित भई सहयोग गर्नु कलाकारहरूको सामाजिक दायित्व र कर्तव्य दुवै भएको अध्यक्ष शंकर विरही गुरुङले बताए ।
प्रदर्शनकारीहरूले डोजरसहित जिल्ला प्रहरी कार्यालयमा प्रवेश गरी तोडफोड, लुटपाट र आगजनी गरेका थिए । प्रहरीले कार्यालय छाड्नुपरेको थियो भने केही हतियार लुटिएको र केही पुनः फिर्ता भएको प्रहरीले जनाएको छ । उक्त प्रदर्शनकै क्रममा पोखराका अधिकांश सरकारी निकाय तोडफोड र आगजनीको सिकार बनेका छन् ।











प्रतिक्रिया दिनुहोस