कपिलवस्तुको वाणगंगा घर भएकी भगवता रिजाल चार दिनदेखि गम्भीर बिरामीका कारण अस्पतालको इमरजेन्सी कक्षमा उपचार गराइरहेकी छन् ।
नेपालीहरूको मुख्य चाड अघि नै निको भएर आफन्तसँग रमाइलो गर्ने योजना बनाएपनि रक्तचापका कारण स्वास्थ्यकर्मीले घरमा नजान सल्लाह दिए
८ वर्षको छोरा घरमा रहेको उनले बिहीबार अस्पतालको बेडमै बसेर छोरालाई टीका लगाइदिएर छिटै निको भएर घर फर्कने भन्दै आश्वासन दिइन् । अस्पतालमै पुगेर उनका दाजु र भिनाजुले टीका लगाइदिएर आर्सीवाद दिए ।
अस्पतालमा रहेकी आमासँग ८ वर्षका शाश्वत आचार्यले बेडमै पुगेर टीका लगाए । सधैँ सँगै खेल्ने र बस्ने उनी आमा भर्ना भएसँगै ठूलोबुवा आमासँग बाहिर बसेका छन् । आमासँग टीका लगाएर एकछिन बेडमा उनी घर फर्किए ।
दैनिक २ हजार बिरामीको सेवा दिने यो अस्पतालमा बिहीबार बिरामी त कम थिए तर पहिले नै भर्ना भएका बिरामीहरूको भने उपचार निरन्तर भएको थियो । अस्पतालमा भर्ना भएकी अर्की बिरामी मना कुँवरलाई पनि यसैगरी आफन्तले अस्पतालमै पुगेर टीका लगाइदिएका थिए ।
अस्पतालमा भर्ना भएकै बिरामीलाई खुसी बनाउन र आत्मबल बलियो बनाउन यसरी टीका लगाउन पुगेको मनाका आफन्त दीपेन्द्रले जनाए ।
सबैले दशैको रमाइलो गरिरहेका बेला अस्पतालमा रहेका स्वास्थ्यकर्मीहरुले भने बिरामीलाई खुसी बनाउन प्रेरणा दिइरहेका थिए ।
उनीहरूले बिरामीलाई आज विशेष दिन भएको र दुर्गामाताको आर्सीवादले बिरामीलाई ठिक हुने भन्दै औषधि सलाइन पानी दिने बेलामा हँसाइरहेका थिए ।











प्रतिक्रिया दिनुहोस