आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

के अमेरिकाले ताइवानको रक्षा गर्न सक्छ?

एपी खबर २०७७ आश्विन २५, आईतबार ( ५ साल अघि) ३४४ पाठक संख्या

सेप्टेम्बरमा चीनको पिपुल्स लिबरेसन आर्मी (पीएलए) ले एउटा प्रोपागान्डा भिडियो सार्वजनिक गर्‍यो। भिडियोमा विमानबाट क्षेप्यास्त्र प्रहार भएको देखिन्छ, जुन गुआम टापुमा गएर बज्रिन्छ। जमिन थर्थराउँछ र त्यहाँ रहेको अमेरिकाको एन्डरसन हवाई अड्डा भयानक विस्फोटको चपेटामा पर्छ। पीएलएको यो भिडियो हलिउडका चर्चित फिल्महरुको दृश्य जोडजाम गरेर तयार गरिएको थियो। तर, सन्देश स्पष्ट थियो– ताइवानको पक्षबाट अमेरिका युद्धमा उत्रिए अमेरिकी सैन्य अखडामा यसरी नै आक्रमण हुनेछ।

 

लोकतान्त्रिक र समृद्ध ताइवानको जनसंख्या २ करोड ४० लाख छ। यो टापु सन् १९४९ देखि नै मुख्यभूमि चीनबाट शासित छैन। तथापि चिनियाँ कम्युनिस्ट पार्टी ताइवान आफ्नो भएको दाबी गर्छ। उनीहरुबीच हालसम्म तनावपूर्ण शान्ति कायम भएको देखिन्छ। किनभने हालसम्म ताइवानले आफूलाई जनवादी गणतन्त्रको नभए पनि चीनकै हिस्सा भनिरहेको छ।

 

पहिले चीनलाई आशा थियो, बढ्दो आर्थिक र सांस्कृतिक सम्बन्धका कारण बिनारक्तपात ताइवानसँग पुनर्एकीकरण हुनसक्छ। तर, अहिले दुई तिहाइ ताइवानी आफूलाई चिनियाँ मान्दैनन्, ६० प्रतिशत चीनलाई राम्रो नजरले हेर्दैनन्। गत जनवरीमा चीनविरोधी भनेर चिनिएकी साइ इङ वेन स्पष्ट बहुमतसाथ राष्ट्रपतिमा दोस्रो पटक चुनिइन्।

 

गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘चिनियाँ राष्ट्रको ऐतिहासिक कायाकल्पका लागि ताइवानसँगको एकता अपरिहार्य रहेको’ घोषणा गरे। हालैका महिनामा पीएलएले ताइवानमाथि दबाब बढाएको छ। चिनियाँ लडाकु विमानले अनौपचारिक सीमारेखा मानिने ताइवान जलसन्धिको मध्यरेखा पार गर्न थालेको छ। र, सो क्षेत्रमा विशाल नौसैनिक युद्धअभ्यास गर्न थालेको छ।

 

ताइवानको रक्षा गर्न कठिन हुँदै गएको छ। एक दशकअघि चीनसँग ताइवानको भन्दा चार गुणा बढी मात्रै युद्धपोत थिए। आज ६ गुणा बढी छन्। ताइवानभन्दा चीनसँग ६ गुणा बढी लडाकु विमान र ८ गुणा बढी ट्यांक छन्। सन् १९९० को दशकको अन्त्यमा चीनको रक्षा बजेट ताइवानको भन्दा मात्र दोब्बर थियो। तर, आज त्यो २५ गुणा बढी छ।

 

ताइवानमाथि आक्रमण गर्ने तयारीमा चीन नरहेको अमेरिकी गुप्तचर अधिकारीहरु बताउँछन्। त्यस्तो आक्रमणका लागि आवश्यक विशाल स्तरको युद्धअभ्यास चीनले एक पटक पनि गरेको छैन। वास्तवमा अमेरिकाले कोरियामा आक्रमण गरेयता कुनै पनि मुलुकले बलियो प्रतिरक्षा भएको समुद्री किनारामा आक्रमण गर्न सकेको छैन।

 

चीनले ताइवानको नौसेना र हवाई सेनालाई नष्ट गरेपनि ताइवानले पहाडी इलाकामा लुकाएर राखेको क्षेप्यास्त्रद्वारा युद्धपोतमाथि आक्रमण गर्नसक्ने अमेरिकाको नेभल वार कलेजका विलियम मुर्रे बताउँछन्। त्यस्तो क्षेप्यास्त्रले साँघुरो जलसन्धि पार गरिरहेका ठुल्ठूला पानीजहाजलाई क्षतविक्षत तुल्याउन सक्छ।

 

चीनले आफ्नो सबै शक्ति ताइवानविरुद्ध लगाउन पनि सक्दैन। ‘पीएलएको एउटा हिस्सालाई मात्र खटाउन सकिन्छ,’ बेइजिङस्थित अमेरिकी सेनाका पूर्व सैनिक सहचारी डेनिस ब्लास्को भन्छन्, ‘किनभने पीएलएको ठूलो संख्या ताइवान मोर्चामा अट्दैन।’ यस्तो आक्रमणको तयारीबारे ताइवानले स्याटलाइट निरीक्षणमार्फत हप्तौँअघि सूचना पाउनेछ र उसले पनि बलियो तयारी गर्न सक्नेछ। त्यसैले चीनले हेलिकोप्टर र विशेष सैन्य दस्ताको प्रयोग गरेर अचानक आक्रमण गर्ने सम्भावना ज्यादा रहेको ब्लास्को बताउँछन्। ‘यदि ताइवानले पर्याप्त तयारी गर्‍यो र ताइवानीले चाहे भने त्यस्तो आक्रमणबाट पनि यो टापुलाई बचाउन सकिन्छ,’ उनले भने।

 

तर, ताइवानको तयारी र चीनसँग लड्ने इच्छाशक्ति दुवै कमजोर देखिन्छ। ‘दुखद् सत्य के हो भने ताइवानको सेना तालिममा असाध्यै कमजोर छ,’ गत वर्ष ताइवानको रक्षा क्षेत्रको अध्ययनमा ९ महिना बिताएका विश्लेषक ट्यानर ग्रिअर भन्छन्, ‘मैले त्यस्ता तोपखानाका निरीक्षक भेटेँ, जसले आफ्नो तोप पड्किएको कहिल्यै देखेका थिएनन्।

 

वर्षौँदेखि ताइवानको सेनालाई बलियो बनाउने प्रयास भइरहेको छ। लगानीको निकै ठूलो हिस्सा लडाकु विमान र ट्यांकमा खर्च भएको छ। तर, चिनियाँ आक्रमणलाई रोक्ने ताइवानी सेनाको क्षमताबारे जानकारहरु निराश छन्। ग्रिअरले ताइवानी सेनामा अनिवार्य भर्ती भएका दुई दर्जन सैनिकसँग अन्तर्वार्ता लिएका थिए। तीमध्ये एक जना मात्र ताइवानले चीनलाई रोक्नसक्छ भन्नेमा विश्वस्त थिए। अगस्टमा गरिएको एक सर्वेक्षणमा ताइवानका आधाभन्दा कमले मात्र युद्ध भए चीनसँग लड्ने इच्छा देखाएका थिए।

 

यहाँनेर अर्को महत्वपूर्ण प्रश्न उठ्छ– के अमेरिकाले ताइवानको रक्षा गरिदिन्छ त? ताइवानसँग अमेरिकाको औपचारिक गठबन्धन छैन। तर, उसले यो टापुलाई ठूलो मात्रामा हतियार बेच्दै आएको छ। गएको चार वर्षमा मात्र अमेरिकाले ताइवानलाई १३ अर्ब डलरको हतियार बेचिसकेको छ। धेरै पहिलेदेखि ताइवानमाथि आक्रमण भए अमेरिकाले सहयोग गर्छ भन्ने ठानिँदै आएको छ। तर, चीनको बढ्दो सैन्य शक्तिका कारण त्यस्तो युद्धमा सहभागी हुनु अमेरिकाका लागि महंगो हुने देखिन्छ।

 

आजभन्दा पाँच वर्षपछिको मिति राखेर गरिएको ‘वारगेम’बाट पनि युद्धको परिस्थितिमा अमेरिकाले ठूलो क्षति बेहोर्ने देखिन्छ। ‘वारगेममा अमेरिकाले आफ्ना मानिस र हार्डवेयर निकै चाँडो गुमाउन थाल्छ,’ र्‍यान्ड कर्पोरेसनका डेविड ओच्मानुक भन्छन्।

 

अमेरिकालाई भौगोलिक बाधा छ। उसको वायु सेना एसियामा रहेका केही सैन्य अखडामा निर्भर छ। ती सबै सैन्य अखडा चिनियाँ क्षेप्यास्त्रको निसानाभित्र पर्छन्। अमेरिकी बमवर्षक विमान अमेरिकाबाटै उडेर ताइवाननजिक पुग्न सक्छन् तर, तिनलाई चाहिने क्षेप्यास्त्रको अभाव छ। त्यसमाथि अमेरिकाको सैन्य शक्ति प्रविधिमा निर्भर छ। युद्धको अवस्थामा अमेरिकी स्याटलाइट र कम्प्युटर नेटवर्कमाथि अवश्य पनि भौतिक र विद्युतीय आक्रमण हुनेछ। त्यस्तो अवस्थामा अमेरिकी सेना कसरी लड्छ, स्पष्ट छैन।

 

यसै वर्षको सुरुमा सेन्टर फर अ न्यु अमेरिकन सेक्युरिटी (सीएनएएस) नामक थिंक ट्यांकले अर्को वारगेम आयोजना गरेको थियो। जसमा ताइवान दृढतापूर्वक युद्धमा होमिएको तथा हाल विकासको चरणमा रहेका हतियार पनि अमेरिकासँग उपलब्ध रहेको परिकल्पना गरिएको थियो। यस्तो अवस्थामा भने ताइवान कम्तीमा १० दिनको युद्धपछि बच्न सफल भएको थियो। तर, त्यसका लागि भयंकर ठूलो मूल्य तिर्नुपरेको थियो। युद्धपछि ताइवानवरिपरिको समुद्र ‘नो–म्यान्स ल्यान्ड’ बनेको थियो।

 

तर, के युद्धमा होमिएर ताइवानको रक्षा गर्ने आँट अमेरिकासँग छ त? चीनले ताइवान कब्जा गर्न सफल भए त्यसले अमेरिकी प्रतिष्ठालाई मात्र नष्ट गर्ने छैन, बरु यसले जापानका बाहिरी टापुहरुमा पनि खतरा निम्त्याउनेछ। र, अमेरिकाले जापानको रक्षा गर्ने बाचा गरेको छ। पछिल्लो समय ट्रम्प प्रशासनले अनेकौँ उच्च अधिकारीहरुलाई ताइपेइ भ्रमणमा पठाएको छ। चीन क्रुद्ध हुनुको एउटा कारण यो पनि हो। अमेरिकी संसदमा पनि ताइवानप्रतिको समर्थन ‘नयाँ उचाइ’मा रहेको सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सीएसआईएस) का बोनी ग्लेजर बताउँछन्।

 

सीएसआईएसको सर्वेक्षणअनुसार अमेरिकीहरु ताइवानलाई सहयोग गर्ने विषयलाई दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई जत्तिकै समर्थन गर्छन्। तर, युद्धमा अमेरिकी जहाज डुब्न थालेपछि यस्तो समर्थन घट्न सक्छ।

 

सीएनएएसको वारगेम अनुसार अमेरिकाले एक सय हाराहारी लडाकु विमान, दर्जनौँ पानीजहाज र दुई वटाजति विमानवाहक जहाज गुमाउँछ। ‘एउटा विमानवाहक जहाजमा ५ हजार सैनिक हुन्छन्,’ मुर्रे भन्छन्, ‘अर्थात् हाम्रा पचासै राज्यका एक–एक सय मतदाता। जताततै अन्तिम संस्कार आयोजना गर्नुपर्ने हुन्छ।’

 

यस्तो क्षतिको डरले कुनै अमेरिकी राष्ट्रपतिले युद्धमा प्रवेश नगर्ने निर्णय लिन सक्छन्। तर, त्यो क्षतिलाई झेल्न सके अमेरिकी संकल्प अझ बलियो बन्न सक्छ। अमेरिका र उसका साझेदारहरुले यो विषयलाई आफ्नो फाइदाका लागि प्रयोग गर्न सक्ने अमेरिकी रक्षा मन्त्रालयका पूर्वअधिकारी एल्ब्रिज कोल्बी बताउँछन्। यदि अमेरिकी सैनिक जापानलगायत आफ्ना मित्रराष्ट्रमा छरिए र चिनियाँ आक्रमणविरुद्ध संयुक्त गठबन्धन तयार गरे भने चीनले या त हरेक निसानामा आक्रमण गरेर एसियाको जनमतविरुद्ध जानुपर्ने हुन्छ या आफ्ना सैनिक पछि हटाउनुपर्ने हुन्छ।

 

परिस्थिति योभन्दा पनि नाजुक बन्नसक्छ। अहिले चिनियाँ आणविक क्षेप्यास्त्र अमेरिकाको जुनसुकै सहरमा पनि पुग्न सक्छ। यो तथ्यले पनि दाउलाई नाटकीय रुपमा बढाइदिएको छ। ‘धेरैजसो अमेरिकी नक्सामा ताइवान फेला पर्न सक्दैनन्,’ जर्ज मेसन युनिभर्सिटीका माइकल हन्जेकर भन्छन्, ‘साँच्चै गोली चल्न थालेपछि उनीहरुलाई ‘म ताइपेइको रक्षाका लागि लस एन्जलस गुमाउन तयार छु’ भन्न निकै मुस्किल पर्नेछ।’

 

यो कठोर यथार्थलाई ताइवानी अधिकारीहरुले पनि राम्ररी बुझेका छन्। ‘ताइवानको रक्षाका लागि अमेरिका युद्धमै उत्रिए पनि उसले रक्षा गर्न सकेन भने त्यसको कुनै अर्थ छैन,’ ताइवानको राष्ट्रिय सुरक्षा परिषदका पूर्वमहासचिव सु ची भन्छन्।

 

तर, ताइवानका २० प्रतिशत नागरिक मात्रै युद्धको सम्भावना देख्छन्। यस्तो अवस्थामा ताइवानको रक्षा प्रणाली बलियो बनाउन कठिन देखिन्छ। ताइवानको उत्तरपश्चिम किनारामा पर्छ चुवेई गाउँ। युद्धको अवस्थामा सबैभन्दा पहिले पीएलए अवतरण गर्ने अनुमान गरिएको स्थान यही हो।

 

तर, त्यो गाउँमा कसैलाई यसको चिन्ता छैन। पर्यटकहरु रेस्टुराँमा बसेर तारेको माछा खाइरहेका देखिन्छन्। समुद्रमा माछा मार्न प्रयोग हुने रंगीबिरंगी डुंगा आवातजावत गरिरहेका छन्। चिनियाँहरुले आक्रमण गर्दैनन्,’ समुद्र हेर्न आएका विमानस्थलका कर्मचारी लिन फु फन भन्छन्, ‘किनभने हाम्रो भाषा र संस्कार एउटै हो।’

प्रतिक्रिया दिनुहोस