कोरोना महामारीबीच भारतको बिहारमा विधान सभा चुनावअन्तर्गत बुधबार मतदान सुरु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार बिहार विधान सभाका २४३ सिटका लागि पहिलो चरणको मतदान सुरु भएको हो।
पहिलो चरणमा बिहारका १६ जिल्लाको कूल ७१ सिटमा मतदान भइरहेको बीबीसी हिन्दीले जनाएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको गठबन्धन (एनडीए) का तर्फबाट नितिशकुमारकाे पार्टी जनता दल युनाइटेड (जेडीयू) ३५ सिट, भारतीय जनता पार्टी (बीजेपी) २९, जितनराम माझीको हमएस ६ र मुकेश सहनीको भीआईपी एक सिटका लागि चुनावी मैदानमा छन्।
यस्तै राष्ट्रिय जनता दल (आरजेडी) ४२, कंग्रेस २१ र सीपीआईएमएल ८ सिटमा प्रतिस्पर्धा गर्दै छन्।
यसैगरी पहिलो चरणको चुनावमा लोक जनशक्ति पार्टी ४१ सिटमा प्रतिस्पर्धा गर्दै छ। उक्त पार्टीले पहिलो चरणमा जेडीयूका सबै ३५ उम्मेदवारविरुद्ध आफ्ना प्रत्याशी खडा गरेको छ।
यसपटक लोक जनशक्ति पार्टी एनडीएबाट बाहिरिएकाे छ। चिराग पासवानले नितिश कुमारविरुद्ध भोट दिन अपिल गरिरहेका छन्।
पहिलो चरणको मतदानमा २ करोड १४ लाख मतदाता सहभागी हुने बताइएको छ। अहिले मतदान भइरहेका जिल्लामध्ये धेरैमा माओवादी अतिवादको आतंक छ।
दोस्रो चरणको मतदान नोभेम्बर तीन र अन्तिम चरणको मतदान नोभेम्बर ७ तारिखमा हुनेछन्।
बिहार चुनावको नतिजा नोभेम्बर १० मा सार्वजनिक हुने भारतनीय सञ्चारमाध्यमले जनाएका छन्।
सावधानीसाथ मतदानमा सहभागी हुन मोदीको अपिल
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना काल भएकाले सावधानी अपनाएर मतदान गर्न मतदाताई अपिल गरेका हुन्।
उनले ट्विट गर्दै बिहार विधान सभा पहिलो चरणको चुनावमा सहभागी भइरहेका नागरिकलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका हुन्।











प्रतिक्रिया दिनुहोस