एजेन्सी – मध्य एसियाली मुलुक ताजिकिस्तान र किर्गिस्तानबीच पुनः तनाव पैदा भएको छ । हालै यी दुई मुलुकका सुरक्षाबल बीच सीमा क्षेत्रमा झडप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ताजिकिस्तानसँगको सीमाक्षेत्रमा हालै भएको झडपमा परी ३६ जनाको मृत्यु भएको किर्गिज स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ ।मध्य एशियाका छिमेकीबीचको पछिल्लो सयम हिंसा बढेको बताइएको छ । मध्य एसियामा रणनीतिक रुपमा निकै महत्वपूर्ण मानिने फर्गाना उपत्यकास्थित किर्गिस्तानको दक्षिणी बाटकेन क्षेत्र र ताजिकिस्तानको उत्तरी सुगद क्षेत्रमा दुई मुलुकका सैनिकबीच झडप भएको बताइएको छ ।
झडपका क्रममा मृत्यु हुनेको कुल सङ्ख्या ३६ पुगेको र अन्य एक सय ३४ जना घाइते भएको किर्गिज स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।मन्त्रालयले यसअघि दिएको जानकारीमा मृत्यु हुनेको संख्या २४ पुगेको थियो । ताजिकिस्तानको आन्तरिक मन्त्रालयले शनिबार भएको झडपमा सर्वसाधारण मारिएका बताए पनि तथ्याङ्क भने दिएको छैन ।
शुक्रबार युद्धविराम गर्न सहमत भएपनि दुबै पक्षले एक अर्काविरुद्ध यस युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् ।शनिबार थप झडपपछि रात भने केही घटनाबिना शान्तपूर्वक बितेको किर्गिज सीमा अधिकारीले आइतबार बिहान जानकारी दिएका छन् ।देशको नेतृत्वले स्थितिलाई स्थिर बनाउन र द्वन्द्वको अवस्थालाई रोक्नका लागि शान्तिपूर्ण तरिकाले सबै उपाय अबलम्बन गरिरहेको सीमा अधिकारीले बताएका छन् ।
शनिबार, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुबै पक्षका नेतृत्वलाई स्थायी युद्धविरामका लागि वार्तामा संलग्न हुन आह्वान गरेका थिए ।तत्कालिन सोभियत संघको पतनपछि स्वतन्त्र भएका यी दुई मुलुकबीच सीमासम्बन्धी विवादका कारण बेलाबेला झडप हुँदै आएका छन् ।











प्रतिक्रिया दिनुहोस