आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतमा हिंस्रक जातीय द्वन्द्वमा ५२ जनाको मृत्यु, सेनालाई गोली चलाउन आदेश

एपी खबर २०८० बैशाख २४, आईतबार ( २ साल अघि) १२० पाठक संख्या

एजेन्सी: भारतको मणिपुर राज्यमा जातीय समूहबीचको द्वन्द्वले हिंस्रक रूप लिएको छ । याे द्वन्द्वमा परेर हालसम्म ५२ जनाको मृत्यु भइसकेको छ ।मणिपुरको अल ट्राइबल विद्यार्थी संगठनले मेइतेइ जातीय समूहविरुद्ध आयोजना गरेको र्‍यालीले हिंस्रक रूप लिएपछि यतिबेला त्यहाँ सेनालाई अवस्था नियन्त्रणमा लिन गोली चलाउन आदेश दिइएको बीबीसी हिन्दीले जनाएको छ ।

 

यतिबेला प्रदेशको अधिकाँश जिल्लामा आपतकालीन अवस्था लागू गरिएको छ । सेना र आसाम राइफल्स सुरक्षा बललाई सुरक्षाको लागि सडकहरूमा तैनाथ गरिएको छ । गत बुधबारदेखि सो राज्यमा आज आइतबारसम्म इन्टरनेट सेवा पनि बन्द छ ।गत अप्रिल १९ मा मणिपुर उच्च अदालतले राज्य सरकारलाई चार हप्ताभित्र मेइतेइ समुदायलाई अनूसूचित जनजाति श्रेणीमा सामेल गर्ने विषयमा विचार गर्न भनेको थियो । अदालतले यस विषयमा केन्द्र सरकारलाई पनि आफ्नो विचार पठाउन आदेश दिएको छ ।

 

यसैको विरोधमा गतहप्तादेखि त्यहाँ आन्दोलन चर्किएको हो । मेइतेइले आफूलाई अनूसूचित जनजाति श्रेणीमा कुनै अवरोधबिना समावेश गर्नुपर्छ भनिरहेको छ । मणिपुरको २८ लाख जनसंख्या मध्ये ५३ प्रतिशत जनसंख्या मेइतेइ समुदायका मानिसको छ । मेइतेइलाई अनुसूचित जनजातिको दर्जा दिइए सरकारी काम, विद्यालय र कलेज भर्ना, राजनीतिक नियुक्ति र निर्वाचनमा उनीहरूको लागि कोटा छुट्याइनेछ ।

 

त्यतिमात्र नभएर उनीहरूलाई त्यहाँका जंगल र जमिनमा पनि पहुँच बढ्नेछ । उता पहाडी जनजाती नागास र कुकीले आफ्नो पहिचानसँग जोडिएको वन जंगल नियन्त्रण बाहिर जाने त्रासपछि मेइतेईविरुद्ध आन्दोलन गरिरहेका हुन् ।विशेषगरी आदिवासी समूह नागास र कुकी पहाड र जंगल वरपर बस्छन् । आदिवासी गाँउहरूमा जनसंख्या बढ्दै जाँदा तिनीहरू वरपरका वन क्षेत्रहरूमा फैलिन थालेका छन्, जुन उनीहरूले आफ्नो ऐतिहासिक र पैतृक अधिकार मान्दछन् । यसमा सरकारको विरोध छ । उता पहाडी क्षेत्रमा बसोबास गर्न वा जग्गा किन्न नपाएकाले उपत्यकामा बसोबास गर्ने मेइतीहरु आक्रोशित छन्, कुकी र नागासले भने उपत्यकामा जग्गा किन्न पाएका छन् ।

 

मेइतेइविरुद्ध उभिएका जातीय समूह सो राज्यका ३० प्रतिशत नागरिक हुन् । अल ट्राइबल विद्यार्थी संगठनले मेइतेइ जातीय समूहविरुद्ध आन्दोलन चर्काउँदा त्यहाँ हिंस्रक झडप भइरहेको हो । उनीहरूले मेइतेइ समुदायको घर, गाडी, चर्च र मन्दीरहरु जलाइदिएका छन् । प्रहरी र मेइतेइ समुदायका सदस्यसँग यतिबेला आदिवासी कुकी र नागासको द्वन्द्व चर्किरहेको हो । बीबीसीहिन्दी र द गार्डियनको सहयोगमा

प्रतिक्रिया दिनुहोस