एजेन्सी: फिलिपिन्सको राजधानी मनिला नजिकैको एक तालमा बिहीबार एउटा सानो यात्रुवाहक डुङ्गा पल्टिँदा त्यसमा सवार २३ जनाको मृत्यु हुनुका साथै छ जना बेपत्ता भएको उद्धारकर्ताले बताएका छन् ।
उत्तरी फिलिपिन्सबाट डोक्सुरी आँधी आएको केही घण्टापछि मनिला नजिकैको लगुना तालमा दुर्घटना भएको हो ।सामुद्रिक सुरक्षा गार्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “काठ डुङ्गालाई तीव्र हावाको बहावले ढलपल ढलपल पारेपछि सबै यात्रुहरू आत्तिएका थिए र उनीहरू बन्दरगाहतिर गएका थिए ।”
“उक्त हुरी तत्काल साम्य भएको थियो र डुङ्गालाई आफ्नो गन्तव्यमा जान कुनै अवरोध थिएन,” तटरक्षक बलका प्रवक्ता रियर एडमिरल अर्मान्डो बालिलोले भने । यात्रुवाहक डुङ्गा बिनान्गोनान नगरपालिकाबाट तालको बीचमा रहेको तालिम टापुसम्म नियमित रूपमा दौडिरहेको नगरपालिकाका उद्धार अधिकारी केनेथ सिराडोसले एएफपीलाई बताए । उद्धारकर्ताले पानीबाट २३ जनाको शव निकालेको र ४० जनालाई जीवित उद्धार गरेको उनले बताए ।
कालिनावान बन्दरगाहमा उभिएका बिनान्गोनानका बासिन्दा फ्रेडरिक सिसनले भने, “डुङ्गा हाम्रो अगाडि डुबेको थियो ।” दुर्घटना भएको केही घण्टापछि पनि हराइरहेका छ जनाको खोजीका लागि उद्धारकर्मीले तालमा खोजी गरिरहेको सिराडोसले बताए।











प्रतिक्रिया दिनुहोस