मधेस प्रदेशमा नयाँ सरकार गठनको विषयमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा०का अध्यक्ष महन्थ ठाकुरले कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।
ठाकुर आफ्नो दलको नेतृत्वमा मधेसमा सरकार बनाउन सक्रिय भएका छन् । सोहीअनुसार असोज १५ गते जनकपुर पुगेर आफ्ना पार्टीका प्रदेश सांसदसँग छलफल गरी काठमाडौँ फर्केका अध्यक्ष ठाकुरले सभापति देउवासँग पनि सोमबार टेलिफोन वार्ता गरेका हुन् ।
यसअघि उनले कांग्रेसका नेता पूर्णबहादुर खड्कासँग पनि छलफल गरेका थिए । नेता खड्कासँग छलफलपछि त्यहीँबाट पार्टीका सभापति देउवासँग फोनमा वार्ता गरेको एक नेताले बताए ।
ती नेताले सभापति देउवा लोसपाको नेतृत्वमा सरकार बनाउन सकारात्मक देखिएको दाबी गरे । उनले यस विषयमा पार्टीमा छलफल गरेर निर्णय सुनाउने ठाकुरलाई आश्वासन दिएका छन् ।
तर, लोसपाले नै नेतृत्व पाउन भने सहज छैन । मधेस प्रदेशको सरकारमा दाबी गर्दै प्रदेशका कांग्रेस सभापति एवं सांसद कृष्णा यादवले दौडधुप बढाएका छन् । उनले मधेसवादी दलका नेताहरूका साथै आफ्ना पार्टीका शीर्ष नेताहरूसँग पनि भेटघाट गरिरहेका छन् ।
तर, लोसपा नेपालका महासचिव डा। सुरेन्द्र झाले ठुला दलहरूका बिचमा मधेस केन्द्रित दलकै नेतृत्वमा सरकार बनाउने समझदारी रहेको दाबी गरे । उनले भने, ‘सोहीअनुसार यस पटक लोसपा नेपालले मधेस प्रदेश सरकारको नेतृत्व गर्ने भनी दाबी गरेको छ, त्यसका लागि पार्टीका अध्यक्ष ठाकुरजी आफ्नो तरिकाले पहलहरू गरिरहनु भएको छ ।’
लोसपा नेपाललाई जसपा नेपालले पनि सघाउने दाबी लोसपा नेपालका नेताहरूको रहेको छ । लोसपा नेपालका अध्यक्ष ठाकुर र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबिच पनि यो विषयमा संवाद भएको छ ।
पार्टीकै निर्देशन भए पनि जनमतका मुख्यमन्त्री सतिष कुमार सिंहले हालसम्म राजीनामा दिएका छैनन् । उनले राजीनामा नदिएपनि कांग्रेसले समर्थन फिर्ता लिइसकेकाले उनी अल्पमतमा छन् ।











प्रतिक्रिया दिनुहोस