आज:  २०८२ माघ २२, बुधबार | Wed, 04, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

कार्तिक १६ गतेदेखि अस्पताल खाली गर्दै आन्दोलनमा उत्रिने निजी अस्पतालका स्वास्थ्यकर्मीको चेतावनी

एपी खबर २०८२ आश्विन २७, सोमबार ( ३ महिना अघि) १६६ पाठक संख्या

मधेस प्रदेशका निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले आफूहरूमाथि भइरहेको असमान व्यवहार र श्रम शोषणविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

 

 

जनकपुरधाममा सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यकर्मीहरूले आठ बुँदे माग सार्वजनिक गर्दै माग पूरा नभए कार्तिक १६ गतेदेखि अस्पताल खाली गरेर शान्तिपूर्ण आन्दोलनमा जाने घोषणा गरेका हुन् ।

 

 

स्वास्थ्यकर्मी नवेश अधिकारीले स्वास्थ्य मन्त्रालयले पटक–पटक सूचना जारी गरे पनि निजी अस्पतालहरूले आफ्ना माग कार्यान्वयन नगरेको आरोप लगाए । उनका अनुसार निजी अस्पतालहरूले तलब, सुरक्षाको व्यवस्था, बीमा, कामको समय र सेवा सुविधासम्बन्धी सरकारले तोकेको मापदण्ड पालना नगरी स्वास्थ्यकर्मीहरूको मनोबल तोड्ने काम गर्दै आएका छन् ।

 

 

उनले यसअघि नै जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आफ्ना समस्या र मागबारे ध्यानाकर्षण गराइसके पनि कुनै ठोस पहल नभएकाले अब आन्दोलनमा जान बाध्य भएको प्रस्ट पारे ।

 

 

स्वास्थ्यकर्मीहरूले नेपाल सरकारको ऐन अनुसार सबै निजी अस्पतालमा तलब स्केल लागु गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थामा कार्यरत करारका कर्मचारी हटाई प्रदेश लोकसेवाबाट विज्ञापन गर्नुपर्ने, स्वास्थ्यकर्मीहरूको सुरक्षा र बीमा अनिवार्य गर्नुपर्ने, हप्ताको ४२ घण्टाभन्दा बढी काम नगराउने व्यवस्था गर्नुपर्ने, स्वास्थ्यकर्मीहरूको परिवारलाई निःशुल्क उपचार सुविधा दिनुपर्ने र प्रत्येक वर्ष १० प्रतिशत तलब वृद्धि गर्नुपर्ने माग गरेका छन् ।

 

 

मधेस प्रदेशका विभिन्न निजी अस्पतालहरूमा हाल २० हजारभन्दा बढी स्वास्थ्यकर्मी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस