आज:  २०८२ माघ २२, बुधबार | Wed, 04, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

जनकपुरमा एनपीएल ट्रफी परेड

एपी खबर २०८२ कार्तिक ३, आईतबार ( ३ महिना अघि) ११५ पाठक संख्या

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण सुरु हुनुभन्दा एक महिनाअघि शनिबार जनकपुरमा ट्रफी परेड गरिएको छ । जनकपुरको जानकी मन्दिर परिसरमा कार्यक्रम आयोजना गरी ट्रफी परेड गरिएको हो ।

 

 

नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित सातै प्रदेशको ट्रफी परेड अभियानअन्तर्गत शनिबार च्याम्पियन टोलीको गृहनगर जनकपुरबाट थालिएको हो । जानकी मन्दिरको गर्भगृहमा लगेर एनपीएल ट्रफीको पूजा गरिएको थियो । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले एनपीएल ट्रफीमा फूलमाला र टीका लगाइदिएका थिए ।

 

 

जानकी मन्दिरबाट निस्केको एनपीएल ट्रफी परेड जनकपुरको सहरी इलाकाको परिक्रमा गरिएको थियो । ट्रफी परेडमा स्थानीयको उत्साहजनक सहभागिता थियो । जनकपुरको सीताशरण होटलमा ट्रफी परेड कार्यक्रम गरिएको जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेले जनाए ।

 

 

ट्रफी परेडमा युवा, क्रिकेटप्रेमी, खेलकर्मी, समाजसेवी तथा पहिलो संस्करण च्याम्पियन जनकपुर बोल्ट्सका समर्थकको उल्लेखनीय सहभागिता थियो । जिल्ला क्रिकेट संघ धनुषाका पदाधिकारीहरूले जनकपुरमा ट्रफी परेड आयोजना गर्नु मधेश प्रदेशका क्रिकेटप्रेमीको भावना र गौरवसँग जोडिएको क्षण भएको बताएका छन् । ‘जनकपुर क्रिकेटको भावनाले भरिएको सहर हो,’ संघका अध्यक्ष आकाश पाण्डेले भने, ‘यहाँको ऊर्जा र उत्साहले एनपीएलको दोस्रो संस्करणलाई अझ रोचक बनाउने छ ।’

 

 

जनकपुर बोल्ट्स एनपीएलको पहिलो संस्करण विजेता हो । क्यानले जनकपुरमा भएको परेडलाई पहिलो संस्करणका विजेताप्रति सम्मानको रूपमा पनि व्याख्या गरेका छन् । मधेश प्रदेशमा सम्पन्न ट्रफी परेडपछि क्यानले यो अभियानलाई अन्य प्रदेशहरूमा समेत निरन्तरता दिने तयारी गरेको छ । यसअन्तर्गत ट्रफी क्रमशः लुम्बिनी, गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा लैजाने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस