कुनै समय सरकारी अस्पताल भन्नेबित्तिकै जानेबुझेका मानिस तर्कने गर्थे। पछिल्लो समय भने वीर अस्पतालमा बिरामीको लर्को लागेको छ। वीर अस्पतालमा एक दशकमा सेवा लिन आउने बिरामीको तथ्यांकले यस्तो औंल्याएको छ। सोमबार अस्पतालको १३५औं वार्षिकोत्सवका अवसरमा पछिल्लो तथ्यांक प्रस्तुत गर्दै अस्पतालका निर्देशक डा। दिलिप शर्माले बताएका हुन्।
अस्पतालको बहिरंग तथा अन्तरंग सेवामा आउने बिरामीको तथ्यांक १० वर्षको तुलनामा चौबर पुगेको उनले औंल्याए। तथ्यांकअनुसार गत आर्थिक वर्षमा ६ लाख ४७ हजार २ सय १५ जनाले लिएका छन्। १० वर्षअघि अन्तरंग सेवा लिनेको संख्या ११ हजार ५ सय १२ जना थिए भने गत आवमा २१ हजार २ सय २४ जनाले सेवा लिएका थिए।
त्यसैगरी ज्येष्ठ नागरिक विभागमा सेवा लिने पाँच गुणाले बढेको प्रतिवेदनले औंल्याएको छ। यी दुईबाहेक अन्य विभागमा पनि सेवा लिनको संख्या बढिरहेको निर्देशक शर्माले बताए। उनका अनुसार कोभिड १९ पछि वीरसहित अन्य सरकारी अस्पतालमा आकर्षण बढेको उनको विश्लेषण छ। ‘कोभिडपछि सरकारी अस्पतालमा जनताको विश्वास बढेको देखिन्छ,’ उनले भने।
वीर अस्पतालले दिने सुलभ शुल्क उपचार, स्वास्थ्य बिमा उपचार, विपन्न नागरिक निःशुल्क सेवालगायतका कारण बिरामीको आकर्षण उत्तिकै बढेको अस्पतालले जनाएको छ। ‘यो अस्पतालको शुल्क सेवा स्वास्थ्य बिमाले तोकेभन्दा पनि कम छ,’ डा। शर्माले भने।
वीर अस्पतालको तथ्यांकअनुसार गत आर्थिक वर्षभित्रमा विभिन्न सेवा विस्तार गरेको छ। यी विशिष्टीकृत सेवामा वृद्धि गरिएको गुणस्तरीय सेवा पनि आकर्षणको कारण बनेको शर्माले बताए। गत आवमा वीर अस्पतालमा लामो समय बन्द भएको बर्न सेवालाई केडी जोशी बर्न सेन्टरका रूपमा सञ्चालन, हाल ३५ शय्यामा सञ्चालित आकस्मिक कक्ष विस्तार गरी ७० शय्याको मोडुलर इमरजेन्सी सेवा, गत कात्तिकमा सबै खालका दुखाइका लागि पेन मेडिसिन सेवा, सिटिभिएस तथा पल्मोनरी क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभाग सञ्चालनमा ल्याएको छ।
त्यसैगरी मुटु, बाथरोग कार्यक्रम, कोक्लियोपलान्ट सर्जरी ९कृत्रिम कान प्रत्यारोपण सेवा०, न्युरो सर्जरी विभागबाट भिडियो इइजी तथा डिप ब्रेन स्टुमुलेसन प्रविधि सेवा विस्तार, फार्मेसी सेवा विस्तार, औषधी सूचना केन्द्र, १० वटा थप गरी ७२ वटा आइसियु बेड विस्तार, ३८ वटा हाइ डिपेन्डेन्सी युनिट गरी ११० वटा विभिन्न विधाका सघन कक्ष सञ्चालनमा रहेका छन्।
यीबाहेक प्याथोलोजी सेवामा विभिन्न आठवटा विशेष परीक्षणको विस्तार, एन्टिमाइक्रोवेयल सटेवार्डसिप कार्यक्रम लागु, टोमोथेरापी सेवा, ज्येष्ठ नागरिक सेवा, टिकट काउन्टर तथा अनलाइन दर्तालगायतका सेवा विस्तार गरेको अस्पतालले जनाएको छ।
गत आवमा यो अस्पतालले क्यान्सर सेवामा आधुनिक टोमोथेरापी सञ्चालनमा ल्याई हालसम्म पाँच सय ४२ शय्याको अन्तरंग सेवा र २२ वटा बहिरंग विभागबाट सेवा प्रदान गरिरहेको छ। तर नौ सय ६० शय्यामा सेवा दिने क्षमता विकास गरिसकेको छ। त्यसैगरी १८ वटा शल्यक्रिया टेबुल, २४ शय्याको पोस्ट अपरेटिभ वार्ड, ५८ शय्याको क्यान्सर वार्ड सञ्चालनमा छन्। गत वर्ष यो अस्पतालबाट ६ लाख ४७ हजार २ सय १५ जनाले बहिरंग सेवा र ३५ हजार १ सय ४४ जनाले अन्तरंग सेवा लिएका छन्।
तर पूर्ण क्षमतामा सञ्चालन गर्न कतिपय चुनौती कायम रहेको अस्पतालका निर्देशक डा। शर्माले बताए। उनका अनुसार बिरामीको बढ्दो चापअनुसार पुरानो भवन निर्माणमा कमी, बढ्दो कर्मचारी परिवर्तन दर, प्राविधिक जनशक्ति दरबन्दी स्वीकृत हुन नसक्नु, स्वास्थ्य बिमा बोर्डबाट समयमै सोधभर्ना नहुनु, अत्यावश्यक शीर्षकमा वार्षिक बजेटको कमी, डिजिटल रेकर्ड प्रणालीका लागि विद्यमान सर्भरको क्षमतामा कमीजस्ता कारणले थप प्रभावकारी सेवा प्रदान गर्न चुनौती बनेको डा। शर्माले औंल्याए।
सोही क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पतालको विकासले समग्र देशको स्वास्थ्य सेवाको स्थिति संकेत गर्ने बताए। यस अस्पतालमा आवश्यक परेको भौतिक तथा अन्य पक्षको व्यवस्थापनका लागि विशेष पहल गर्ने प्रतिबद्धता जनाए। ‘यो अस्पतालका लागि आवश्यक पर्ने उपकरणदेखि बजेट व्यवस्थापनमा पहिलो प्राथमिकता दिनेछौं,’ उनले भने। उनले अस्पतालमा आवश्यक उपकरण पूर्तिका लागि स्वास्थ्य सेवा विभागमा रहेका उपकरण पहिलो चरणमै वीर अस्पताललाई उपलब्ध गराउने बताए। वीर अस्पताल १९ सय ४६ साउन १२ गते स्थापना भएको थियो। सुरुमा १२ शय्याबाट सेवा प्रदान गरिएको थियो।
भदौभित्र सबै अस्पतालको बक्यौता भुक्तानी
स्वास्थ्य मन्त्री पौडेलले स्वास्थ्य बिमाबापत अस्पताललाई तिर्नुपर्ने बक्यौता साउन महिनाभित्रै भुक्तानी गर्ने बताएका छन्। सोमबार वीर अस्पतालको वार्षिकोत्सवका अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘भदौ महिनाभित्र सबै अस्पतालमा बिमाको बक्यौता भुक्तानी हुनेछ।’ यसका साथै यही वर्षदेखि बिमाको थैली दुई लाखमा वृद्धि गरेको बताए।











प्रतिक्रिया दिनुहोस