आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

२४ घण्टामा हैजाका ८४ नयाँ सङ्क्रमित पुष्टि

एपी खबर २०८२ भाद्र १३, शुक्रबार ( ६ महिना अघि) १३१ पाठक संख्या

पछिल्लो २४ घण्टामा हैजाका ८४ जना नयाँ सङ्क्रमित फेला परेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चन्द्रभाल झाका अनुसार पर्सासहितका मधेस प्रदेशका जिल्लामा सो सङ्क्रमित पुष्टि भएका हुन् ।

 

 

यससँगै हाल उक्त प्रदेशमा १८७ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै अगस्ट ९ यता कुल ६२४ जना सङ्क्रमित भएका छन् भने त्यसमध्ये ४३७ जना निको भएका छन् ।

 

 

सक्रिय सङ्क्रमितमध्ये नारायणी अस्पतालमा ६८ जना उपचाररत रहेकामा पछिल्लो २४ घण्टामा मात्रै ५२ जना नयाँ सङ्क्रमित भर्ना भएको डा. झाले बताए । त्यसैगरी तराई अस्पतालमा ३९ र वीरगन्ज हेल्थकेयर अस्पतालमा १९ जना सक्रिय बिरामीको उपचार भइरहेको छ । एडभान्स अस्पताल र नेसनल मेडिकल कलेजजस्ता अन्य स्वास्थ्य संस्थाहरूमा पनि नयाँ बिरामीहरू भर्ना भएको उनले बताए ।

 

 

हैजा नियन्त्रण गर्न स्वास्थ्य अधिकारी र स्थानीय प्रशासनले प्रयास गरिरहेको उनले बताए । यस्तै बारामा पहिलो सङ्क्रमित फेला परेका छन् । उनको कलैया अस्पतालमा उपचार गरिनुका सागै विस्तृत अध्ययन सुरु गरिएको झाले बताए । यसरी अध्ययन गर्दा रोगको स्रोत पत्ता लगाउन र थप फैलावट रोक्न मद्दत गर्ने विश्वास गरिएको छ ।

 

 

यस्तै वीरगन्ज महानगरपालिकाले ग्रामीण क्षेत्रका नालीहरूमा ब्याक्टेरियाको फैलावट नियन्त्रण गर्न क्लोरिन पाउडर छर्किने कार्य भइरहेको उनले बताए ।

 

 

निर्देशक झाले हैजा सङ्क्रमण तथा पानीजन्य रोगबाट बच्न यस्तो सुझाव दिएका छन् –

–उमालेर वा क्लोरिन हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउने ।

–खानेपानीलाई सफा र छोपेको भाँडामा राख्ने ।

–खाना राम्ररी पकाएर खाने र बासी वा दूषित खानेकुरा नखाने ।

–शौचालय प्रयोग गरेपछि, फोहोर छोएपछि, खाना बनाउनु वा खानुअघि कम्तीमा २० सेकेन्डसम्म साबुन पानीले राम्ररी हात धुने ।

–शौचालयको मात्र प्रयोग गर्ने र बालबालिकाको दिसा पिसाब पनि शौचालयमै फाल्ने ।

 

–हैजा वा झाडापखालाका लक्षणहरू देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने र प्रशस्त मात्रामा जीवनजल तथा पोसिलो झोलिलो खानेकुरा खाने ।

प्रतिक्रिया दिनुहोस