आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

मेयर साहले गरे महानगर प्रहरीको योगदानको प्रशंसा

एपी खबर २०८२ भाद्र १४, शनिबार ( ६ महिना अघि) २०१ पाठक संख्या

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सार्वजनिक सम्पत्ति संरक्षणदेखि अतिक्रमण हटाउने र सुशासन कायम गर्ने सन्दर्भमा महानगर प्रहरीको योगदान उल्लेखनीय रहेको बताएका छन् ।

 

 

शनिबार ३३ औं महानगर प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउनेदेखि सुशासन, सुव्यवस्था र अनुगमनसम्मका काममा महानगर प्रहरीको उल्लेखनीय योगदान रहेको बताए ।

 

 

‘महानगर प्रहरी बल अहिले काठमाडौंको पहिचानकै रुपमा स्थापित भएको छ,’ मेयर शाहले भने, ‘तपाईंहरुले देखाउनुभएको कर्मनिष्ठा र योगदान विगत तीन वर्षमा मात्र हैन, आगामी दिनहरुमा पनि सिकाइको रुपमा अन्य सिटी पुलिस तथा स्थानीय सरकारहरु लाई उपयोगी हुनेछ ।’

 

 

उनले महानगर प्रहरीलाई अझ सशक्त, जिम्मेवार र जनमैत्री बनाउँदै लैजान आवश्यक रहेको उल्लेख गर्दै कानुन कार्यान्वयनमा कठोर, व्यवहारमा संवेदनशील र बोलीचालीमा नरम हुनुपर्ने सुझाव पनि दिए । मेयर साहले महानगर प्रहरीको काम हेर्दा हलिउड फिल्म हेरेजस्तै लाग्ने बताए ।

 

 

‘सानोमा हुँदा एउट रमाइलो कुरा याद आउँछ, हामीले हलिउड फिल्म हेर्दाखेरि त्यसमा न्युयोर्क सिटी पुलिसको काम कारबाहीहरू हेर्दाखेरि लाग्थ्यो काठमाडौंलगायत देशका विभिन्न पालिकाहरूमा सिटी पुलिस कस्तो हुनुपर्छ भन्ने कुराहरू सिनेमामा मात्रै हेर्न पाइन्थ्यो पहिला र अचेलचाहिँ तपाईंहरूको काम हेर्दा कहिलेकाहीँ सिनेमा हेरेजस्तो पनि लाग्छ । त्योचाहिँ खुसीको कुरा हो ।’उनले भने ।

 

 

साहले सम्पूर्ण महानगर प्रहरीलाई शुभकामना दिँदै महानगर प्रहरीले आगामी दिनमा जनसेवामा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस