बैतडीको पुर्चौडीमा आयोजित स्वास्थ्य शिविरमा ११ सय ५ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। वार्षिक नियमित कार्यक्रमअन्तर्गत बैतडी समाज कैलालीले यस पटक बैतडीको पुर्चौडीमा शिविर आयोजना गरेको हो।
स्वास्थ्य शिविरका संयोजक गजेन्द्रबीर चन्दले उद्घाटनकै दिन ११ सय ५ जनाले स्वास्थ्य परीक्षण गरेको बताए। शिविरमा फिजिसियन डाक्टर चेतराज भट्ट, युरोलोजिष्ट डाक्टर जोनेश तिवारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर नर बहादुर मौनी, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रविन्द्र भट्ट, मुटु रोग विशेषज्ञ डाक्टर अजय भट्ट, दन्तरोग विशेषज्ञ डाक्टर सन्तोष कुमार पाण्डे, मेडिकल अफिसर डाक्टर रोहित ठगुन्ना सहितको चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए।
शिविरमा धनगढी नेत्रालयको नेत्र विशेषज्ञको टोलीले पनि १८७ जनाको आँखाको परीक्षण गरेको छ। आँखा परीक्षणमा २५ जनाको शल्यक्रिया गरिने नेत्रालयका कार्यकारी निर्देशक गजेन्द्र बहादुर चन्दले बताए। आँखाको शल्यक्रियाका लागि वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर विद्याप्रसाद पन्त सहितको टोली पुर्चौंडी पुगिसकेको छ।
शनिबारदेखि आँखाको परीक्षण र शल्यक्रिया गरिने शिविर संयोजक चन्दले बताए। शनिबार पुर्चौंडिमै बृहत रक्तदान महोत्सव पनि आयोजना हुने छ। रक्तदानका लागि नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा कैलालीका प्रमुख धरणी प्रसाद पन्त सहितको टोली पुर्चौंडी पुगिसकेको छ।
शिविरको शुक्रबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले उद्घाटन गरेकी थिइन्। शिविर वैशाख ७ गतेसम्म चल्ने आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस