काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग’ हुने मिति नजिकिँदै छ। मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा सहभागी टोलीहरूबारे उकेराले नियमित रूपमा जानकारी गराइरहेको छ।
यसअघि सबैभन्दा कम मूल्यम बिक्री भएको कर्णाली याक्स, विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबारे हामीले जानकारी गराइसकेका छौं। आज हामी सबैभन्दा चौथो कम मूल्यमा बिक्री भएको टोली चितवन चितवन राइनोजबारे यहाँहरूलाई जानकारी दिनेछौँ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगका टिमहरूमध्ये कर्णाली, विराटनगर र सदूरपश्चिमपछिको बढी मूल्य तिर्ने टिम हो चितवन राइनोज। चितवन मेडिकल कलेजले टिमलाई एक करोड ७६ लाख एक हजार रूपैयाँमा खरिद गरेको हो।
टिमले विदेशी खेलहरूमा इंग्ल्यान्डका अलराउन्डर रवि बोपारा, दक्षिण अफ्रिकाका अलराउन्डर मर्चन्ड डे लिंगे, इंग्ल्यान्डकै हसन एसाखिल र नामिबियाका हार्ड हिटर जान निकोल लफ्टी इटोनलाई टोलीमा समावेश गरेको छ।
‘खेल्दैछ गैँडा’ नामक एन्थेम सार्वजनिक गरेको छ। एन्थेममा स्वपनिल शर्मा र रोहित शाक्यको स्वर रहेको छ। एन्थेम सार्वजनिक गरेकै दिन टोलीले खैरो र सुन्तला रङको जर्सी समेत सार्वजनिक गरेको छ। क्रिकेटका जानकाररूले चितवनको जर्सीको प्रशंसा गरेका छन्।
चितवनमा क्लोज क्याम्प थालेको टिमले ट्यालेन्ट हन्टसमेत गरेको छ। दोस्रो चरणको ट्यालेन्ट हन्ट सकेको टोलीले अहिलेसम्म आइकोनिक प्लेयर घोषणा गर्न सकेको छैन।
टोलीले आफ्नो मुख्य प्रायोजकको रुपमा ब्लु स्टारलाई भित्र्याएको टोलीले स्वर, जोन एण्ड दि लोकल, पूर्ण राई एण्ड दाजुभाइहरु र केहर एन जोयलाई आफ्नो साझेदार राखेको छ।
टोलीले मस्कटको रुपमा ‘मिस्टर गैंडा ५६’लाई तोकेको छ। एनपीएलमा मस्कट तोक्ने चितवन पहिलो टोली हो।
सामाजिक सञ्जालमा पछ्याउनेहरुको कुरा गर्ने हो भने चितवन राइनोज पछाडि नै पर्छ। टोलीको फेसबुकमा २६ हजार, एक्समा ६ सय, इस्टाग्राममा चार हजार छ सय र टिकटकमा सात हजार फलोअर्स छन्।
एनपीएलका लागि नेपाल क्रिकेट संघ(क्यान)ले सिद्धार्थ बैंकलाई मुख्य प्रायोजकको रूपमा अनुबन्ध गरिसकेको छ भने एनसेल यसको ‘पावर्ड बाइ’ साझेदारको रूपमा अगाडि आइसकेको छ। साथै यसको टिकेटिङ पार्टनरको रूपमा खल्तीसँग क्यानले सम्झौता गरेको छ।
प्रतियोगिताकै लागि भनेर त्रिवि क्रिकेट मैदानलाई स्तरोन्नति गरिएको छ। यसको बाउन्ड्री बढाइएको छ भने दर्शकलाई जोन अनुसार बस्ने व्यवस्था मिलाएर अस्थायी रूपमा खानेपानी र शौचालयको व्यवस्था मिलाएको छ।
यसको अलावा क्यानले बढी मूल्य तिरेर राम्रैसँग खेल हेर्छु भन्ने दर्शकका लागि भीआईपी र भीभीआईपी सिटको समेत व्यवस्था गरेको छ। जसका लागि त्रिवि क्रिकेट मैदानमा अस्थायी प्याराफिट बनाएर त्यहाँ कुर्सीहरू राख्ने क्रम जारी छ।
प्रतियोगिताका सबै खेलहरू भारतीय चर्चित च्यानल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने क्यानले जनाएको छ।
एनपीएल टिम परिचय:-











प्रतिक्रिया दिनुहोस