आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वडा कार्यालयसंगको समन्वयमा नेरामावी औराहामा पूर्ण निःशुल्क शिक्षा

सुप्रिया ढकाल २०७८ आश्विन १४, बिहिबार (२ साल अघि) १५६८ पाठक संख्या

बारा । माध्यमिक शिक्षासम्म निशुल्क भनिएतापनी शिक्षा नियमावली २०४९ ले पूर्णतया निशुल्कको अवधारणा नराखेको हुदाँ बिद्यालय, अभिभावक र समुदायमा अन्यौलता भएको पाईन्छ । देशको आर्थिक स्थितिलाई समेत दृष्टिगत गरी निःशुल्क शिक्षाको परिभाषा र त्यसमा सरकारको दायित्व स्पष्ट हुन सकेको छैन । जसका कारण सामुदायिक बिद्यालयहरुले बिभिन्न बाहानामा अभिभावकसंग शुल्क लिईरहेका छन् । हरेक बर्ष बिद्यार्थी भर्ना, परिक्षा शुल्क, अतिरिक्त क्रियाकलापको शुल्क लगाएत अंग्रेजी माध्यममा पढ्ने बिद्यार्थीहरुका लागी न्युनतम् मासिक शुल्क समेत सामुदायिक बिद्यालयहरुले लिने गरेका छन् ।

सामुदायिक बिद्यालय सञ्चालनका लागी शिक्षकको तलब भत्ता सहित भौतिक संचरना निर्माण, बिद्यार्थीहरुको पुस्तक, बिद्यालय ब्यवस्थापन खर्च समेत सरकारले प्रदान गर्ने गर्दछ । यस्तोमा सामुदायिक बिद्यालयले अभिभावकबाट बिभिन्न बाहानामा शुल्क लिन हुन्छ कि हुदैन ? भन्ने बहस चलिरहेका बेला अंग्रेजी माध्यमबाट पढाई हुने केहि बिद्यालयहरुले थप शुल्क लिनु बाध्यकारी रहेको तर्क गरेका छन् ।

प्रायः कमजोर आर्थीक अवस्था भएका परिवारका बालबाबालीकाहरु सामुदायिक बिद्यालयमा पठाईन्छ । अशिक्षित अभिभावकहरुको बिद्यालयसंगको समन्वय अभाव, संगठनात्मक संरचनाबाट सेवा प्रदान गर्ने निकायहरुको समन्वय र जवाफदेहितामा कमी आदिका कारण बिभिन्न बाहानामा शुल्क असुली यथावत् रहेको छ भने शिक्षाको गुणस्तर खस्किदै गईरहेको अवस्था छ ।

देश संघियतामा गइसकेपछि शिक्षाको जिम्मेवारी पनि स्थानिय तहलाई दिईएको छ । जसका कारण अब शिक्षाको स्तर उकास्ने कि गिराउने ? स्थानिय सरकारकै हातमा छ । तर यो जिम्मेवारीलाई अधिकांश स्थानिय सरकारले बजेट पचाउने अवसरका रुपमा लिईरहेको पाईन्छ । बाराको जितपुरसिमराका पनि अधिकांश सामुदायिक बिद्यालयको हालत यस्तै छ ।

अपवादको रुपमा जितपुरसिमरा उपमहानगरपालीका ४ औराहास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय औरहाले भने बिद्यार्थी तथा अभिभावकसंग लिएको सबै शुल्क फिर्ता गरेको छ । बिद्यालय ब्यवस्थापनका लागी वडा कार्यालयले बजेट छुट्याएपछि अभिभावकसंग लिईएको शुल्क समेत फिर्ता गरीएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद भट्टले जानकारी दिनुभयो ।

तहगत सर्टिफिकट लिदा भने सरकारले तोकेको न्युनतम् शुल्क तिर्नुपर्ने भट्टले बताउनुभयो ।

ने रा मा वी औरहामा कक्षा नर्सरीदेखी १२ सम्म झण्डै साढे ५ सय बिद्यार्थी अध्ययनरत छन् । भने यस शैक्षिक सत्रमा कक्षा ११ सम्म अंग्रेजी माध्यममा पनि पढाई हुन्छ । प्राथमिक तह (कक्षा ५) सम्म अंग्रेजी माध्यमलाई नै अनिवार्य गरीएको बिद्यालयका प्रधानाध्यापक गणेश पौडेलले जानकारी दिनुभयो । कक्षा ६ देखी ११ सम्म पनि हरेक कक्षामा २०–२५ जना बिद्यार्थी अंग्रेजी माध्यममा पढिरहेका छन् । अधिकांश दलित, गरीब, बिपन्न समुदायका बालबालीकाहरु अध्ययनरत रहेका यस बिद्यालयमा अंग्रेजी माध्यम सञ्चालनका लागी अतिरिक्त शिक्षक तथा शैक्षिक सामाग्री ब्यवस्थापन गर्नुपर्ने भएकाले सहयोग रसिद काटेर शुल्क लिदै आएकोमा चालु शैक्षिक सत्रबाट उक्त शुल्क समेत मिनाहा गरीएको हो । असार १ गतेबाट भर्ना सुरु भई अभिभावकबाट सहयोग शुल्कको रुपमा लिईएको रु १ सय देखी ५ सय ५० सम्मको रकम समेत भरपाई गरेर फिर्ता गरीएको पौडेलले जानकारी दिनुभयो । बिद्यालयमा माध्यमिक तहमा समेत गरी २७ जना शिक्षक–शिक्षिकाहरु कार्यरत छन् ।

बिद्यालयले कितावी ज्ञान बाहेक अतिरिक्त शैक्षिक गतिबिधि तथा क्रियाकलाप गर्दै आएको दाबी गर्दै प्रधानाध्यापक पौडेलले सम्पूर्ण शुल्क मिनाहा हुदा शैक्षिक गुणस्तर खस्किने डर नमान्न अभिभावकहरुमा आग्रह गर्नुभयो । उहाँले अभिभावकहरुलाई समयसमयमा बिद्यालय आई आफ्ना नानीबाबुको अवस्थाबारे बुझ्न अनुरोध समेत गर्नुभयो ।

जितपुरसिमरा उपमहानगरपालीका वडा नम्बर ४ को वडा कार्यालयले यस नेरामावी औराहाबाट प्रदान गरीने शिक्षालाई निल्शुल्क एवं गुणस्तरीय बनाउन आर्थीक बर्ष २०७७÷७८ मा २२ लाख रुपैया विनियोजन गरेको हो । चालुगत खर्चबाट बिद्यालयमा ३ जना शिक्षक करारमा नियुक्त गरीएको समेत वडाध्यक्ष भोजबहादुर खत्री ईश्वरले जानकारी दिनुभयो । उक्त बजेटले माध्यमिक तह (कक्षा १ देखी १२ सम्म) पूर्ण रुपमा निःशुल्क शिक्षा प्रदान गर्न मद्दत गर्ने ईश्वरले बताउनुभयो ।

 

वडा कार्यालयको बजेटबाट बिद्यालय सञ्चालन अनुदान खर्च शिर्षकमा हरेक बर्ष न्युनतम् २२ लाख रुपैया छुट्याउने निर्णय भएको समेत उहाले बताउनुभयो । शिक्षालाई निःशुल्क बनाउन तपाईको पालामा भएको यो निर्णयले निरन्तरता पाउला त ? भन्ने प्रश्नमा उहाले वडाको नेतृत्वमा आउने जो–कोहिले पनि यसलाई निरन्तरता दिने उहाले विश्वास ब्यक्त गर्नुभयो । वडाको कार्ययोजनामै यस कार्यक्रम समावेश भई निर्णय भएकाले वडा नम्बर ४ का जनताले भविष्यमा पनि निःशुल्क शिक्षा पाउनेमा कुनै दुईमत नरहेको उहाले तर्क गर्नुभयो ।

भर्ना, परिक्षा शुल्क वा अंग्रेजी माध्यममा पढ्न चाहनेहरुबाट असुलिने मासिक शुल्क आदिको बोझ अभिभावकको कांधमा नपारोस् भन्ने अभिप्रायले ल्याईएको यस कार्यक्रमको स्वागत गर्दै स्थानिय सर्वसाधारणले वडाध्यक्ष खत्री सहित वडाकमिटीका पदाधिकारीहरुलाई धन्यबाद दिएका छन् । ‘हाम्रा सन्तान पनि अंग्रेजी माध्यम पढ्न रहर गर्छन्, तर मासीक शुल्क भन्ने बित्तिकै पछाडि हटेका थियौ । शिक्षालाई निःशुल्क बनाईदिनुभएकोमा वडाध्यक्ष ज्युलाई धन्यबाद ।’ औराहा निवासी सिता राईले भन्नुभयो ।

फर्दुवामा बालविकाश केन्द्र

जितपुरसिमरा उपमहानगरपालीका ४ औराहा स्थित ने रा मा वी देखी झण्डै ४ किमी दक्षिणमा पर्ने फर्दुवामा निशुल्क बालविकाश केन्द्र स्थापना गरीएको छ । औराहाको घना बस्तीदेखी निकै पर रहेको यस बस्तीका स–साना बालबालीका बिद्यालयको पहुचमा आउन नसकेकाले सोहि वस्तीमा बालबिकाश केन्द्र स्थापना गरीएको वडाध्यक्ष खत्रीले जानकारी दिनुभयो । उक्त केन्द्रमा कक्षा १ सम्म पढाई हुनेछ । सफा बालुवा प्रशोधन केन्द्र औराहा फर्दुवाको सहयोगमा उक्त केन्द्र स्थापना गरी सोहि समुदायकि एक जना शिक्षित महिलालाई शिक्षिकाको रुपमा नियुक्त गरीएको हो । केन्द्रमा फर्दुवाका २५ जना बालबालिका अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस