आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स‌ंविधान कार्यान्वयन मेरो चुनौती: प्रधानमन्त्री

AuthorAP Khabar २०७५ आश्विन ३, बुधबार ( ५ साल अघि) ४८६ पाठक संख्या

नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार संविधान दिवस देशैभरि मनाइँदैछ। संविधान दिवसको अवसरमा सैनिक मञ्च टुंडिखेलमा गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सुशासन, विकास र समृद्धिका लागि संविधान कार्यान्यवन गर्नु आफ्नो कर्तव्य भएको बताएका छन्।

संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा बुधबार काठमाडौँको टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली

उनले संविधानले शान्ति, स्थिरता, विकास र समृद्धिको ढोका खोलेको भन्दै संविधानलाई कार्यान्वयन गर्नुको विकल्प नभएको बताए। ओलीले संविधानले नेपाललाई बलियो, समृद्ध र मर्यादित राष्ट्रको रुपमा रुपान्तरित गरेको भन्दै राष्ट्रियता रक्षा र छिमेकीसँगको सम्बन्ध बलियो बनाउने कामसमेत वर्तमान संविधानले नै गरेको बताए। नेपालको संविधान नेपाली कानुनहरुको स्रोत दस्तावेज मात्र नभई नेपालीहरुको चाहना समेटीएको साझा दस्ताबेज भएको समेत उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले तराई, हिमाल र पहाडको साझा भावना समेटिएको साझा ग्रन्थको रुपमा संविधान आएको बताए। संविधानले सबै नागरिकलाई विना भेदभाव मौलिक हक र स्वतन्त्रता सुनिश्चित गरेको उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले संविधानलाई आवश्यकताअनुसार संशोधन गर्न सकिने पनि बताए। सबै असन्तुष्टिका स्वरलाई संविधानमार्फत संस्थागत गर्न सकिने तर अधिकार माग्ने बहानामा मुलुकलाई क्रिडास्थल बन्न नदिने उनले बताए।

प्रधानमन्त्री ओलीले राजनीतिक क्रान्ति पूरा भइसकेको भन्दै समृद्धि र विकासको साझा एजेण्डामा एकताबद्ध हुन सबै राजनीतिक दललाई समेत आग्रह गरे।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, सभामुख कृष्णबहादुर महरालगायत संवैधानिक निकायका प्रमुख, मन्त्रीहरु र सांसदहरुको सहभागिता थियो। कार्यक्रममा नेपाली सेनाले संविधान दिवस झन्डा अंकित हेलिकप्टरबाट पुष्पवृष्टि गराएको थियो।

त्यसैगरी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले आ–आफ्नो कलाकौशल प्रदर्शन गरेका थिए। काठमाडौं, ललितपुर र भक्तपुर महानगरपालिकाले पनि आ–आफ्नो संस्कृति झल्कने साँस्कृतिक झाँकी प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस