आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आजबाट दशैँ शुरु

AuthorAP Khabar २०७५ आश्विन २४, बुधबार ( ५ साल अघि) ५७३ पाठक संख्या

नेपाली समाजमा सर्वा्धिक महत्वका साथ मनाइने महान् पर्व बडा दशैँको प्रथम दिन आश्विन शुक्ल प्रतिपदादेखि घरघरमा घटस्थापना गरी भगवती दुर्गा भवानीको पूजाआजा आरम्भ गरिन्छ । नवरात्रको यस अवधिमा आदिमाता आद्यशक्ति महामाया देवी भगवतीका विभिन्न रुपको प्रतिदिन विधिपूर्वक पूजा गरिन्छ । नवरात्रका प्रत्येक दिन देवीका अवतारको फरकफरक विधिले पूजा गरी शक्ति जगाई आफूले अभीष्ट सिद्धि प्राप्त गर्ने प्रयास गरिन्छ ।

नवरात्रको पहिलो दिन आदिशक्ति भगवतीको प्रथम रुप माता शैलपुत्रीको पूजाआजा गरिन्छ । हिमालय पर्वतकी छोरीका रुपमा प्रादुर्भाव देवी शैलपुत्रीको पूजा गर्नाले माता प्रकृति प्रसन्न भई शक्ति, अन्नसमृद्धि र सुखशान्ति प्राप्त हुने शास्त्रहरुमा उल्लेख छ । माता शैलपुत्रीको पूजाआजाका लागि भक्तजनहरु बिहानैदेखि मुलुकका विभिन्न देवीमन्दिरहरुमा भेला हुन्छन् । भगवती शैलीपुत्री हिमालय पर्वतकी छोरी भएकीले उनलाई पार्वती हेमावती, प्रकृति पनि भन्ने गरिन्छ । शैलपुत्री सबै देवीकी पनि आदिदेवी प्रारम्भा हुन् । आदिशक्ति हुन् । उनैबाट अरु देवी सत्य र धर्मको रक्षा गर्न जगतमा प्रकट भएका हुन् ।
भगवती देवी दुर्गाभवानीले आसुरी वृत्तिका दानवमाथि विजय प्राप्त गरेको खुशियालीमा दशै मनाउन थालिएको पौराणिक प्रसंग छ । साथै भगवान रामचन्द्रले सनातन संस्कृति र ध्यानसाधनामा रहेका ऋषिजनको रक्षा गरी सत्य स्थापना गर्न देवी दुर्गाभवानीको आराधनाबाट शक्ति प्राप्त गरेको पौराणिक प्रसंगको अनुसरण गरी दशैपर्व मनाउन थालिएको पाइन्छ ।
दशैँको प्रथम दिन शक्तिपीठ,देवीमन्दिर तथा घरघरमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिन्छ । जमरा राख्दा माटाको जलघडामा गोबर टाँसेर त्यसमा जौका दाना रोपेर राख्ने गरिन्छ । दशैघरमा पवित्र नदीको बालुवा र माटो राखेर त्यसमा जौ,गहुँ,मकैको बिउ बाक्लै छरेर विजया दशमी दिन आफूले लगाउने जमरा राखिन्छ । घटस्थापना गरिएको घडाको जल अभिषेक गरी विजया दशमीका दिन देवीप्रसादका रुपमा टीका र जमरा लगाइन्छ ।
घटस्थापनासँगै दशैँ लागेपछि बाटो खन्ने घर लिपपोत गर्ने डाँडाभञ्याङ चौरचोकमा पिङ हाल्ने क्रम शुरु हुन्छ । यसै दिनदेखि बडा दशैँको शुभकामना आदानप्रदान गरिन्छ । देवीभक्तहरु दिनदिनै देवी मन्दिरमा गई देवी दर्शन गर्न थाल्छन् ।

प्रतिक्रिया दिनुहोस