आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपामा पोलिटव्यूरो, प्रदेश र जिल्ला कमिटी गठनको प्रस्ताव तयार

AuthorAP Khabar २०७५ मंसिर २, आईतबार ( ५ साल अघि) ५८७ पाठक संख्या

काठमाडौँ, मंसिर २  : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सबै तहका कमिटी एकीकरण टुंग्याउन मंसिरको पहिलो साता मै सचिवालय र स्थायी कमिटी बैठक बस्ने भएको छ ।
सचिवालय बैठकको मिति तय भइसकेको छैन तर, मंसिर ६ गतेदेखि बैठक बोलाउन अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डसँग कुराकानी भएको महासचिव बिष्णु पौडेलले बताउनुभएको छ । सचिवालय बैठकमा पार्टी एकीकरणका सबै मोडल र प्रस्तावहरुमाथि छलफल हुने र त्यस लगत्तै स्थायी कमिटी बैठक बसेर एकीकरण अघि बढाइने पौडेलले जानकारी दिएको अनलाईन खबरमा समाचार छ ।
उनका अनुसार बैठक लगतै प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरुको एकीकरण अघि बढाइनेछ । स्थानीय तह र वडा तथा प्रारम्भिक कमिटीहरुको एकीकरण भने प्रदेश र जिल्ला कमिटीहरुले गर्नेछन् । कतिपय प्रदेश कमिटी अन्तर्गत बिभिन्न जिल्लामा स्थानीय तहको एकीकरण सम्पन्न भइसकेको छ ।

पोलिटव्यूरो बन्ला ?
नेकपा स्रोतका अनुसार महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामवहादुर थापा बादल रहेको कार्यदलले केन्द्रीय सदस्यहरुको कार्य विभाजन, प्रदेश कमिटी सदस्यहरुको नाम र जिल्ला कमिटीहरु एकीकरणको प्रस्ताव पेश गर्दैछ ।
यस्तै पोलिटव्यूरो कमिटी गठनको निर्णय गर्ने सम्भावना छ । महासचिव पौडेलले भने पोलिटव्यूरो गठनको बारेमा छलफल भइरहेपनि निर्णय हुने नहुने निश्चित नरहेको बताउनु्भयो । नेकपाको केन्द्रमा सचिवालय, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटी रहने बिधानमा व्यवस्था छ । त्यस्तै राष्ट्रिय परिषद पनि रहनेछ । राष्ट्रिय परिषदमा अधिकांश पदेन सदस्य हुनेछन् ।
बिधान अनुसार केन्द्रीय कमिटीको एक तिहाई सदस्यको पोलिटव्यूरो हुनुपर्छ । ४४३ सदस्यीय नेकपा केन्द्रीय कमिटीको एक तिहाई पोलिटव्यूरो बनाउँदा बढीमा १४७ सदस्यीय हुनेछ ।
पार्टी एकीकरणको बेलामा सिद्धान्त अनुसार नै ५५ प्रतिशत तत्कालिन एमालेबाट र ४५ प्रतिशत तत्कालिन माओवादीबाट पोलिटव्यूरो सदस्य छानिने सम्भावना छ ।
महासचिव पौडेलले भने प्रतिशतका आधारमा पोलिटव्यूरो वा जिल्ला कमिटी बनन्ने बताए । आवश्यकता र व्यक्तिको योग्यता क्षमता हेरेर जिम्मेवारी बाँडफाँट हुने महासचिव पौडेलको दाबी छ । स्थायी कमिटीका सदस्यहरु स्वतः पोलिटव्यूरो सदस्य हुनेछन् । त्यसबाहेक बरिष्ठताका आधारमा पूर्व एमाले र पूर्व माओवादीबाट निश्चित संख्या छानिने स्रोतले जनाएको छ ।
पूर्वएमालेका तत्कालिन पोलिटव्यूरो सदस्यहरु स्वतः नेकपाको पोलिटव्यूरोमा पर्नेछन् । एमालेमा अनुशासन आयोग, सल्लाहकार परिषद, निर्वाचन आयोग र लेखा परीक्षण आयोगका अध्यक्ष सहित ६५ सदस्यीय पोलिटव्यूरो थियो । तीमध्ये सानुकुमार श्रेष्ठ प्रदेश ३ को सभामुख र गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्ष भएकाले उनीहरु केन्द्रीय कमिटीबाट पनि अलग भइसकेका छन् ।
त्यस्तै अग्नि खरेल महान्यायाधिवक्ता भएपछि पार्टीको सबै जिम्मेवारीबाट अलग भइसकेका छन् । प्रदिप नेपाल पोलिटव्यूरो सदस्य भए पनि र हाल नेकपा केन्द्रीय सदस्य रहे पनि पार्टीका कुनै बैठकमा भाग लिन छाडेका छन् । नेपाल बरिष्ठताका आधारमा स्थायी कमिटी सदस्य हुनुपर्ने भए पनि केपी ओली र माधव नेपाल दुवै गुटको आलोचक भएका कारण उनी निष्क्रिय छन् ।
पूर्वएमालेले ८२ देखि ८५ जना पोलिटव्यूरो सदस्य पाउने सम्भावना छ । त्यसो हुँदा ६२ जना यसअघिका यथावत रहँदा अरु २० देखि २३ जनाले बढुवाको मौका पाउनेछन् । नयाँलाई पोलिटव्यूरो सदस्य बनाइदा दुईपटक केन्द्रीय सदस्य भइसकेको र बरिष्ठतालाई आधार बनाइने स्रोतले जनाएको छ ।
पूर्वमाओवादीबाट भने ४ हजार सदस्यीय केन्द्रीय कमिटी भएका बेलाका सचिवालय सदस्यहरुलाई पारिने भएको छ । त्यस बाहेक जनयुद्धकालीन पूराना नेतालाई पनि पोलिटव्यूरोमा लैजाने तयारी छ । एकता प्रक्रियामा आएका कतिपय नेतालाई पोलिटव्यूरोमा समेट्ने सम्भावना रहेको नेकपा स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस