आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गृहकार्य नपुगेपछि नेकपा सचिवालय बैठक स्थगित

AuthorAP Khabar २०७५ मंसिर १०, सोमबार ( ५ साल अघि) ४७६ पाठक संख्या

काठमाडौ, मंसिर १० :  केन्द्रीय कमिटी सदस्यहरुको कार्य बिभाजनको गृहकार्य अपुग भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । आइतवार दिनभरी गृहकार्य गरेर सोमवार सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको कार्यबिभाजन टुंगो लगाउने भनिएको थियो ।

तर ४४१ सदस्यीय केन्द्रीय कमिटीका सदस्यहरुको कार्य बिभाजनको लागि गृहकार्य अपुग भएपछि सचिवालय बैठक एक दिन सरेको हो । नेताहरुको रुचि, आवश्यकता र विषय विज्ञताका आधारमा कार्य बिभाजन गर्नुपर्ने भएकाले समय लिएको स्रोतले जनाएको छ ।

सचिवालय स्रोतका अनुसार बहुसंख्यक केन्द्रीय सदस्यहरुलाई भूगोलको काममा खटाइने भएको छ । पोलिटव्यूरो गठन गरेरमात्र केन्दीय कमिटीको कार्य बिभाजन गर्न केही नेताहरुले भने पनि अध्यक्षद्वय केपी ओली र प्रचण्डले तत्काल पोलिटव्यूरो गठनतिर चासो नदिएको एक नेताले बताए ।

नेकपाको केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी सम्हालिरहेका नेता कृष्णगोपाल श्रेष्ठले अहिले केन्द्रीय सदस्यहरुको कार्य बिभाजन सचिवालयले टुंगो लगाएपछि स्थायी कमिटी बैठक बस्ने जानकारी आफूले पाएको बताए । उनले पोलिटव्यूरो गठन अहिले नहुने जानकारी दिए ।

स्रोतका अनुसार नेकपाका स्थायी कमिटी सदस्यहरुलाई प्रदेश इन्चार्ज र महत्वपूर्ण बिभागको प्रमुखको जिम्मेवारी दिइने भएको छ । विदेश बिभाग, प्रचार विभाग, संसदीय बिभाग, अर्थ तथा योजना विभाग, नीति अनुसन्धान बिभाग र संगठन बिभाग जस्ता विभागीय प्रमुखको जिम्मा सचिवालय र स्थायी कमिटीका सदस्यले पाउनेछन् ।

त्यस्तै पोलिटव्यूरो गठन नभएकाले तत्कालीन एमालेका पोलिटव्यूरो र तत्कालीन माओवादीको स्थायी कमिटी तथा सचिवालयमा रहेका नेताहरुमध्येबाट जिल्ला इन्चार्ज तोकिने भएको छ । यद्यपि सिनियर केन्द्रीय सदस्यहरुले पनि जिल्ला इन्चार्जको जिम्मेवारी पाउनेछन् ।

उदाहरणका लागि १० निर्वाचन क्षेत्र भएको काठमाडौंमा पोलिटव्यूरो तहको नेता इन्चार्ज र केन्द्रीय सदस्य सहइन्चार्ज हुनेछन् । ७७ जिल्लामै इन्चार्ज र सहइन्चार्ज केन्द्रीय सदस्यहरु हुनेछन् । त्यसबाहेक महानगरपालिका लगायत महत्वपूर्ण स्थानीय तहमा पनि केन्द्रीय सदस्यलाई इन्चार्ज तोकिने भएको छ ।

केन्द्रीय सदस्यहरुको कार्य बिभाजन र प्रदेश कमिटी सदस्यहरुको नाम सचिवालयले टुंगो लगाएपछि स्थायी कमिटी बैठकबाट अनुमोदन गरिने भएको छ ।

 

अनलाईन खबर

प्रतिक्रिया दिनुहोस