आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बकैया खोला उत्खननमा समितिले अनुगमन गर्ने

AuthorAP Khabar२०७५ मंसिर १३, बिहिबार (५ साल अघि) ५१५ पाठक संख्या

निजगढ, मंसिर १३  : चुरे क्षेत्र र वस्तिमा समेत जोखिम बढाउने गरी खोला उत्खनन शुरु भएको भन्दै स्थानीयले विरोध गरेपछि निजगढ नगरपालिकाले समितिमार्फत अनुगमन गर्ने भएको छ । कार्यालयले बुधबार आयोजना गरेको सर्वपक्षीय छलफलमा बकैया खोलामा भइरहेको बालुवा ढुङ्गा उत्खनन कार्यको अनुगमन गर्न २९ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा स्थानीय राजनीतिक दल, समाजसेवी, खोला प्रभावित क्षेत्रका स्थानीय, वन समुहका प्रतिनिधी, संघ संस्था, पत्रकार लगायतको प्रतिनिधि रहने निर्णय भएको छ ।

निजगढ नगरपालिकाले चालु आथिक बर्षको लागि ठेकेदार मार्फत राजमार्गको पुलबाट उत्तर पर्ने ब्लक नम्बर ३ बाट उत्खनन शुरु गरेपछि स्थानीयले विरोध गरेका हुन । वस्तिमा जोखिम बढाउने गरी उत्खनन भएपछि विरोधमा उत्रिनु परेको स्थानीय नरेश घिमिरेले बताउनुभयो । घिमिरेको संयोजकत्वमा स्थानीयले मंगलबार संघर्ष समिति समेत गठन गरेका छन ।

यसअघि सोमबार स्थानीयले उत्खननमा प्रयोग भइरहेको एक्साभेटर नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय निजगढको जिम्मा लगाएका छन । वन समुहको धिकार क्षेत्रभित्र पर्ने स्थानमा समन्वय नै नगरी कार्यालयले उत्खनन अनुमति दिएको भन्दै बकैया नागमणी सामुदायिक वन समुहले पनि उत्खननको विरोध गर्दै आएको छ । चुरे र वन क्षेत्रमा समेत जोखिम बढने देखिएपछि विरोध गर्नुपरेको समुहका अध्यक्ष रविराज दङ्गालले बताउनुभयो ।

नगरपालिकाले चालु आर्थिक बर्षको लागि बकैया खोलामा पुर्वपश्चिम राजमार्गबाट उत्तरतर्फ ३ र दक्षिणबाट एउटा ब्लकबाट उत्खनन गर्ने गरी ठेक्का दिएको थियो । कोल्हवी नगरपालिकासंगको सिमा विवादमा जिल्ला प्रशासन कार्यालयले दक्षिणतर्फको ब्लकबाट उत्खनन रोक लगाएपछि कार्यालयले पुल उत्तरतर्फ रहेको ३ नम्बर ब्लकबाट उत्खनन गर्न ३ दिनअघि मात्र ठेकेदारलाई अनुमति दिएको थियो । हाल उत्खनन शुरु भएको क्षेत्र निजगगढ नगरपालिका ८ स्थित घयरघारी वस्ति र बकैया पुल ड्यामको समेत नजिक रहेको छ ।

छलफलमा नगरपालिकाका प्रमुख सुरेश खनालले वातावरणीय प्रभाव मुल्याङ्गकन प्रतिवेदनको आधारमा ठेक्का लगाएकाले वातावरणीय जोखिम नरहेको बताउनुभयो । उहाले अनुगमन समिति गठन भएपछि समितिले दिएको प्रतिवेदन अनुसार नै उत्खनन कार्य बारे निर्णय लिइने पनि बताउनुभयो ।

छलफलमा सहभागी अधिकांशले उत्खन्न गर्ने नाउमा ठेकेदारलाई मनोमानी ढंगले उत्खन्न गर्न दिन नहुने, मानव बस्ती, चुरे, वन क्षेत्र तथा पुर्वपश्चिम राजमार्गको पुल र ड्याममा असर नपर्ने गरी मात्र उत्खनन गर्नु पर्ने र सोको लागि अनुगमन समिति बनाउनु पर्ने सल्लाहा दिएका थिए ।

छलफलमा युवराज लामा, शम्भुबहादुर बुढाथोकी, वडा अध्यक्ष रामजी बजगाई, सुर्दशन कोइराला, अर्जुन लम्साल, पदमबहादुर भण्डारी, अम्बिका चौलागाई, बेनीबहादुर मोक्तान, सुरथ पुरी, महेशी कुमर, कर्णबहादुर लामा, भोला गौतम, रविराज दंगाल, दुर्गा कोइराला, विनोद बुढाथोकी, रवि बर्तौला, पत्रकार जीतलाल श्रेष्ठ लगायतले बोलेका थिए ।
निजगढ नगर प्रमुख सुरेश कुमार खनालको सभापतित्वमा भएको सो कार्यक्रमको सञ्चालन प्रशासकिय अधिकृत भरतचन्द्र अधिकारीले गर्नुभएको थियो । कलैयास्थित ओम सप्लायर्सले ७ करोड ७७ लाख ७७ हजार ७ सय ७७ रुपैयमा बालुवा ढुङ्गा ठेक्का सकार गरेको छ ।

 

कृपा दैनिक

प्रतिक्रिया दिनुहोस